-बिक्रम सुब्बा
म पाठक
आमा मेरी पहिलो पुस्तक
मैले पढेको पहिलो पाठ
आमाका झरिला आँखा
जहाँबाट हरदम वर्षने करूणा
मेरो कलेजो छेउछाउमा पञ्चामृतझैँ पसे
र त मेरो छातीमा नेपालको माया ढलोट भयो
लाग्छ, जसको छातीमा आमाले रोपेको
मुलुक माया गर्ने ढुकढुकीको विरुवा हुर्कन सक्दैन
शायद, ऊ नै दरिद्र नागरिक हो ।
मैले पढेको दोस्रो पाठ
लटरम्मै स्नेहील चुम्बन फल्ने
आमाका एक जोर ओँठहरू
जहाँ फलेका फल खाएपछि
करोड दु:खहरू त्यसै निस्तेज हुन्थे
लाग्छ, आमाको चुम्बन
सबैभन्दा पोषिलो आहारा हो
जसलाई अघाउँनेगरि आमाले चुमेको हुन्न
शायद, ऊ नै सबैभन्दा कुपोषित बालक हो ।
मैले पढेको तेस्रो पाठ
दुधले भरिएका आमाका स्तनहरू
जसले मभित्र सिंचित गरे –
कंचन हिमाली जल र मधेशको तातो जाउलो
पहाडी जडिबुटीका सुगन्ध र कन्दमुलको स्वाद
मेची र कर्णालीको लयदार लोरीका धूनहरू
र त मेरा हरेक अंगअंग पुलकित देखिन्छन्
लाग्छ, जसको नशामा आफ्नो देशको हावा-पानी दौडिदैन
शायद, ऊ नै सबैभन्दा रोगी मानिस हो ।
चौथो पाठमा मैले
कंचनजंघा, सगरमाथा र माछापुछ्रेझैँ फैलिएका
आमाका हातहरू छातीमा टाँसेर पढेँ
जुन हातहरूले मलाई अँगालो हाल्दा
आफुलाई सबैभन्दा सुरक्षित पाउँथेँ
जुन हातका औँलाहरू समातेर हिँड्दा
मुलुकको महान यात्रामा हिँडेजस्तो लाग्थ्यो
आमाका भरोसायुक्त हातहरू मार्फत
म भित्र प्रवेशित उर्जाकै धुप जलाएर
मैले सबैभन्दा महान पुजा गर्न सिकेँ
लाग्छ, सबैभन्दा ठूलो देवीका रुपमा
आफ्नो मुलुकको मानचित्रलाई
छातीभित्रको मन्दिरमा जसले सजाउँन सक्दैन
शायद, ऊ नै सबैभन्दा पाखण्डी पुजारी हो ।
मुटुमा छल्किँदो रक्तिम ममता
अनि स्नेहको अन्तिम थोपा पनि यहीँ छोडेर
आज चुँडियो आमाको पवित्र रेशमी स्वास
र यत्ति बेला नेपालको लाम्चे-आकृतीजस्तै
लम्पसार आमाको पार्थिव शरिरलाई
महान शुत्रझैँ पढिरहेछु
बिजुली चम्केझैँ क्षणभरमा
टुहुरो हुँदाको विरक्तिलो ज्ञान हासिल भयो
भद्र-भलाद्मी र मलामीहरु उपस्थित
यो दिक्षान्त समारोहजस्तो मातृ-मृत्यूउत्सवमा
दुनियामा बाँच्न योग्य भएको प्रमाण-पत्र
सेतो टोपी खौरेको शिरमा थापिरहेछु
लाग्छ, मानिस टुहुरो नहुञ्जेल
समाज र देशलाई माया गर्न असमर्थ हुन्छ
शायद, रुँदै आमाको लाशमा
दागबत्ति दिने क्षणबाट नगुज्रेको मानिस
हरफ-हरफमा आमा र मुलुक मिस्सिएको
एक महान गीत गाउँन पनि असमर्थ हुन्छ ।
(साभार : नेपाली कबिता )
No comments:
Post a Comment