Saturday, May 16, 2009

गजल










-टंक चन्द
जुन तारा आकाशका झार्छु भन्छिन् उनी ।
हाम्रो बीचका बाधाहरु टार्छु भन्छिन् उनी ।

मेला जादा साक्षी राखी चौतारीको बरपिपल,
उस्तै जस्तै खुल्ने नाता पार्छु भन्छिन् उनी ।

उच /निचको भेल बाढीले बगाए नि अब,
दिल भित्रकै माझी बनी तार्छु भन्छिन् उनी।

मक्किएको संस्कारले धावा बोल्छ भने,
मनको दरवार मेरो सामु सार्छु भन्छिन् उनी।

कौडा पासा जे खेले नि प्रीति बचाउनलाई,
'टंक' सङ्ग जुनी-जुनी हार्छु भन्छिन् उनी।


-तुलसीपुर -९ बेलुवा, दाङ
अध्यक्ष अनेसास, मलेसिया शाखा

गजल













- आचार्य प्रभा
तिम्रो माया बिझाई रह्यो मुटुमा शूल बनी
झझल्को नाची रह्यो आँखा भरी फूल बनी

धोका रैछ तिम्रो माया झुठो रै'छ बचन
पश्चातापमा डुबाइ दियौ नमीठो भुल बनी

मनभरी पीडा बड्यो भारी बन्यो नयन
सम्झनाको बादल बर्स्यो आँशुको मुल बनी

सम्झनाले सताइ रह्यो,अनिदो भो रात
हरप्रहर बित्यो मेरो तृषित काकाकुल बनी


-अमेरिका

गीत










छाडी गयो निष्ठुरीले

-रबिन्द्र राई 'अधुरो'
छाडी गयो निष्ठुरीले तस्बीर रही रह्यो
चोट सहने प्रयास गरेँ झन्-झन् बढी रह्यो

बाहिरी आँखा छोप्न खोंजे भित्र सकिएन
बर्षौ भयो उनको याद अझै मेटिएन
मनको राप भित्र भित्रै मुटु जली रह्यो
सपनीमा बर्बराई के-के बोली रहेँ ।

यी आँखाले जे जे देख्यो सबै भ्रम रहेछ
आफ्नै भनी विश्वाश गर्नु पनि हुन्न रहेछ
मनको घाउ नमेटिनै सधैं बल्झी रह्यो
चोट सहने प्रयास गरेँ झन्-झन् बल्झी रह्यो ।


-बुईपा, खोटांग

Friday, May 15, 2009

गजल










-गोबिन्द प्रसाद उपाध्याय
बेमौसममा प्रीतको खेती गरे पछि के गर्ने ?
अटुट बन्धन तोडी जान खोजे पछि के गर्ने ?

पवित्र गाँठो पारी सङ्गालेको प्रीतमा
बिनाशरुपी धमिरा लागे पछि के गर्ने ?

मन मन्दिरमा कसम खाई साथ दिन्छु भन्नेले
छुरा रोपी पिठ्यूँमा घात गरे पछि के गर्ने ?

पछ्यौरीले आँशु पुछी 'म छु' भन्नेलाई
आफ्नै रुप रङ्गको मात लागे पछि के गर्ने ?

न्यानोपन दिई छुट्टै संसार बसाउछु भन्दा
तातो हावाको राप लागे पछि के गर्ने ?


-सिटिजन बैक ईन्टरनेशनल लिमिटेड
काठमान्डौ
ईमेल: gobi31@gmail.com

कबिता













मृत्यु

-दिलिप योन्जन
मस्त जवानीमा
सात समुन्द्रपारी
कल्पनामा डुब्दै
यातनामा जल्दै
सम्झनामा रुँदै
एकान्तमा भुल्दै
रुन्चे हाँसो हाँसेर
मान्छेहरुको भिडमा
ज्यानको बाजी लगाएर
युद्दको तयारीमा
मेसिनगन पड्काएर
नाङ्गो खुकुरीको भरमा
बहादुर हुन्छौ.............?

सीमारेखा पारिको देशमा
चुप चाप कति बस्ने
हामी गधा होइनौ
जति भारी बोकाए पनि हुने
जमिन्दारको जग्गा हैन
ठेक्का र अधियाँमा लाग्ने
किनबेच हुने
सिठीको भरमा होमिनु पर्ने
बीरता बेच्नु पर्ने
रुन्छ,यो आत्मा रुन्छ ।

पाखा पखेराले सोध्छ
बनपाखा सुसाउँछ
चाड पर्बले खोज्छ
दियो रुँदै पिलपिल जलिरहन्छ
सयपत्री र गोदावरीको माला उनेर
दिदी बहिनी बाटो हेरिरहन्छन् ।

तर तिमी हातमा मेसिनगन बोकेर
कमरमा खुकुरी भिरेर
कुन साहेब वा सिमाना
मृत्युबाट डराई-डराई
काहालिलाग्दो ठाउँमा
खाई-नखाई
खुल्ला आकास मुनि
सुनसान सुनसान सडकमा
त्रसित मुद्रामा
न रात न दिन।

छुटी र हाजिरीमा
मस्त जवानी बित्छ
कहाँ कुन बेला मृत्यु
बम बिच्छ्याएका डोबहरुमा
नाङगो खुकुरी टल्काएर
आत्मा नमानी नमानी
रगत सहितको खुकुरी
बिरानो माटोको लागि
मृत्युको पीडाले छटपटिई
मुखभरि रगत च्यापी
सम्झनामा दुई थोपा आँसु
बेदनामा डुबेर
बालुवा र पखेरामा लड्दै
रितो हातसँगै
खोक्रो तक्मा थापेर।

फर्किने त फर्किए
नफर्किने हराए
सुनसान बगर अनि सहरमा
चुपचाप उभिरहेछ
आश्चर्य मान्दै प्रश्न गर्छ-
बहादुरी के को लागि ...?
मर्नु के को लागि .....?
कुन माटोको लागि .....?
कुन अधिकारको लागि ......?

सडक रक्ताम्य छ
आफ्नै खुकुरी र गोलीले
रगत जताततै बग्दै छ
पाइला राख्ने ठाँउ छैन
रुदैछ कराउदैछ
बाच्ने आसा लिएर
के थाहा लडाकुहरुलाई.......?
यो कस्को रगत हो........?
किन जीबन बलि चढाउदैछन् .........?
कस्को माटोको लागि ............?
न त रगतको महत्व छ
न त माटो नै रंगिएको छ
न त खोसिएको अधिकार फिर्ता हुने हो
न त हाम्रो झन्डा नै फहरिएको छ
न त समानता र स्वतन्त्र नै छ
न त माटोमा समान हक अधिकार नै छ
त्यहाँ त मान्छेहरुको
केबल मृत्यु मात्र हुन्छ।


-अस्टिन, अमेरिका

संस्मरण

पेम्वागुरु अब संझनामा मात्र रहनुभयो

-जाङ्बु शेर्पा
मध्यरातमा मजदुरी जीवनबाट लखतरान भएर म युद्धमा हारेको सिपाही जस्तै लुखुर्र-लुखुर्र फर्किरहेको थिएँ । खल्तिमा रहेको मोवाइल अचानक भाइव्रेटकोधुनमा उफि्रन थाल्यो । को होला भनेर यसो हेरें कोलोराडोबाट मित्र सोनामको फोन रहेछ । सदाभन्दा उनको आवाजको कम्पन पृथक थियो । उनी लगतार त्यहि आवाजको धुनमै भन्दै थिएँ थाहा पायौ ? बुढा गुरुजी बित्नुभयो रे ।

भुवाँदर स्विटर । लाहुरे छालाको बुट । नाइलनको कमिज । नाइलनकै पाइण्ट शौम्य मुहार । सरलताको जीवन । यस्तै यस्तै रुपमा प्रकट हुने नौ लेखजस्तो ठिङ्ग उभिएको त्यो पेम्वा सरको स्वरुप नयन अगाडी फनफनी नाँच्न थाले ।

पलभरमै म शून्य भएँ । उनको आवाजको कम्पनलाई अन्दाज गरेरै मैले लख काटिसकेको थिएँ कुनै अनिष्ट घटना पो घ्टयो की । कुराको मेसोलाई वीट मारेर म स्तव्धताको मुडमा एकैछिन गमिरहें । उर्फ ! मृत्यु । कस्तो अदृश्य ? तर एक दिन सवैले धर्तीको कुनाबाट हिंड्नैपर्छ यसरी चित्तमा अडिए म ।

मित्र सोनाम आवाज कानमा गुञ्जिरहयो । पेम्वा सर त खस्नु भयो रे ! झण्डै दुइ वर्ष एक अन्तर्वार्ताको सिलसिलामा मेरो भेट भएको थियो । उ मेरो मनको अड्कल भन्थ्यो अझै पेम्वा सर थप बीस वर्ष बाँच्नेछ । दुर्भाग्यबस मेरो अड्कलले मृत्यू सामू पराजीत भयो ।

उदासिले रेटेको मन एकैछिन फेरि गमें । यो धर्तीभन्दा टाढिसकेका पेम्वा सरलाई अब मैले भेट्न नपाउने भो । अर्थात यो धर्तीको कुनै कुनामा पेम्वा सरलाई चाहेर पनि भेट्न पाउने छैन । सायदै मृत्यूको परिभाषा नै यहि पो हो कि मनभित्र उम्लिदै थियो ।

समय मध्यरात भएर लम्कदैछ । सारा जगत नै अँध्यारो । त्यसमाथि पेम्वा गुरुजीको मृत्यूले थकित यो जड शरिरलाइ झनै कालो वनाइदियो ।

मनका आँखाले अतीततिर फर्केर हेर्दा त्यो खुम्वू एउटा ढुङ्गे पाखा न थियो । जताततै छेकिएको अँध्यारो । टन्टलापूर घाममा पनि उहि छायाँ । माथि नियाले मात्र निलो आकाश । तल पाखा धर्ती । चेतनाको विउ त छदै थिएन । त्यस्तो चेतनाहिन वादलभित्र पेम्वा सर ज्ञानको एक गह्रौं झोला बोकेर प्रवेश गरेका थिए ।
पेम्वा सरको खुम्वू यात्र नि अनौठो छ । हिलारीले चोमोलेङ्मो आरोहण गरि धर्ती नै हल्लाइरहेको बेला उनै हिलारी बाजेको विश्वासीको रुपमा दार्जीलिङबाट अक्करे भिरहरु छिचोल्दै चौरी चर्ने चौंरिखर्कमा उनको अवतरण भएको थियो । पेम्वा गुरु यसलाई खुम्वू आगमनको मिठो संयोगको रुपमा ठान्थें ।


त्यस्ता, चौंरी चर्ने खर्कहरुलाई निखन्दै चेतनाको टहरो उनै पेम्वा सरले गरेका थिए । टहरो नहुँदा कहिले जाडो याममा न्यानो चौरमा र गर्मीमा रुखको छाँयामा सितलता ताप्दै शैक्षिक जागरण गरे. । विद्यार्थीलाई आकर्षण गर्न विभिन्न प्याकेज लिएर घरदैलो नै गर्थे । पढाउनको निम्ति उनले शिष्य वटुल्न प्रहरीसम्म पनि गुहारे । यस्तैयस्तै संघर्षले खुम्वुमा चेतनाको विउ र्छर्ने सम्भवत पेम्वा गुरु एकला हुन । यसरी नै उनले खुम्वमा कखग र एवीसी को लहर चलाएका थिए ।
उनको आगमनले वास्वमा शिष्यमा मात्र नभएर गाउमै पनि नयाँनयाँ कार्यकलाहरु भित्रिए । सामाजिक सत्सङ्गका नयाँ ढोकाहरु उगारे ।
लगनशीलता र इमान्दारिता, अनुशसान पेम्वा गुरुको अर्को पाटो हो । हुन त खुम्वूको शिक्षाको निम्ति कति गए कति आए खमसै गन्ति नै थिएन तर पेम्वा गुरु भने सदा आफ्नै भावनामा त्यहि अडिग हुँदै शैक्षिक अखडा निर्माण गरेरै छाडे । यसैमा उनी बाँचिरहे । बाँचिरहनेछ ।
जीवन आधा भन्दा बढि घामछायामा चौंरीखर्कको महेन्द्र ज्योति मा.बि .मा विताएको पेम्वा सर वास्तवमा एउटा अटल हिमाल भएर वाँचेको छ । हो, पेम्वा सरको अर्का नाम हिमाल हो । जो कहिल्यै ढुलमुले भएर ढल्ने छैन । वरु एक प्रिय मार्गदर्शक भएर वाँचिरहनेछ ।
विखण्डनकारी, चाकारी, चाकरी, चाप्लुसी, चाटुका र दलालले मात्र चर्चा । चोर फटाहहरुको मात्र चर्चा । पजेरो राजनीति गर्नेहरुको मात्रै चर्चा र मानसम्मान पाउने नेपाल खाल्डोमा विचार पेम्वासरहरु जस्ता शिष्ट सरलता र स्वभमिानी के नै पो खाँचो छ र ?
तर पनि त्यत्रो सेवाभावको दौडानमा पेम्वा सर कहिल्यै सम्मानको भोको भएनन । वरु कामको भोको वनेर अघि वढिरहे । यतीखेर श्रद्धा र शोकको मसीले यी हरफहरु लेखिरहदा मेरो मनको पत्रभित्र पेम्वाको त्यो स्वरुप प्रकट भइरहेको छ । एउटा प्रेरणादायी स्मृतीको लहरको रुपमा पेम्वा सर मेरो मनमा रहिरहनेछ ।


उनद्धारा दिएका प्रेरणा वचनका चाङहरु मेरो जिवन पथमा गुरुवचनको रुपमा लागू भइरहनेछ । अन्तमा मेरो प्रेमिथियस, असल गुरु, असल प्रणेता, मेरो मनको हिमाल पेम्वा सर मेरो सानो हृदयमा एक अजम्वरी गुरु मित्रको रुपमा रहनेछ अनि रहिरहनेछ ।


-क्यालिफोर्निया, अमेरिका

कबिता









हल्लै हल्लाको देश

-आचार्य प्रभा
सधैं हल्लै हल्लाको देश भो नेपाल
कोही बिद्रोह ओकल्छन्
तोड्फोड गरेर,
कोही मौन छन्
आँफैलाई धिक्कारेर
कोही लुछाचुँडीमा ब्यस्त छन्
पद्लोलुप्ताको निम्ति,
कोही नारा लगाउछन्
अधिकारको अभिप्शामा
यसरी नै नौटङ्कीको
बजार बनेर बाँच्न वाध्य छ हाम्रो देश,
कुनै गन्तब्यबिनाको
बटुवा झैं बनेको छ -
हाम्रो भाषा अनि हाम्रो भेष
खै !कसरी भन्न सकिएला ?
यो रोगको निराकरण
होला भनी,
खै !कसरी सोंच्न सकिएला र ?
'जननी जन्मभुमीश्च स्वर्गदपी गरियसी'
अब फेरि भनी ........ ।



-अमेरिका

Wednesday, May 13, 2009

गीत













कस्तो माया लाएछु

-केदार श्रेष्ठ 'गगन'
यो कस्तो माया लाएछु विना पानीको कुवा धाएछु
एकोहोरो मायालाई निष्ठुरीको यादमा पागल भएछु ।

मलाई हेरी मुस्काएर एक वचन मीठो वोलीदिदा
त्यसैमा लठ्ठिएर पागल भएँ उसले वाटो मोडिदिदा
मन छैन बाँच्न मर्न सकिदैन दोधारमा परेछु
संसार जित्छुझैँ लाग्थ्यो तर आफैसँग हारेछु ।

खेलौना भएछ मेरो माया उसको लागि केही क्षणको
पत्थर बनाईदेऊ मुटु ईश्वर नसम्झाई देऊ त्यो क्षणको
ऊ पर-पर भाग्दा-भाग्दै माया लाउन मै अघि सरेछु
ढकमक्क फुल्न चाहान्थेँ तर शिशिरमा झरेछु ।


-भीमस्थान -५, सिन्धुली
हाल: युएई

कबिता

तिम्रो तस्बिर

-अरूणबहादुर खत्री 'नदी'
तिम्रो सुन्दर मुहारको
सजिएका तस्बिरहरू
हरेक साँझ, हरेक बिहान
निहालेकै हुन्छु
हरपल तिम्रो याद बोकेर
मुस्कुराइरहेकै हुन्छु
तिम्रो अन्तःस्करणका
कोमल मनहरूमा
तिमी कहिल्यै नओइलिने
सुगन्धित फूलसरि छौ
आफ्नो मनभित्रका भावनालाई
कवितामा उतार्ने गर्छु
मुटुका पानाभित्र
कविता कोरेर तिम्रो सम्झनालाई
जतनसाथ राखेको छु
हरेक कविताका हरफमा
केवल पीडा सँगालेको छु
प्रतिविम्ब आफ्नै पाउँदा
मेरा आँखाबाट अविरल
आँसु बगिरहेकै हुन्छ, निरन्तर निरन्तर ।



-सामाखुशी, काठमाडौँ
(साभार: मधुपर्क )

कबिता











पल्टाई देऊ अतितका पानाहरु

-रेखा सुब्बा 'अन्जान'
कति गाउनु यहाँ म एकान्तमा एक्लै बसी
मिलन पछि बिछोडै बिछोडले समेटिएको गानाहरु
कहा हिडी रहेछौ तिमी आऊ न मेरो छेउमा उडी
तिम्रो गोरेटोहरु कुरी बस्दा रसाई सके मेरा आँखाहरू
कति पोखाउँ यो आँशु झरनाको पानी सरी
ओइलाई सके यो निश्छल मन भित्र मिलनका आशाहरु
जीबनका हर दु:ख र सुखका पाईलाहरुमा हिडी
लेखिदेऊ न मलाई यो जिन्दगीका कथाहरु
बेदनाले भरिएको यो अन्तर्निहित भावनालाई बुझी
रित्याई देऊ न मलाई यो आत्माका गम्भिर ब्यथाहरु
तिम्रो मेरो आँशु -हासोका सुमुधुर सङ्गितहरुमा भुली
मलाई पनि गाउनु मन लाग्यो यो पिरतीका भाकाहरु
हिजो हामी कति धेरै रमाइलो क्षणहरु हिडेका थियौ हासीखुशी
एकपल सुटुक्क आई यहाँ पल्टाई देऊ न है मलाई
हाम्रो त्यो मिठा अतितका पानाहरु....... ।



-ताप्लेजुङ
हाल: हर्जेलिया,इजरायल

गजल











-गोबिन्द प्रसाद उपाध्याय
धोकाले ग्रसित मन बुझाउँ कसलाई
डढेलो लागेको मन बुझाउँ कसलाई

मुटुमा चस्केका छन् ती बाचाहरू
कोशेली बनाएर बुझाउँ कसलाई

जाँतोमा पिल्सिएको बस्तु भएर
निसासिएका भावना बुझाउँ कसलाई

पानी बिनाको माछी जस्तै बनेर
तड्पिरहेका मुस्कानहरू बुझाउँ कसलाई

सुकेका पात भएका सपनाहरु सँगै
मूर्छा परेको जीबन बुझाउँ कसलाई


BM-Kamaladi Branch/Branch Coordinator/Project Manager
Citizens Bank International Limited, Kathmandu
PO Box.19681 PH:4262699 Ext:113


गीत













छुरीले चिरे नि

-दिलिप योन्जन
दुखियालाई खुशी नमिल्दो रहेछ, जति नै गरे नि
हातको रेखा मेटिन्न रहेछ, छुरीले चिरे नि ।

भिजेको आँखा सुक्दैन रहेछ, जति नै पुछे नि
च्यातिएको भाग्य जोडिन्न रहेछ, भालाले सिए नि
दु:खीको खुशी लुटिन्दो रहेछ, दैब नै लागे'सी
हातको रेखा मेटिन्न रहेछ, छुरीले चिरे नि ।

मनको बाँध फुट्दो रहेछ, चोटै चोट लागे'सी
जिएको अर्थ नलाग्दो रहेछ, मान्छेले हाँसे'सी
दु:खीको दु:ख सकिने रहेछ, माटोमा मिले'सी
हातको रेखा मेटिन्न रहेछ, छुरीले चिरे नि ।


-अस्टिन, अमेरिका

Monday, May 11, 2009

कबिता









हामी रमिते बनिरहेछौ

-आचार्य प्रभा
प्रतिस्पर्धात्मक युद्धका योद्धाहरु हो
कति हेरौ हामी निरीह भएर
तिमीहरुको तमासा ?
भो हामीलाई अब हेर्नु छैन
युद्ध बिभीषिकाका तमासाहरू
हामीले सुन्नु पनि छैन
तिमीहरुको लुछाचुँडिका बादबिबादहरु
बस, हामीलाई त
चाहाना छ सुन्दर शान्त देशको
स्थायित्व,
हाम्रो त कामना छ
दीर्घकालिन शान्तिको,
तर... स्वार्थी योद्दाहरु तिमीहरुले त
हाम्रो विश्वासमा कुठाराघात गरिरहेछौ,
तिमीहरुले त हाम्रो अभिलाषामा
बज्रपात गरिरहेछौ,
खै!त नयाँ नेपालको सपना
हाम्रा आँखाहरुमा साकार
पार्न सक्यौ ?
न त तिमीहरुले
हाम्रा निधारहरुमा बीर गोर्खालीको
भाग्य रेखा नै कोर्न सक्यौ ?
बस...हामी पराजित भएर
निष्तब्ध बनिरहेछौ ,
हामी मौन भएर
तिमीहरुको नौटंकीको
रमिते बनिरहेछौ ।


-अमेरिका

कबिता

मच्छर

-मौलश्री लिम्बु
म बेवस्थित झुलदानी भित्र रहेर पनि
भुन्भुनाउदै जवर्जस्त
कतै बाट पसी
मेरो रगत चुस्न लग्गू
यी मच्छर
कहिल्यै चैनमा निदाउनसम्म नदिने
मेरो विभिन्न अवस्थालाई
डसेर जीउन चाहने
शायद्,यसैको निम्ति
जिईरहेको छु क्यार !
जवसम्म सन्तुष्ट पार्न सक्दिन
तवसम्म डसिरहने
यी मच्छर ।

बबूरो म,वाध्य छु
पन्सिन चाहेर पनि
मर्लान्त परस्पर भईरहने
त्यसैले आफ्नो रगत चुसाउन
किंञ्चित अपशोच छैन
थाहा छ मलाई
मच्छर जहिल्यै मच्छर नै हुन्छ
रगत चुस्नलाई
कहिल्यै अछुतो रहन सक्दैन
बिडम्वना,म पनि
दरिद्रको सदैव बनिरहेकोछु
मच्छर।

-झापा
ईमेल: maulshri_limbu@yahoo.com

Saturday, May 9, 2009

गजल











-राज लम्साल 'यात्री'
आलीमा बसी गुन्द्रुक र मकै खाको याद आयो
बर्षामासमा असारे गीत गाको याद आयो

परदेशीले मनलाई बैरी बनाउने परे नि
दशै र तिहारमा जमरा टीका लाको याद आयो

बिदेशमा बसी चार पांग्रे गाडी जति नै चिप्ले नि
हिउदो मास मियोमा गोरु दाको याद आयो

डाडा र भाटा , चोया र खर गरेर बन्दोबस्त
चुहिने छानो ओत लाग्न भनी छाको याद आयो

के गर्नु कर्म स्वदेशको याद गरेर बाँच्नु छ
आत्मामा सधै नेपालकै छोरो भाको याद आयो



-महारानी झोरा-३, झापा
हाल: युएई






गीत













चोखो माया
-नवराज सुब्बा
चोखो माया गाँस्नलाई कुनै दिन आउँला
इन्द्रेणीको बाटो गरि कुनै बेला आउँला ।

अजम्बरी फूल अझै फक्रेकै छ हातमा
तिमीलाई दिन भनि ल्याएको छु साथमा
वसन्तको रङ्ग बोकी कुनै बेला आउँला
इन्द्रेणीको बाटो गरि कुनै बेला आउँला ।

इसाराले बोलाएको आँखा झिम्क्याएको
मैले ठानें मलाइ नै भेट्न बोलाएको
यौवनलाई जिस्क्याउन कुनै बेला आउँला
इन्द्रेणीको बाटो गरि कुनै बेला आउँला ।

छाती अझै दुखिरा'छ कुल्च्या बेला जस्तै
प्यासी मरुभूमि आज छाती भयो उस्तै
नदीसित बग्दै बग्दै कुनै दिन आउँला
इन्द्रेणीको बाटो गरि कुनै बेला आउँला ।


-बिराटनगर



Thursday, May 7, 2009

गीत











म त एउटा अन्जान पर्देशी...

-राज राई 'संगम'
म त एउटा अन्जान पर्देशी हुँ ,
थाहा छैन मेरो यात्रा कहाँ हो।

दिन भर घुम्छु डुल्छु साँझ परे पछि कतै
मनको भारी बिसाउदै लडि दिन्छु त्यसै ।
चिसो हावा चल्छ यसै यति ठण्डि रात
ओझिएन मनको ताप बलिरैछ त्यसै ।

कहाँ होला भोली यात्रा गोरेटोनै छैन कतै
फर्किजाँउ भत्किएछ पहिरोमा बाटो आफै।
साँचिएको सुन्दर सन्सार क्षितिज पर उतै
दोबाटोमा भुल भयो चालिएको यात्रा यतै


-बिगुटार-४, सुर्के ओखलढुंगा
हाल: जार्शाह , युएई







कबिता









छिमेकी

-नाकिमा
कसले भन्छ ?
छिमेकीको साँढे पसेर
कोदोबारी दल्दैन ।

कसले भन्छ ?
छिमेकीले साँधको ढुङ्गा
अरुकोतिर सार्दैन ।

कसले भन्छ ?
कुकुर, छिमेकीकोमा
खीर खान जाँदैन ।

कसले भन्छ ?
सुगाले, छिमेकीको
राष्ट्रिय गीत रट्दैन ।

र कसले भन्छ ?
भारत हाम्रो छिमेकी हैन ।


-खोटांग
ईमेल: ebatika@gmail.com

Tuesday, May 5, 2009

गजल

- दिलीप घिमिरे ‘शर्मा’
मोरी खोज्दै कोरी पुगियो, भेटिएन काली हजुर
पाउ पर्छु बिन्ती गर्छु फकाइदिनोस् साली हजुर

हात दिए पुग्छ उनको, साथ दिने छँदै छु नि
आशीर्वाद दिनोस् बरु, नगर्नुहोस् गाली हजुर

भिखारी हुँ प्रेमको, गाउँ चहारी हिँड्ने होइन
थापेँ झोली सबै सामु, नफर्काउनोस् खाली हजुर

शुभ साइत शुभ लगन, ब्याँलो किन गर्नु अब
कन्यादान दिने भए, बजाउनुहोस् ताली हजुर

गाउँ कतै च‌र्‍या छैन, खाली सिउँदो भर्‍या छैन
सोझो यो ‘दिलीप’लाई नसम्झनोस् जाली हजुर

कथा

हर्कमान

-केदार श्रेष्ठ 'गगन'
उसको र मेरो एउटै गाउँ थियो । ऊ गाउँको पूजिपति थियो । जमिन्दार थियो । गन्नेमान्ने थियो । भद्रभल्हाद्मीमा गनिन्थ्यो । सबैजनाले उसलाई मान्थे । आफ्नो गाउँमा मात्र नभएर जिल्लाभरि उसको नाम चलेको थियो । गाउँघरतिर विकासका कामदेखि सानातिना झगडा मिलाउन उसको अनिवार्य उपस्थिति थियो । उमेर तीन बीस पुगुपुगु भएको ऊ देख्दै हट्टकट्टा र जवान देखिन्थ्यो । ठूला-ठूला आँखा लामा बाघजुङ्गा पालेका दौरासुरुवाल र टोपी लगाइ हिड्दा जस्तातस्ता मान्छे अगाडि पर्न पनि डराउँथे । तर रुपजस्तो वानी थिएन । साह्रै मिजासिला थिए । पाचायतकालमा पन्ध्र वर्ष प्रधानपाच भएको हुनाले पूराना मान्छे अर्थात वूढापाकाहरु प्रधान भन्थे । प्रजातन्त्रको पुनःस्थापनापश्चात दश वर्ष गा।वि।स।अध्यक्ष पद आफ्नो पक्षमा पार्न सफल भएकोले भरखरका मान्छेहरु अध्यक्ष भनेर सम्बोधन गर्थे उसलाई अर्थात हर्कमानलाई ।
हर्कमान र मेरो पिताजी एकदमै मिल्ने भित्रिया दोस्ती हुन् । उनीहरु प्रायःसँगै हुन्छन् । मेरा पिताजी उसको शारथी नै थिए । म हर्कमानलाई अंकल भनेर सम्वोधन गर्छु । पार्टीको कामगा।वि।स।sा मिटिङ्ग केन्द्रबाट प्रशिक्षण दिन आउने केन्द्रिय नेताहरुको गाँसबासको तयारीजिल्ला नेताहरुसँग भेटघाट जस्ता कार्यक्रमहरुको कार्यतालिकाको सूचि अटूट हुन्छ उनीहरुको गोजीमा । बेलुकीपख खाने र सुत्ने वेलामा मात्र घरमा झुल्कन्थे दुवैजना । दिनभर बाहिर-बाहिर घुम्ने हुनाले घरब्यवहार हेर्न त्यति भ्याउदैन थिए । त्यसैकारण मेरो घरमा मेरी आमाले र उसको घरमा हर्कमान अंकलनीले घरब्यवहार सम्हालेका थिए ।
हर्कमान दम्पतीका एक छोरी र दुई छोरा थिए । उनीहरुको कोखबाट पहिलो सन्तानको रुपमा छोरी वर्षाकॊ जन्म भएको थियो । त्यसैले उनीहरुले आफ्नो प्राणप्यारी एक्ली छोरी वर्षालाई आफ्नो घरबाट पराई घरमा दुई तीन वर्ष अगाडि नै पठाइसकेका थिए । उनीहरुको जेठो छोरो स्नातक सकेर स्नातकोत्तर अध्ययनको लागि प्रवेष परीक्षा दिएर बसेको थियो । कान्छो छोरो भने आइ।ए।पढ्दै थियो । हर्कमान दम्पतीका जेठो छोरो साह्रै राम्रो थियो । रुपमा र व्यबहारमा कही खोट लाउने ठाउ पाइदैन थियो । कसैलाई नराम्रो वोलीले बोलाउदैनथ्यो । अर्थात कसैलाई भनि बिजाउदैन थियो । कसैको केही बिराउदैन थियो । बोल्दा सोचेर बोल्थ्यो । तडकभडकमा पनि त्यति मन जादैन थियो उसको । रुपअनुसारको वोली वचन र ब्यवहार थियो । जस्तै मान्छेलाई पनि आफूतिर आकर्षित गर्न सक्ने खुवी थियो उसमा । उसको दिल र दिमाग आकाश जस्तै ठूलो र खुला थियो । त्यसैले सबैजना उसको असली नाम दयानन्द भएपनि आकाश भनेरै बोलाउने गर्थे ।
दयानन्द उर्फ आकाशको वानी ब्यवहार देख्दा गाउँका केटाहरुका अभिभावकहरु उसको जस्तै ब्यवहार गर्नको लागि अभिप्रेरित गर्दथे । रउनीहरु अनुकरण गर्न पनि खोज्थे । तर सक्दैन थिए । उसको पछि लागेर प्रेम प्रस्ताव राख्दै धेरै नखरमाउलीहरु आए तर तिनीहरु सबै असफल भए । राम्रा-राम्रा केटीहरु उसको पछि लागेको देख्दा झन् केटाहरु ईश्र्या र डाहाले भुतुक्कै हुन्थे । यस्तो छोरालाई जन्म दिने आमा र त्यस्तो भल्हाद्मीको श्रीमति भने कर्कश स्वभावकी थिइन् । बोट गुनाको फल भन्छन् । तर यो भनाई भने ऊ माथि लागू हुँदैन थियो । गाउँघरतिर प्रायः सबैसँग आकाशको आमाको वोलचाल थिएन । आफ्नो सम्पति र लोग्नेको घमण्ड गर्थिन् । आकाशको आमा एकपल्ट बोल्दा एकजना दुश्मन हुन्थ्यो । अर्थात एक वचनमा ऊसँग नबोल्ने मान्छेको संख्यामा एक थपिन्थ्यो । तर हामीहरुसँग भने राम्रै थियो । उनीहरुको घरमा केही अप्ठेरो परे हाम्रो घरमा सल्लाह माग्न आउथे । हामीलाई अप्ठेरो परे उनीहरुकहाँ सल्लाह लिन हामी जान्थ्यौ । ऐँचोपैँचो चल्थ्यो हामीहरुसँग मात्र । हर्कमान अंकलनीले गर्दा ।
आकाशको विवाहको कुरा गरेको उसको वावुआमाले दिदी वर्षालाई अन्माएको भोलिपल्ट देखि नै हो । आजसम्म विहे हुन सकेको छैन । आकाशलाई पनि विहे गर्ने मन छैन । ऊ भन्छ-ूआफ्नो खुट्टामा आफैँ उभिन्छु अनि मात्र विहे गर्छु ।ूतर त्यत्रो उमेर खाएको र पढेलेखेको मान्छे आफ्ना वावुआमालाई सम्झाउन सक्दैन थियो । आमावावुको कुरा काट्न पनि सक्दैन थियो । आकाशलाई केटी दिन उसको योग्यता र उमेर अनुसार राम्रै घरहरुबाट आएका थिए । तर आमाको घमण्ड र सम्पतिको दम्भले गर्दा कुरा अघि बढ्न नपाउँदै टुङ्गिन्थ्यो । फेरि केटी हेर्न पनि हर्किनी अंकलनी नै अगाडि लाग्थिन् । केटी हेर्ने र छाड्ने काम पनि धेरै भइसकेको थियो । आकाश आजित भइसकेको थियो । उसको आमाको ब्यवहारले गर्दा । गाउँका मान्छेहरु भन्थे-हर्किनीले कस्ती वुहारी ल्याउदी रहिछिन् यही आँखाले देखिएला त नि ।
आकाश र म सधैँ सँगै हुन्थ्यौँ । खाना आ-आफ्नै घरमा खाए तापनि सुत्ने बेलामा एउटै घरमा सुत्थ्यौँ । कहिले म उसको घरमा जान्थेँ । कहिले ऊ आउथ्यो हाम्रो घरमा । ऊ आज अलि ढिलो आयो । म उसको मुहार अँधेरो देख्छु । उसको पूर्णिमाको जूनजस्तो अनुहारमा ग्रहण लागेको जस्तो थियो । म उसको मलिन अनुहार देखेर सोध्छु-'सन्चो छैन हो आज तलाई ?'
-सन्चै छ ।ऊ भन्छ ।
-आमाले नराम्रो केही भन्नुभयो कि क्या हो म फेरि सोध्छु ।
-केही भन्नुभएको छैन ।छोटो उत्तर दिन्छ ।
-अनि किन अँध्यारो मुख लगाएको त मलाई किन ढाट्छस् ? हेर् आमाबाबु भनेको त भगवान सरह हुन् । सानातिना कुरामा चित्त दुखाउनु हुँदैन । फेरि त्यस्तो नराम्रो कुरा पनि त भन्नुहुन्न होला नि । ढाटेको जस्तो लागेर सम्झाउनलाई म एकोहोरो बोलिरहन्छु ।
-अव त पनि कचकच गर्न थालिस् हैन । चुप लागेर सुत् ।
ऊ झर्केर बोल्छ । उसलाई धेरै बोलेको मन पर्दैन । आफू पनि कम बोल्छ । एकछिन् चुप लागेर बस्छु ।
-ए भन् न भन् । मनमा पीडा राखिरह्यो भने जलन हुन्छ भन्छन् । मनमा कुरा गुम्स्याएर राख्नुहुन्न । अझै सम्झाउँछु ।
मैले धेरै कर गरे पछि ऊ भन्छ-'मेरो विहे गरिदिने 'भए । पीडा भावमा भन्छ ।
-'विहे गरिदिन खोज्दा पनि पीर मान्नु पर्छ त जे भए पनि तेरो बाबुआमाले वैंशको ब्यथा बुझेका रहेछन् । आफूलाई त हाम्रा बाबुआमाले वास्तै गर्नुहुन्न ।' म उसलाई जिस्क्याउँछु ।

आकाशको विहे हुन्छ । हर्कमान अंकल वुहारी भित्र्याए पछि खुसी नै देखिन्छन् । अंकलनी भने अति खुसी देखिन्थिन् । किनभने छोराको विहेमा वुहारीले ल्याएको दाइजो जति गाउँका अरु कसैका वुहारीहरुले ल्याएका थिएनन् ।
विहे गरेको दुई तीन महिना पछि आकाश गाउँकै प्लस टुमा पढाउन शुरु गर्छ । हाम्रो ठाउँमा आफ्नो मान्छे भएपछि एम।ए।पास गरिरहनु पर्दैन प्लस टुमा पढाउनलाई । नभए एम।ए।मात्र नभएर पी।एच।डी।नै गरे पनि पढाउन पाउने सम्भावना ज्यादै न्यून हुन्छ । तर आफ्नै मान्छेको अर्थात बाबुको पहुँचबाट शिक्षक भएको भएता पनि ऊ विद्यार्थीहरु र अभिभावकहरुलाई आफूतिर आकर्षित गर्न सफल भएको थियो ।
आकाशकी श्रीमति मध्यम स्तरकी थिइन् । पहिला उसको रुप देखेर विहे गर्न मन छैन भने पनि उसको शील स्वभाब र वानी ब्यवहारले गर्दा ऊ श्रीमतिसँग सन्तुष्ट थियो । उनीहरुको विहे भएको एक वर्ष भन्दा अलि बढी भएको थियो । वच्चा हुने सुरसार थिएन । गाउँका आइमाईहरु खासखासखुसखुस कुरा काट्न थालिसकेका थिए । मैले सोद्धा दुई तीन वर्ष पछाडि मात्र पाउने योजना बनाएका छौ भन्थ्यो । हाम्रो समाजका मान्छेहरु अर्काको सानो कुरालाई पहाड बनाएर मच्चिमच्चि कुरा गर्न पाउँदा गौरवान्वित र आत्मसन्तुष्टि मिलेको अनुभव गर्छन् । त्यही पनि खास कुरा र बास्तविक्ता नबुझी ।
हर्कमान अंकलनीको ब्यवहामा पनि विस्तारै-विस्तारै परिवर्तन हुँदेथियो । वुहारीसँग झर्कोफर्को गर्थिन् । सधैँ खुसी देखिने ती अंकलनीको अनुहार आजभोलि अँधेरो देखिन्थ्यो । छोरावुहारीसँग पनि त्यति मिल्ति थिएन । छोरालाई अर्को विहे गर्न कर गर्थिन् । कहिलेकाहीँ आकाश आमासँग साह्रै रिसाउँथ्यो । पहिला विहे गर्दिन भन्दा दाइजोको लोभ र लालशामा फसी मलाई फसायौ । अहिले आएर फेरि अर्को भुङ्ग्रोमा हाल्न खोज्छौ आकाशको यस्तो कुरा सुनेपछि उसको आमा-ूलौ हेर यो त जोईटिङ्ग्रे पो भएछ । वाइफालेले मेरो त्यति सोझो छोरोलाई मोहनी पो लगाइसकिछूभन्दै आफ्नो कुराले जित्न नसके पछि डाको छाडेर रुँन थाल्थिन् ।
आकाशको आमालाई अर्काको चियो चर्चो गर्दै ठिक हुन्थ्यो । आफ्नो भन्दा बढी केही देखे रातभरि छटपटीमा वित्थ्यो । दिनभरि पेट कटकटी खान्थ्यो । मेरो काकाको छोराले विहेमा कार दाइजो ल्याएको थियो । रउनीहरुको विहे गरेको छ महिना नपुग्दै छोराछोरी हुने भइसकेको थियो । यो सबै देखेर ती अंकलनीलाई झन् डाहा र ईश्र्याले हुने आत्म पीडालाई कम गर्न वुहारीलाई सधैँ गालि गर्ने गर्थिन् । पिट्थिन् । जगल्ट्याउथिन् । विचरी आकाशकी श्रीमति चुपचाप सहेर बस्थिन् । यो देख्दा मलाई लाग्थ्यो-आइमाईहरुले वुहारी हुँदा वुहार्तन खप्नै पर्छ । सासूको खप्की खानै पर्छ । यो हाम्रो समाजको नियम हो । संस्कृति हो । चाहे जुनसुकै बहानामा होस् ।
एक दिन होइन दुई दिन होइन । लगतार उसलाई मानसिक र शारीरिक यातना दिन्थिन् आकाशकी आमा । रोएर बस्नु भन्दा अर्को उपाए ऊसँग थिएन । उसको सहारा भनेको आकाश मात्र थियो । हर्कमान वुहारीको पक्षमा भए पनि श्रीमतिको अगाडि निरीह देखिन्थ्यो । त्यसैले ऊ वुहारी माथि भएको अत्यचार हेरिरहन्थ्यो । आकाश भने घरमा थिएन । ऊ एम।ए।sा परीक्षा दिन काठमाण्डौँ गएको थियो । उसकी श्रीमति ऊ कहिले आउला भनेर उसको बाटो हेरेर बसेको थियो । तर हुने हार दैव नटारूभनेझैँ अव आकाशसँग कहिल्यै भेट नहुने भइसकेको थियो । दुई चार दिन देखि नराम्रो सपना देखिरहेको छु के भएको हो बाबु भनेर मलाई आकाशकी श्रीमतिले सोधेकी थिइन् । केही हुँदैन । एककाइसौँ शताब्दीमा पनि त्यस्ता अन्धविश्वासलाई बिश्वास गर्छन् । त्यो त उहिलेको कुरा खुइलिसक्यो । मैले भनेको थिएँ । तर त्यही सपना संकेत भयो आज । आकाश परीक्षा दिएर घर फर्कदै गर्दा विपरित दिशाबाट आएको सवारी साधनसँग ठक्कर खाई ऊ चढेको माइक्रो बस त्रिशुली नदीमा खस्दा उसको मृत्यु भएको खबर रेडियोटि।भी।बाट आयो । खबर प्रशारण हुनासाथ हर्कमान अंकल र म लगायत अरु दुई चार जना साथीहरु दुर्घटना भएको ठाउँतिर लाग्यौ । चार पाँच दिनसम्म प्रहरीहरुसँग मिलेर खोजतलास गर्यौ । तर लाश पाउन भने असफल भयौ । त्यसै हामी घर फर्कन वाध्य भयौँ । जिन्दगीको अन्तिम अवस्थातिर लम्कदै गरेको हर्कमान अंकल छोराको वियोगमा रुँदा साह्रै गाह्रो हुन्थ्यो सम्हाल्न उसलाई र आफैँलाई । हुन पनि कसरी चित्त बुझोस् वूढाको जवान छोराको अकालमा मृत्यु हुँदा । आकाशकी श्रीमति उसको मृत्यु भएको सुनेदेखि वेहोस भएकी दश दिन पछि मात्र होसमा आइन् । ऊ विक्षिप्त अवस्थाकी देखिन्थिन् । टोलाएर बस्थिन् । पहिले देखि नै त्यति नबोल्ने मान्छे अहिले त झन् कसैको मुखमा हेर्दा पनि नहेर्ने र बोल्दा पनि बोल्दैन थिइन् । उसको सासू भने सम्पूर्ण रिस ऊमाथि थुपार्थिन् । कहिलेकाहीँ रिस थाम्न नसकी उसको कपालमा पिङ्ग खेल्न पुग्थिन् । माइती आएकी आमाजु पनि आमासँगै मिलेर नानथरि गाली गर्थिन् । आमालाई गाली गर्न उक्साउथिन् । गाउँका आइमाईहरु पनि आकाशकी श्रीमतिको कुरा काट्थे । पोइ टोकुवाअलिच्छिनीघर भडुवा…………॥जस्ता विभिन्न उपनाम दिन्थे । चाहे धारामा पानी लिन गएको बेला होस् । चाहे कुनै घरमा जम्मा भएको बेला होस् । उसैको नाम उड्कन्थे । आकाशकी श्रीमतिको कुरा काटेर उनीहरुको दिन काट्ने बाटो भएको थियो । उसको पक्षलाई लिएर यथार्थ बोल्ने कोही थिएन त्यस गाउँ समाजमा । त्यस्तो सामाजिक परिवेशमा वाँच्न गाह्रो भइरहेको थियो उसलाई । माइती जान पनि सक्दिन थिइन् । त्यस समाजको मान्यता थियो-ूसेतो लुगा लगाउन्जेल अर्थात बरखी बारुन्जेल माइतीको धुरी हेर्नु हुन्न । कस्तो विडम्बना जस्तोसुकै समस्या परे पनि सम्पूर्ण कुरा पर्गेल्नु पर्ने स्वास्नी मान्छेहरुले । यो कस्तो नियम हो यो कस्तो सामाजिक संस्कार हो कुनै कारणवश स्वास्नीको मृत्यु भएमा न उसले सेतो लुगा लगाएर वर्ष कटाउनु पर्छ । न कसै न कसैको यादमा जिन्दगी ब्यतित गर्नु पर्छ । छ महिना नपुग्दै अर्को च्याप्नलाई यही समाज र संस्कारले लोग्ने मान्छेलाइ छुट दिएको छ भने स्वास्नी मान्छेलाई उसैको नाममा जीवनभरि बस्नु पर्ने गरी बाधेको छ । त्यसकारण आकाशकी श्रीमति पनि यही समाजयही संस्कृतिमा हुर्की बढेकी हुनाले यो सामाजिक वन्धनलाई तोड्न सक्दिन थिइन् ।
हर्कमान अंकल पनि आकाशको मृत्यु पश्चात बाहिर हिड्दैन थिए । राजनीति पनि पूर्ण रुपले छाडिसकेका थिए । पहिला जस्तो हँसिमज्जा पनि गर्दैन थिए । खुलेर त्यति कसैसँग बोल्दैन थिए ।

असोज महिनाको अन्तिम दिन थियो । अलिअलि कुहिरो झर्न थालिसकेको थियो । दशैँको रमझम पनि बढ्न थालिसकेको थियो । रिमरिम उज्यालोमा म घर पोत्नलाई रातो माटो भिजाउँदै थिएँ । हर्कमान अंकलनी रोएको सुनेँ । विहान-विहान किन झगडा गर्नु पर्या होला त्यो अंकलनीलाई पनि । विचरी आकाशकी श्रीमतिले कसरी दिन काट्लिन् । मनमनै सोच्छु । सधैँको जस्तै झगडा त हो नि भनेर म उतातिर जान्न । तर गाउँका मान्छेहरु उतैतिर दौडेको देखेर म पनि काम छाडेर लागेँ त्यतैतिर । आकाशको भाइ वेहोश जस्तै अर्धचेतन भइ बसिरहेको थियो । उसको आमा भने छाति पिटी-पिटी रोइरहेकी थिइन् । हर्कमान अंकलको मृत शरीर घर पछाडि आापको रुखमा झुण्डिरहेको थियो । आकाशको श्रीमतिको मृत शरीर मतानको कोठा भित्र लम्पसार थियो । सबै मान्छेहरु एकोहोरिएर निःशब्द हेरिरहेका थिए । त्यही हूलबाट मधुरो आवाज आउछ-आकाशको श्रीमतिको घाटीमा त औलाको डाम छ रे नि……॥म भने दौडन्छु प्रहरी चौकीतिर ।


-भीमस्थान -५, सिन्धुली