Wednesday, February 4, 2009

कथा

गौरी

-शिब प्रकाश
प्रगाढ मित्रताको आयतनमा फैलँदो प्रेमको तलाउभित्र उद्वेलित तृष्णाका तरङ्गहरू यदाकदा छछल्किन खोज्थे । सागर आफैँ तिर्खाएजस्तो तिर्खाएका उनीहरूमा एकअर्काभित्र डुबुल्की मार्ने चाहना उर्ले पनि सीमित थिए एक आपसमा र सीमित रहे वर्षौँसम्म । मित्रता र भेटघाट भने निरन्तर थियो ।

आशुतोष एकाएक विदेशिने भयो । यो कुरा गौरीसँग पनि उसले लुकाइरहेको थियो । तर कुनै साथीबाट गौरीलाई थाहा भयो आशुतोष भोलि नै उड्दै छ भनेर !

भोलिको उडान आफ्ना सामान र सुटकेस मिलाउँदैमा रातको एघार बजिसकेको थियो। फोनको घण्टी बज्यो । आशुतोषले हेलो भन्न नपाउँदै "म तिमीलाई अहिले नै भेट्न चाहन्छु" गौरीको आवाज सुनेर आश्चर्य र मौनता दुबै छायो आशुतोषमा । "तर… तर ...तर… गौरी अहिले त धेरै अबेला भइसक्यो ।"

"भयो होला तिम्रा लागि तर मेरालागि भएको छैन" प्रतिउत्तरमा गौरीले भनी ।

गौरीको अस्वाभाविक र अप्रत्याशित चाहना ! ऊ नचाहेर पनि गौरीबाट टाढिनु त छँदै छ त्यसमाथि हृदयको खोपीमा बसेकी गौरीबाट बिछोडिने घाउ ऊभित्रभित्रै पिलिइरहेको थियो । त्यो पीडा उसले गौरीसामु व्यक्त गर्न सकेको थिएन ।
तर...गौरी किन यति अबेला, आखिर त्यस्तो के ? आशुतोष बोलिनसक्दै गौरीले भनी - "त्यो पनि मैले
भन्नु पर्छ तिमी पुरुष ……।"

रात निक्कै छिप्पिसकेको हुनाले उसले भोलि भेट्ने बाचा गर्दै गौरीलाई मनाउने प्रयत्न गर्‍यो । गौरीले आशुतोषप्रति आवेश पोख्दै भनी - "तिमी पुरुषहरू मर्जीका मालिक हुन्छौ, हामी नारीको इच्छाको कदर कहिल्यै गर्दैनौ ।" पीडापूर्ण हाँसो हाँस्दै उसले उत्तर दियो "तिमी नारीहरू पनि त यसरी बेला न कुबेला ठाउँ न कुठाउँ अमिल्दा अप्ठ्यारा कुराहरूको अत्तो थाप्छौ र दोष चाहिँ पुरुषहरूलाई दिन्छौ ।"

"ल, उसोभए बिहान आठबजे होटल ग्रीनल्यान्डको ११ नम्बर कोठामा भेट ।" गौरीले फोन बिसाई ।

"म पुरुषको भोको होइन । कर्णध्वजबाहेक लाखौँ पुरुष छन् मेरा वरिपरि ! तर आशु नै किन उभिन्छ मेरा सामु…? म मात्र प्रेमको भोको हुँ । मेरो त्यो भोकको उपज पनि आशु नै हो र भोजन पनि आशु नै हो । अनि मेरो प्रेमको पर्याय पनि आशु नै हो, अरू कोही हुन सक्दैन । मभित्र एउटा साम्राज्य बनाएको छ उसले । त्यो साम्राज्यमा आफैँभित्र अधिनस्त शासित छु म । बचाऊँ भने कसरी बचाऊँ अनि भत्काऊँ भने कसरी भत्काऊँ त्यो साम्राज्य…!" यस्तै तर्क र तिर्सनाहरू तेर्स्याउँदै गौरीले त्यस रातसँग रातभरी बहसगरेर रात बिताई ।

आज गौरी आफूभित्रको गह्रौंपनलाई हलुङ्गो पार्न चाहन्छे । आशुतोषसामु आफूलाई रित्याउन चाहन्छे ।
आशुतोष होटलको कोठामा छिर्नेबित्तिकै उसले ढोकाको चुक्कुल लगाई, पर्दा मिलाई । आशुतोष किंकर्तव्यविमूढ हेरिरहन्छ एकहोरो गौरीलाई । निःशब्द उभिएको छ एउटा सग्लो पुरुष ! एउटा सग्लो पुरुषभित्रको एउटा पूर्णपुरुष अपेक्षाकृत उभिएको छ मानौँ कुनै मूर्तिजस्तो !

आशुतोष निमग्न छ गौरी निःशब्द छे । हेरिरहेछन् एक अर्कालाई । एउटा पुरुषभित्रको पूर्णपुरुषको परिकल्पनामा निथ्रुक्क भिजेकी छ गौरी !

एकाएक सम्पूर्ण सीमा र बन्धनहरूलाई नाघ्दै गौरी आशुतोषमाथि यसरी विसर्जित हुन्छे मानौँ आत्महत्या गर्ने मान्छे जसरी आँखा चिम्लेर हामफाल्छ ।

स्तब्धता छाउँछ कोठामा । जिउँदा मान्छेहरूको समाधीस्थल जस्तो बन्छ कोठा केहीबेर …… ! केही क्षणको निःशब्दता र उकुसमुकुसपछि "गौरी मलाई ढिलो भयो म॥ म जान्छु।"

गौरी चुपचाप स्वीकृतिको शिर हल्लाउँदै आशुतोषलाई आफूबाट मुक्त गर्छे र हेरिमात्र रहन्छे । निःशब्द गौरी झ्यालका पर्दा उघार्दै आशुतोषलाई हेरिरहन्छे… हेरिरहन्छे । आशुतोष पछाडि नफर्की एकहोरो अगाडि बढिरहन्छ … बढिरहन्छ…… बढिरहन्छ । लामो समयपछि बिदेशबाट फर्किएको आशुतोषले आउनेबित्तिकै गौरीलाई फोन गर्‍यो जसरी गौरीले जानेबेलामा उसलाई गरेकी थिई । र जानेबेलामा आफू गौरीबाट जुन ठाउँमा छुट्टिएको त्यही ठाउँमा गौरीसँग पहिलो भेट गर्न चाहना राख्दै भन्यो "गौरी सक्छ्यौ र याद छ भने उही ग्रीनल्यान्ड होटलको ११ नं कोठामा आऊ, आज बेलुका आठ बजे । म त्यहीँ हुन्छु ।"

यो बीचमा खोलामा धेरै पानी बगिसकेको छ। समयले धेरै बसन्तहरू गुजारिसकेको छ अनि जीवनले धेरै आरोहअवरोह ब्यतित गरिसेकेको भएता पनि आशुतोषसँग भेट्ने असीमित लालसाहरू जीवितै थिए गौरीमा पनि । तर पनि आशुतोषप्रति आश्वस्त हुन नसकेर गौरीले होटलमा हैन अन्तै जाने मुड बनाएर भनी "आशु, आज कुनै रेस्टुरेन्टमा भेटौँ, बसौँ, केही खाऔँ र गफ गरौँ ।" लामो समयपछिको भेटमा आफ्ना निस्पृह चाहनाहरूलाई एकाएक उजागर गर्नु भन्दा तिनीहरूलाई स्वतन्त्र ओइलाउन दिनु नै बेस हुनेछ भन्ने लाग्यो गौरीलाई ।

धेरै समयपछिको भेट ! रेस्टुरेन्टमा केहीबेर दुबै चुपचाप एकअर्कालाई हेरिमात्र रहे । गौरी आफैँभित्र छछल्किएका भावनामा बगिरहेकी थिई । आशुतोष एकोहोरो गौरीलाई हेरिरहेको थियो । ऊभित्रकी गौरी अहिले ऊभित्र छ कि छैन ऊ आफैँभित्र खोजिरहेको थियो, आफैंभित्र छामिरहेको थियो ।

मौनतालाई च्यात्दै "आशुतोष, याद छ, तिमीले त्यो दिन त्यो कोठामा के गर्‍यौ ? त्यसैले तिमीप्रति विश्वस्त हुन नसकेर आज मैले त्यो होटलमा नभएर यहाँ भेटेकी हुँ।" गौरी भन्दै थिई ।

"गौरी, सबै याद छ । दिनभरी हरियो धाँसमा चरेर अघाएको पशु साँझमा उग्राउँदै निदाएजस्तो मैले पनि तिमीसँगका मधुर स्मरणहरू उग्राउँदै यतिका वर्ष बिताएँ । न मैले तिमीलाई बिर्सेको छु न तिमीसँगका खुशीका क्षणहरू नै बिर्सेको छु । अनि गौरी, मैले गर्नु पर्ने जे थियो सायद त्यही गरेँ हुँला, अन्यथा माफ पाऊँ ।" अस्वाभाविकतामाथि स्वाभाविकताको लेपन लाउँदै सरल र सहज जवाफ दियो आशुतोषले ।

आफूभित्र अझै कताकता बलिरहेको भुङ्ग्राको रापजस्तो आवेग ओकल्दै "तिमी त्यसलाई पनि रमाइलो क्षण मान्छौ आशु, त्यो त…! मैले... मैले.... ! त्यो क्षण दुखद नभएता पनि सुखद अनुभव गरिनँ मैले ! गौरी अलि अस्वाभाविक प्रस्तुत भई । केहीबेर दुवै चुपचाप रहे पनि आँखा-आँखा बोलिरहेका थिए ।

"गौरी, तिमी अझै केही भन्न खोजिरहिछौ भन ।"

हो, आशुतोष ! म त्यतिबेला मनमनै भनिरहेकी थिएँ "आशु, आज मेरा चाहनाहरू तिम्रा इच्छाहरूसँग युद्ध गर्न पङ्‌तिबद्ध मोर्चा कसेर बसेका छन् मभित्र । आऊ एउटा युद्ध लड ! जुन युद्धमा म हारेर तिमीलाई जिताउन चाहन्छु । प्रणययुद्ध ! आशुतोष, प्रणययुद्धमा पुरुषको कर्तब्य आक्रमण हो भने नारीको दायित्व समर्पण हो । तर आजसम्म न तिमीले मेरा चाहनामाथि आक्रमण गरेर ममाथि अन्तिम विजय प्राप्त गर्ने साहस नै गर्‍यौ अनि नारीसुलभ स्वभावभित्र पराधीन मेरा चाहनाहरूले मेरो उत्कण्ठ उदाङ्गो रुप तिम्रासामु उभ्याउन नै सके । आशु, कताकता एउटा अप्रत्यक्ष्य चाहनाभित्र बनेको अपेक्षाको चौतारीमा प्रतीक्षारत छु म ! मभित्र कोपिलाझैं पत्रैपत्र गाँजिएका मेरा चाहनाहरू तिम्रासामु आज सबै फक्रिएका छन् । चुँडाल तिनलाई, निमोठ तिनलाई र वासनाको बरसातमा भिजाऊ मलाई । निथ्रुक्क बनाऊ। म भिज्न चाहन्छु मलाई ओत चाहिएको छैन । सामाजिक परिवेशको चुहिएको छानोमुनि आफूलाई ओभानो देखाउनु छैन । आशुतोष, म निथ्रुक्क भिज्न चाहन्छु । म डुब्न चाहन्छु । डुबुल्की मार्न चाहन्छु । दिशाविहीन नौकाजस्तो बहन चाहन्छु । म हराउन चाहन्छु, केही क्षणका लागि भए पनि म आफूलाई विर्सन चाहन्छु । आशुतोष तिमीले कहिल्यै ममाथि धावा बोलेनौ । एउटा प्रेमपूर्ण प्रणययुद्धका लागि ललकार‌‌‌‌‌... !
तर आज म तिमीमाथि आक्रमण गरिरहेछु। तिमी मलाई समर्पण गर र केही क्षणका लागि भए पनि पूर्णरुपमा॥ गर । तर पनि म तिमीसँग हार्न चाहन्छु तिमी मलाई जित ।"

"हो आशुतोष तिमीले त्यो दिन मेरा इच्छाहरूको अनादर गर्‍यौ र मप्रति अन्याय गर्‍यौ ।"

गौरीका गोरा कोमल र सलक्क परेका लोभलाग्दा हात सुम्सुम्याउँदै आशुतोषले भन्यो "गौरी अनादर भयो होला तिम्रा ती भ्रूण इच्छाहरूको जसलाई मैले उन्नत बनाउन सकिनँ र अन्याय भयो होला गौरी तिमीप्रति पनि ! तर तिमीमाथिको कसैको एकाधिकारको मैले आदर र सम्मान गरेजस्तो लाग्छ । तिमीप्रति अन्याय गरेपनि एउटा लोग्ने मान्छेप्रति न्याय गरे जस्तो लाग्छ ।"

प्रलयपछिको शान्त सागरजस्तै गौरी निःशब्द सुनिरहेकी छे र मनमनै भनिरहेकी छे "आशु, म अब तिम्रो शरीर हैन हृदयसँग प्रेम गर्छु । मेरो शरीरको हाडमासुलाई तिम्रो शरीरको हाडमासुको भोकको साथी हैन तिम्रो हृदयको भावनाको साथी बनाउँछु । मैले जे सोचेँ जे गर्न खोजेँ मलाई माफ गर" मनमनै बोलिरहेकी गौरीले एकाएक मुख खोली "आशुतोष म अरु कसैको जीवन साथी भए पनि अब म तिम्रो जीवनभरको साथी हुनेछु ।"

आशुतोषले प्रेमपूर्ण सुम्सुम्याइरहेका हातहरू बिस्तारै तान्दै विनय र स्नेहले भरिएको मलीन स्वरमा "ल त आशु आज म जान्छु।" गौरीले भनिनसक्दै पछाडिबाट कसैले भन्यो " गौरी जाने बेला भएको हो !"

कर्णध्वजको आवाज सुनेर गौरी छाँगाबाट खसेजस्ती भई । गौरीको अनुहारमा एकाएक ग्लानि र हतासा दुबै छायो । हुरीबतासको भुमरीभित्र हराएकी विचलित चरीजस्तै गौरीतिर हेर्दे "संसारमा सबै मान्छेले जानेर गल्ती गर्दैनन्, गौरी । कोही नजानेर गल्ती गर्छन् , गर्न खोज्छन् कोही जानेर गल्ती गर्न चाँहदैनन् । धन्यवाद आशुतोष !" कर्णध्वजले भन्यो ।

ऊ अहिलेसम्म गौरीको श्रीमान् कर्णध्वजसँग अपरिचित थियो । गौरी र कर्णध्वज आफ्नो बाटो लाग्छन् । सहरको बत्तीको मधुरो उज्यालोमा गौरीको आकृति देखुन्जेल आशुतोष हेरिरहन्छ ।



No comments: