Thursday, November 20, 2008

गजल

-ललीजन रावल
शीतको थोपा उडिगयो, बिहानीका घाम संगै
मेरो नाउँ जोडिएला, फेरि तिम्रो नाम सँगै ।

बोटहरु नाङ्गा भए, बाग फेरी उजाड भयो
फुलेका ती फूलहरु, झरिगए यामसँगै ।

मलाई कायल बनाइसके, रोइ रोइ यी आँखाले
तिमीलाई खोज्ने आँखा पठाउँ कि खामसँगै ।

जिन्दगीको एउटै पङ्ति , धेरै लामो हुदोरैछ
रोकिदिउकी आफैलाई, एउटा पूर्णविराम सँगै ।

हुलबाटै टाढा हुन मन लाग्छ कैलेकाही
तरै लाग्नुपर्दो रैछ,मानिसका लाम संगै ।

No comments: