Sunday, December 7, 2008

लघुकथा

राजनीति

-प्रदीप प्रधान
पिच सडकमा गाडीहरू रोकिदै गए । हेर्दाहेर्र्दै कमिलाको तातीझैँ गाडीहरूको लस्कर लाग्यो । कोही यात्री पिसाब फेर्न ओर्लिए । कोही धारामा पानी पिउन झरे । सबभन्दा अगाडिको ट्रक चालकले रोकेपछि यो रोकिने क्रम जारी भयो । त्यस ट्रकअगाडि ढुङ्गाहरू थुपारिएको थियो । तर ढुङ्गा पन्छाएर ट्रक अगाडि बढाउन ड्राइभरको हिम्मत नै भएन । रोकिएको चारवटा बस पछाडिको बसमा दूइ जना यात्रीहरू कुरा गर्दै थिए । -"अब बर्बाद भयो ।" एक जनाले भन्यो । -"दुर्घटनामा परेर छोरा टिचि अस्पतालमा छ । आजै पैसा लिएर आउनु भनेर खबर पठाएपछि हतार-हतार आएको । अफिसमा पनि कुनै खबर नगरी हिँडेको । दोस्रोले भन्यो । अर्को यात्री भन्छ- "मेरो आजै राती दुबई उडानको टिकट छ । बल्ल-बल्ल टिकट पाएको । एक लाख खर्च गरेर भिसा आएको हो । मत ठूलो सङ्कटमा परेँ ।" सबैका आआफ्ना गुनासा थिए । कोही जागिरमा हाजिर हुने कर्मचारी, कोही व्यापारी, कोही एम्बुलेन्स लिएर दौडिएका बिरामी थिए । दुइ जना कुरा गरिरहेको बेला एक जना बीचमा बोल्यो, "हैन, आज बन्द भनेर कहीँ पनि भनिएको छैन । केको ढुङ्गा थुपारेको होला, हटाएर गए हुँदैन ?" अर्को यात्रीले प्याच्च बोल्यो, "फेरि पड्कियो भने के हुने हो ?" यस्तै-यस्तै तर्कले कसैको हिम्मत पलाएन रोकिएको ठाउँको वरिपरि दसबाह्रवटा होटलमात्र थिए । यात्रीहरू भोकाउन थाले । होटेलमा आएर खाना खान थाले । होटल प्याक भयो । होटेलमा स्टक केही रहेन । होटलवालालाई खाना पुर्‍याउन पनि धौधौ भयो । अन्त्यमा होटल मालिक कृष्ण पाण्डेले होटलको कामदार दिलीपलाई भन्यो- "खाना सबै सकियो । जा ढुङ्गाहरू हटाई दे ।" दिलीप सरासर गएर ढुङ्गा हटाइदियो । गाडी यात्रीहरू खुसी भए । "गाडी खुल्यो ।" भन्दै आआफ्नो सिटमा बसे ।

No comments: