Monday, March 16, 2009

कबिता













माइला दाइ

-केदार श्रेष्ठ "गगन"
माइला दाइ
के फरक छ
साथी र मित्रमा
थाहा छ तिमीलाई -
के थाहा पाउनु
तिमी सोझो गाउँले
गाउँले भएर नै तिमी माइला दाइ
भएका छौ
नत्र माइकल ब्रो हुन्थेउ होला नि
होइन र ?

सुनेको थिएँ-
साथीको साथ केही क्षणको,
मित्रको साथ युगौयुगको,
जीवनभरिको
तर
होइन रहेछ
माइला दाइ
यो झूठो रहेछ
फगत झूठो
यो कुरो थाहा थियो त तिमीलाई ?
के थाहा
तिमी सोझो गाउँले
गाउँले भएर नै तिमी माइला दाइ
भएका छौ
नत्र माइकल ब्रो हुन्थेउ होला नि
होइन र ?

सम्झन्छौ होला
आकाश एउटै,धर्ती एउटै
पानी एउटै, माटो एउटै
मैले भनेको बिश्वास लाग्दैन होला
तर
होइन रहेछ
माइला दाइ
होइन रहेछ
तिमी यो कुरामा त बिश्वास गर्र्छौ हौला नि
गाउँ र शहरको,
शहरको भब्य महल र गाउँको झुप्रो,
कुनै कविको काल्पनिक कविताजस्तै,
आकाशको तारा हेरेर
रमाउने प्रेमि-प्रेमिका वा
भित्तामा सजाइराखेको रोमान्टिक तस्वीर जस्तो
हुन्न रहेछ वास्तविक जीवन,

एकदिन
पल्लाघरे ठुल्दाइले
भनेका थिए
मायाप्रेमको कुरा गर्दा
हेर भाइ
शहरको भब्य महल र गाउँको झुप्रोमा
जस्तो फरक छ
त्यस्तै फरक छ मायामा पनि
होइन जस्तो लागेको थियो
तर
हो रहेछ
माइला दाइ
हो रहेछ ।


-भीमस्थान -५, सिन्धुली





No comments: