Wednesday, November 5, 2008

ब्यक्ति - ब्यक्तित्व


ज्ञानु र गाजल

-बुद्दिसागर

... ज्ञानुवाकर पौडेलको देब्रे परेलाको घुँघरिएको रौँ फुलिसकेछ । शिरमाथि हिउँले लेखिदिएको छ, ज्ञानु बूढो भयो । र, उनकै शब्दमा रिटायर्ड । जीवनको गति यहीँबाट सुरु हुँदो रहेछ, जसरी उनको गति तीव्र छ । 'मध्यमस्तरका मानिसको दसैँ कस्तो पो हुन्छ र ?' उनी दसैँपछि, शान्त मुडमा, उँघिरहेको परेवाझैं, मलिला आँखा सन्काउँदै मुस्कुराउँछन् । ६१, वर्षसम्म ज्ञानुवाकर, दायाँ हातमा कालो झोला झुन्ड्याउँदै हिँडिरहे । यसरी लामो बाटो हिँडिसकेपछि, उनले आफूलाई यसरी चिनेका छन्, 'म आत्मकेन्दि्रत छु ।'

जब रेडियो नेपालले ज्ञानुवाकरलाई भन्यो, 'बाइक चढ... ज्ञानु ।' मनुष्य-वाहनमा सबैभन्दा डरलाग्दो लाग्छ उनलाई, मोटरसाइकल । यस वाहनसँग ग्रहदशा त्यति मिल्दैन । सुनाएका थिए, 'म बाइक चढेर हिँडेँ भने साइनबोर्ड हेर्दा टोलाएर ठोकिन्छु ।' उनको डर यस्तै थियो ।

ज्ञानु, यसरी पनि डराइदिन्छन्, 'म मर्छु कि ?' उनी आफ्ना लागि भन्दा पनि अरूका लागि बढी बाँच्न चाहन्छन् । मृत्युपछि, मानिस कहाँ पुग्छ ? ज्ञानुलाई लाग्छ, ऊ फेरि मानिस भएर जन्मन्छ । ज्ञानुलाई बोध छ, 'जन्मेपछि मृत्यु पक्का हो भने मृत्युपछि जन्म पनि पक्का छ ।' ओठको कुनामा फूलले अलिकति मुन्टो उठायो ।


पारिवारिक झमेला, सृजनात्मक प्रतिबद्धता, साहित्यिक कार्यक्रम र यायावरी सोख- उनको रिटायर्ड जीवनको मेनुमा छन् । रिटायर्ड भयो, यौटा सरकारी कर्मचारी । र, व्यस्त भयो, यौटा गजलकार । नयाँ पुस्ता, सबैका ज्ञानुदाइलाई कसैकसैले भनिदिए, गजलसम्राट् । यस पदवीले कहिलेकाहीँ ज्ञानुको अनुहार रातो बनाइदिन्छ । उनी भन्थे, 'म गजलको माली हुँ ।'

हरियो पात बन्धक सधैं रूखको
सुकेको पात हेर सफरमा रहेछ ।
ज्ञानु यी हरफसम्म आइपुग्न कयौँ हरफमा अल्झिए । जीवनले लेखिदिएका, अहिले सम्झिनै नमान्ने हरफहरू । दुर्घटनापछि सडकमा कोरिएका चिह्नझैं ज्ञानुका हृदयका कुना-कुनामा कयौँ खत छन् । नमेटिने । नदेखिने । हृदयमा जमेको पीडाको कसिंगर बढार्न त नसकिँदो पो रहेछ । दायाँ हात नचाउँदै ज्ञानु सुनाउँछन्, 'सामान्य मानिस भए त बहुलाइसक्थ्यो ।' ज्ञानु केही भन्न चाहन्नन्, आफ्ना जीवनका खतबारे । जीवनसँग कुनै गुनासो र आवेग छैन । यसै गयो, उसै गयो । गौशालाचोकछेउमा गाडीका चर्का हर्नको खित्काले तर्सिएको घर छ । दिनमा पच्चीस कप चिया खपत भइदिन्छ । उनी सोच्छन्, मलाई भेट्न एकदम सजिलो छ । 'सुरुमा मलाई अद्भूत ठान्छन्,' फिस्स हाँसे, 'भेटेपछि सामान्य मान्छन् ।'जसरी सजिलै हरेक दिन उनी मृत्यु-दर्शन गर्छन् । संसारबाट बिदा हुनेहरू, उनकै घरछेउबाट जान्छन् । बसपार्कमा चिया पिइरहेको यात्रुझैं, उनी अपरिचित मानिसलाई पनि बिदा गरिदिन्छन् ।


मुड चल्यो, घरबाट हिँडिदियो । भारत पुगेर आँखाको डिलभन्दा पर... सम्म पसारिएको, समुद्र हेर्दै टोलायो । यही फिरन्ते शैलीबाट एउटा अंग्रेजी शब्द निफन्नियो- वाक । मन पर्ने पेय, जोनीवाकर । मन पर्ने अभिनेता पनि जोनीवाकर । र, ज्ञानु भए, ज्ञानुवाकर । अनि पो त, भारत घुम्दा कसैले बहादुर भनेर हेपेन । यसरी ज्ञानुप्रसाद पौडेल ख्यालख्यालैमा ज्ञानुवाकर भइदिए । जीवनमा यो आफ्ना लागि ज्ञानुको पहिलो निर्णय थियो । अब पालो नयाँ पुस्ताको । छोराको पहिलो निर्णय थियो- म आफ्नो नाम प्रतीक राख्छु । चिनाले दिएको नाम थियो- दिवाकर । साहित्यमा लागेर करिअर बिगारेका बाको नामको वाकर त्यहाँ झुन्डियो । छोरा आफ्ना बाबुसँग नाम जोड्न चाहन्नन्, जसरी बाबु ज्ञानु, पैसासँग आफ्नो आत्मखुसी । गजल र ज्ञानुवाकर जोडिएर आउँछन् । त्यस्तै, ज्ञानुवाकर र गाजल । अचानक जमेको महफिलमा ज्ञानु भए, त्यसको सौन्दर्य नै फेरिन्छ ।

जाँदाजाँदै दिल तोडी
सम्झनाको रुमाल पठायौ, किन ?
ज्ञानुसँग जोडिने प्रेमको चर्चाबाट उनी कहिल्यै भाग्न सक्दैनन् । भारतको कास्मिर, मिजोरम र सिक्किमबाहेक सबै प्रान्त फिरेका ज्ञानु आफूलाई अझै फिरन्ते बनाउन चाहन्छन् । भन्छन्, 'म अझै घम्न चाहन्छु ।''यति धेरै घुमेको मान्छे । स्त्रीको मनचैँ कत्तिको घुम्नुभयो ?' मैले हल्लाका दुई पाटा सम्झेँ- ज्ञानु र गाजल । 'यो त घर भाँडिने कुरा भयो,' फिस्स हाँसे र सुनाए, 'जीवन, मृत्यु र यौनबाहेक सबै कुरा दोस्रो प्राथमिकतामा राखेको छु ।' 'म ईश्वरवादी हुँ । कर्मकान्डी होइन ।' यस्तो भन्ने ज्ञानु, कहिलेकाहीँ पुनर्जन्ममा पनि विश्वास राख्छन् । 'पुनर्जन्म भयो भने तपाईं के हुनुहोला ?' 'म मानिस नै हुनेछु,' उनको तर्क छ । जे बीउ रोपिन्छ, त्यही त फल्छ । आलु रोपे आलु, धान रोपे धान । प्रकृतिको संविधानमा आलु रोप्यो भने भन्टा कहिल्यै फल्दैन । ज्ञानु लामो सास फेर्छन् र भन्छन्, 'मानिस मर्‍यो भने मानिस नै जन्मिन्छ ।'


बा अत्तालिएका थिए । फुच्चे ज्ञानुको बक फुटेन । आठ वर्ष नाघेको बालक यस संसारको पहिलो वाक्य, आमा, बोल्न सक्दैनथ्यो । के गर्नु ? ललितपुरको लेलेको सरस्वती मन्दिर, भक्तपुर सूर्यविनायकमा बा र आमाले सरस्वतीलाई 'चाँदीको पाउ' चढाए, प्रभु ! छोराको बक फुटाइदेऊ । यत्तिले भएन । ...अचानक ज्ञानु सूर्यविनायकको जंगलमा एक्लो भेटिए । किनभने, उनलाई छोडेर सबै लुकिदिएका थिए । डरायो भने बोल्छ कि ? भयो पनि त्यस्तै । सन्नाटाले भरिएको चिसो जंगलले मानिसको आवाज खोज्यो । र, ज्ञानु रुँदै चिच्चाए, 'बा...।'एघार वर्षसम्म उनले सुनिरहे बोलेनन् । एघार वर्षदेखि बोल्न थालेका अहिलेसम्म रोकिएका छैनन् । जसरी उनी जीवन, मृत्यु र यौनबारे बोल्छन् । 'जीवन भनेको संर्घष हो,' कम्तीमा तपाईं त यस्तो उत्तर नदिनुस्, भन्दै सोधेँ, 'जीवन के हो ?' एकछिन आफ्ना नाडी सुम्सुम्याए । सोचे, के भनूँ ? र, सुनाए, 'म जीवनलाई हिलोमा फुलेको कमलसँग दाँज्छु ।'


दिनभरि चराचुरुंगी चाराको खोजीमा रछ्यानसम्म पुग्छन् । बस्न भने रूखको टोड्का या त घरको खोपा-खोपामा बस्छन् । ज्ञानुको कुरा छ, हामी कलमजीवीका आदर्श पनि ठूला-ठूला हुन्छन् । समाजले नजा, भनेका प्रतिबन्धित ठाउँमा पनि जान्छौँ । यति भनेर ज्ञानुले फेरि गाँसे, 'मेरा भोगाइले यस्तै सिकाएको हो ।' उनको लामो कुराको सार हो- मानिस हिलोमा संघर्ष गर्दागर्दै कमलझैं फक्रिन्छ । 'मृत्यु शाश्वत सत्य हो' यस्तो उत्तर नदिनोस्, धम्याएझैं मैले सोधेँ, 'मृत्यु के हो ?' फिस्स हाँसे । अगाडिको चियाको कप उठाए र एक चुस्की लिए । यो उत्तर, पुरानो बाइरोडको बाटोबाट फनक्क घुमेर काठमान्डू आइपुग्यो, 'हामी दिनमा चार-छ-आठ घन्टा निदाउँछौँ । त्यो मृत्युको रिहर्सल हो । त्यसैले मृत्यु भनेको चिरनिद्रा हो ।''कत्तिको डराउनुहुन्छ, मृत्युदेखि ?'आफ्नो मृत्युमा दुःखी हुने नातागोता सम्भि“mदै भने, 'म साह्रै डराउँछु ।'


ज्ञानुलाई कहिलेकाहीँ मृत्युको त्रासले यसरी घाँटी अँठ्याइदिन्छ, उनी 'मृत्युञ्जय' पाठ गर्छन् । अहिले उनको दिन योगाबाट सुरु हुन्छ । खानपानमा सावधान, उनका योगगुरु हुन्, रामदेव । टिभीमा रामदेव हेर्दै खुट्टा काँधमाथि राख्दा अड्किएर एकजना मानिस कराउँछन्, 'बाहिर कोही छ ? खुट्टा अड्क्यो'— वात्सायनको कार्टुन, सम्भिmएर मुसुमुसु हाँस्दै सोधेँ, 'कहिलेकाहीँ खुट्टा अड्केको छ ?'झस्किए । चियाको कप टेबुलमा राख्दै सोधे, 'कसरी थाहा भो ? त्यो रसभरी अड्केको कुरा ?' मेरो अनुहारमा अन्योलको पात उन्यूझैं उल्पलायो ।'रसभरी' सुन्नासाथै मैले कुरा मोडेँ । भन्नुस् त, रसभरी कसरी अड्कियो ? संवादको बोनस-प्रसंग यस्तो रै'छ— बाइस सालताका ज्ञानु जिल्ला अदालतमा बैदार थिए । मुखियाको तलब ६५ रुपैयाँवाला जमाना थियो । अदालतमा घुस ? त्यो पाप थियो । कसैको मुद्दा जिताउन एकजना वकिलले उनलाई घुस दिने निर्णय गरेछन् । चिया खाने निहुँमा ज्ञानुलाई मिठाई-पसल पुर्‍याइयो । अर्डर भयो, ज्ञानुको पि्रय रसभरी । ज्ञानुले सिंगै रसभरी मुखमा के राखेका थिए, वकिलले स्वाट्ट सर्टको माथिल्लो जेबमा सयको नोट राखिदिए । हे दैव ! ज्ञानुको सातो उड्यो । त्यै मौकामा रसभरी घाँटीमा अड्कियो । छेउका तिनै वकिलले निहुरिएका ज्ञानुको घाँटीमा प्याट्ट-प्याट्ट हानिदिए । आँखाबाट तरक्क, आँसु चुहिएपछि, रसभरी तल झर्‍यो । झस्किएका वकिलले यत्ति भने, 'कस्तो हो, खानै नपाएजस्तो । टुक्राटुक्रा पारेर खानुपर्छ नि !' 'यौन भनेको प्राकृतिक आवश्यकता हो,' यस्तो पनि नभन्नुहोला, ज्ञानुदाइ, मैले सोधेँ, 'यौन के हो ?''जब रेडियोको ब्याट्री सकिन्छ, कि त नयाँ ब्याट्री किनिन्छ, कि त ब्याट्री सुकाइन्छ,' ज्ञानु मौलिक मुस्कानसहित भन्छन्, 'यौन भनेकै जीवनको रिचार्ज हो ।'धेरै ठाउँमा पढेको र भोगेको ज्ञानुको यौन-व्याख्या छ- यौन-दमनले अप्राकृतिक घटना घट्छन् । जो जीवनमा यौनका मामलामा सन्तुष्ट छन्, ती दीर्घायु, तनावमुक्त र स्वस्थ हुन्छन् । 'अनि नहुनेहरू नि ?''यौनमा पाखन्ड र बेइमानी हुनु हुँदैन,' भन्दै मुसुमुसु हाँस्छन् । र, उत्तर घुमाउरो पाराले दिन्छन्, 'यौनका मामलामा सन्तुष्ट मानिसको भन्दा असन्तुष्ट मानिसको मृत्युदर बढी छ ।'राममनोहर लोहियालेझैं उनी भन्छन्, 'यदि आपसी सम्झौतामा इमानदारी छ भने सबै सम्बन्ध नैतिक छन् ।'प्रश्नको फेरो द्रौपदीको साडीझैं लम्बिँदै गएपछि, यसो आङ तन्काउँदै ज्ञानुले म बबुरोलाई सम्झाए, 'हाम्रो समाज धर्मभीरु छ । यस विषयमा चर्चा गर्नु जायज नहोला ।'कुरा त उही हो- अपने हमाम मे सब नंगे है ।

एक जीवनमा एक मानिस अनेक मानिस भएर बाँच्छ । ज्ञानु पनि अनेक मानिस बोकेका एक मानिस भएछन् । 'थाहा छ ? मैले कहिल्यै जागिरका लागि निवेदन हालिनँ,' मुसुक्क हाँस्छन् । निवेदनको जिम्मा त दाइ र बाले पो लिएका थिए । धेरै ढिलो बक फुटेको छोरो हेर्दाहेर्दै कविता पो गुन्गुनाउन थाल्यो, दैव ! ज्ञानु अर्थात् बैदार । बाइस सालमा अस्थायी जागिरे । स्थायी आयो । त्यो पनि सक्कियो । पच्चीस सालमा, ज्ञानु अर्थात् सप्लायर्स । दरभंगामा कपालको तेल बेच्न यी फिरन्ते, जनकपुर-जयनगर-कमतौल-बैरगनियातिर झुल्किन्थे । सक्कलीको डुप्लिकेट सुगन्धित तेलका नाम हुन्थे : पमानी, कोलगेट, ब्रम्मी । यसरी छोरो तेल बेच्दै कहाँ-कहाँ पुगेन ? बालाई झोक चल्यो- यल्लाई त तह नलगाई भएन । अनि ज्ञानु, पच्चीस सालमै पुगे, आर्मी हेडक्वार्टर । ज्ञानु अर्थात्- सार्जेन्ट कल्र्क । अब ज्ञानुलाई लाग्न थाल्यो, कहाँ फसियो यार ! ज्ञानुको मन पिँजराको सुगाझैं, घाइते, फड्फडाउन थाल्यो । आरआर कलेजका आर्टस्का विद्यार्थी ज्ञानुले पढाइ र कामलाई म्यानेज गर्न सकेनन् । कर्नेलले सहयोग गरेनन् । कर्नेल सा'प, बरु झोक्किए । तेत्तीस सालमा ज्ञानु उन्मुक्त भए । ज्ञानु अर्थात् स्टोर सुपरिन्टेन्डेन्ट । मुक्त मनको चरी सोल्टी होटलमा रमेन । त्यसपछि, ज्ञानु अरू भएर पनि बाँचे । उमेरले जीवनको साँचो उनकै हातमा सुम्पिदियो । अंशबन्डा छुट्याइदिएको बूढो बाबुलेझैं भन्यो- ज्ञानु ! अब जे गर्नु छ गर् ।बल्ल, ज्ञानु अर्थात् सम्पादक । पैंतालीसदेखि गरिमा पत्रिकाको कुर्सीमा लामो थकानपछि उनी सुस्ताए । साहित्यका कुरा खुब भए । ज्ञानु अर्थात् सरकारी जीव । रेडियो नेपालको मध्यम अँध्यारो कोठामा ज्ञानुका धेरै वर्ष आए र गए । वर्षहरू बाटो बिर्सिएको यात्रीझैं बाटो सोध्थे र जान्थे । र, त्रिसठ्ठी सालको एकदिन ज्ञानु घर फर्किए, बिहान उठ्दा उनी कुनै सरकारी जीव थिएनन् । एउटा पूर्ण मानिस थिए । ज्ञानु अर्थात् ज्ञानुवाकर पौडेल । फनक्क पृथ्वी एक फन्को लगाएको घाम पहेँलिँदै डाडाको टुप्पामा पुगिसकेको छ । घाम भन्छ- घाटघाटको पानी पिए ।गजलको कुरा गरी साध्य छैन । झन्, गाजलको कुरा । कसैले भनिदिन्छ, प्रेमिकाका आँखाको गाजल हो, गजल । अनि गजलकार ? ज्ञानु फिस्स हाँस्छन् । चवालीस सालमा ...अचानक विवाहित नेपाली पुरुष भएका ज्ञानु, भन्छन्, 'म प्रेमको मामलामा अभागी छु ।' लामो असफल-प्रेम-व्याख्यानको सार त यही उखानले भनिदिएपछि, लामो कुरा किन चाहियो, ज्ञानुदाइ- सुन नला'कीलाई मैले पत्याइनँ, सुन ला'कीले मलाई पत्याइन । 'अतृप्त प्रेमको तिर्खा मेटियो कि मेटिएन ?''मेरी श्रीमतीको प्रेमले... प्रेमको मामलामा जुन वितृष्णा थियो, त्यो पखाल्यो,' अल्लि माथि निधार उचाल्दै, आँखा जुधाउँदै सुनाए, 'नारीप्रति मेरो जुन नकारात्मक भावना थियो, श्रीमतीका कारणले केही हदमा सकारात्मक बनायो ।' 'केही हदमा मात्रै ?' पूर्ण त को हुन्छ र ? उनले प्रश्न सुनेनन् । या त नसुनेजस्तो गरे । कुन्नि के हो ? 'म भाग्यमा गर्व गर्छु,' यस्तो भने, 'अनुकूल श्रीमती पाएकामा ।' ढिलो बक फुटेका ज्ञानु ढिलो सात कक्षाको रोलक्रममा सामेल भए । एकैचोटि सात कक्षा ? के पास हुनुभयो ?'भएँ त ।' ज्ञानुलाई लाग्छ, जीवनमा जे-जे भयो, त्यो सबै हुनलाई नै भयो । पछुतो पनि छैन, जीवनमा, कहाँ-कहाँ बिराइस्, ज्ञानु ? रेडियो नेपालका उपनिर्देशक दौलतविक्रम बिष्टलाई गोडा कमाउँदै, ठूलो फ्यान भएर भेट्न पुगेका ज्ञानुको उमेर, त्यही कुर्सीमा अलिकति झोक्रायो । महत्त्वाकांक्षाले कहिल्यै घुँडा टेकाएन । उमेरमा घरबाट भागेर तीन महिना फराकिला समुद्रका किनारमा टोलाउँदै बस्ने यी ज्ञानुको यात्रा अझै थपिएको छैन । सारा नेपालमा उनको पदछाप, खोज्नुपर्छ, भेटिन्छ । भन्छन्, 'तीन जिल्ला पुगेको छैन, एकदिन पुग्छु ।'साथीहरूको कुरा गरिसाध्य छैन, कहाँ-कहाँ पुगेका छैनन् । बायोडाटा हेर्ने हो भने संसार घुमिसकेका छन् । ज्ञानुलाई झोक चल्यो । म किन विदेश जान नहुने ? उनले सोचे- मेरो बायोडाटामा विदेश थप्छु । 'म खासा गएँ,' हाँस्दै भन्छन्, 'मेरो बायोडाटामा चीन थपियो ।''बायोडाटामा थप्न मन लागेका देश कुन-कुन छन् त ?''आइसल्यान्ड, गि्रनल्यान्ड र चेकोस्लोभाकिया,' अनुहारको रौनकै अर्को, 'यी देशका बारेमा किताबमा पढेको छु । नीला समुद्र छन्, पिँधसम्म देखिने ।'आफूभन्दा कम उमेरका मानिस सचिव छन् । गाडी छन् । घर छन् । बैंक ब्यालेन्स छ । ज्ञानुको मन कुटकुटु टोक्ने धमिराजस्ता यी प्रश्नहरूको कुनै उत्तर छैन । उत्तर ज्ञानुसँगै छ, 'मलाई पछुतो छैन । मेरो जीवन उपलब्धिमूलक हो कि होइन, त्यो मेरा मलामीको संख्याले देखाउनेछ ।''म हरेक हिसाबले सार्थक छु,' जीवनको जोड-घटाउ हो, 'समाजमा मेरो पहिचान छ ।''अनि घरमा ?''साहित्यमा लागेर करिअर बिगार्‍यो भन्छन्,' मुसुक्क हाँसे, 'कहिलेकाहीँ पुरस्कार पाउँदा खुसी पनि हुन्छन् ।'


कात्रोमा गोजी हुँदैन हेर
बिक्रीमा किन इमान राख्नू ।
मन्दिर होस् गाउँबाहिरै
बस्तीभित्र चिहान राख्नू ।

'हर्ष न बिस्मात् । सुखदुःख बराबर,' ज्ञानुको जीवनको सार यही हो । हुन पनि, ज्ञानु स्त्रीको गाजलबाट जीवनको गाजलसम्म उक्लिसकेका छन् । जीवनको गाजल लाउन जाने अझ सुन्दर, लाउन नजाउने झन्, कुरूप ।


(साभार: नया पत्रिका )


No comments: