Wednesday, June 10, 2009

कबिता










खुसीको स्वाद
(भुजंगप्रयाद छन्द )

-पर्शुराम पराजुली 'पराशर'
मिलाई ब्यबस्था गयौ भोज खान
बडो शान्त राम्रो गुराँसे धरामा ।
उज्यालो खुसीको सबैले फिजाए
बनाए यही स्वर्ग नाचे नचाए । (१)

बजाएर बाजा गरे नाचगान
सबैले सुनाए अनेकौ तराना
म ता खालि खान्थें तमासा नियाल्थेँ
बजाएर ताली गुजारा चलाएँ । (२)

न कैल्यै कुनै गीत काही सुसेल्थेँ
न कैल्यै कुनै ताल दिन्थेँ र भुल्थेँ
तिमी नाच भन्दा सधै लाज मानेँ
भयो लौ न यो के हरे ! राम जाने !! (३)

लिई पुष्प गुच्छा उठाए सबैले
खुसीले उचालेँ दुबै हात मैले
घुमाएछु खुट्टा गरी हाउभाउ
ननाच्ने नाचेछु ताली बजाऊ । (४)

चरी चिर्र गर्दै जवानी उचालेँ
नदी चल्मलाए भरोसा दिलाएँ
सुसेलेर मैले कुनै गीत गाएँ
खुसीको नयाँ स्वाद पो चाल पाएँ । (५)

-झापा
ईमेल: suravisahitya@gmail.com

No comments: