Saturday, November 15, 2008

कबिता

हातहरु आर्तनादमा...

-गणेश खड्का " प्रतिक्षा "
दिग्भ्रमित सपनाहरु पालेर
छाँया पाउने आशमा
बर-पिपल रोप्न
अभ्यस्त हातहरु
मूल बाटोमा
रगतपच्छे हुनेगरी
बाङ्गो काँढाले
घोचिदिएपछि
के गुनासो गर्नु कठै
बयर बनेका बर हरु सँग,
साबिक आयतनमा ठिङ्ग
प्रत्येक भित्ताका झ्यालहरु
र झ्यालका भित्ताहरु
मौनाकृतिमग्न
थाम,निदाल र दलिनहरु
निर्जिव कोठाका
चार दिवालहरु
मेरो उचाईको
मेरो फैलावटको
बर्खास्ती चाहन्छन् भने
के भरोसा गर्नु बरै
सँगै हिंड्ने सहयात्रीहरु सँग,
बिचार को पिण्ड नै त हो
भ्रम
सोचाईको खुम्चाई नै त हो
शंका
त्यो त्यसै मर्छ
बिष ठानेर अमृत पिउने,
अबिश्वासले धावा बोलिएको
मेरो विश्वासको इलाका
निषेधित क्षेत्र
घोषित हुन्छ भने
कस्तो ज्ञापन पत्र पेश्नु खै
भेट हुने चौतारीमा
कर्फ्यू लगाउने मनहरु सँग,
सेकेण्ड-सेकेण्ड मा
गठन -बिघटन भईरहने
सम्बन्धका समितिहरु
लवी,खेमा र बादमा
विभक्त हुन्छन् जब
जिन्दाबात र मूर्दाबात मा
रुमलिएको
अष्पस्ट सिद्दान्तहरु
दृष्‍टिकोणहरु
मेरै खिलापमा हुन् भने
के सार मिल्ला र खै
प्रतिद्वन्दी बनेका हातहरु सँग,
यदी सहनुको नाता
शान्ति सँग छ भने
बरु,
पोलिरहोस्
भग्न मुटु
आफ्नै सूरमा
बरु,
दुखिरहोस्
निर्दोष मन
वेहोसीमा
बरु,
चहर्याइरहुन
यी अपजसे हातहरु
आर्तनादमा...!

- तिवारी भञ्ज्याङग्-४, भोजपुर
हाल : भिक्टोरिया ( सिसेल्स )

Monday, November 10, 2008

गीत

ए मेरी सृस्टिकी माता

-देबिन बाबु राई
ए मेरी सृस्टिकी माता,
ए मेरी धराकी स्रस्टा,
सिर्जना थाम्ने संसारकी सखी

धनी मनकी तिमी यो गरिब जगतका
ए मेरी ................................
हात समाई पखेरु डुलाउने
महान आमा हौ तिमी देबी तुल्य
कसरी म चुकाउ तिम्रो दुधको कर्जा
कसरी म तिरु तिम्रो गर्भको मुल्य

यातना सहन्छ्यौ, जो मुटुमा छ आघात
स्विकार्छ्यौ अपमान्, जहान् आफ्नै छ बर्बाद
सन्तान रोए तिम्रो मुटु पोल्छ
भोग्दछ्यौ सधै बाध्यताको करकाप

ए मेरी ................................

लुट्पुटिदै तिम्रा काखमा मस्ति
मेटेथे मैले ममताको प्यास
तिम्रा हात समाई थालेकोथे मैले
आगनमा पहिलो यात्राको अभ्यास


ए मेरी जन्म जननी
ए मेरी ममताकी खानी
किन सुत्छ्यौ तिमी आगो भित्र मौन?
बन्छ्यौ किन यो रुप खरानी?
ए मेरी ................................


-बसाहा -१, उदयपुर

कबिता








म आदिबासी

-राज रोबर्ट अजनबी सुब्बा
ब्यबस्थाले थिचिएको
समानताले किचिएको
आफ्नो किपट खोसिएको
आदिबासी
लिम्बुवानको खोजी गर्दै .......
कन्दमुल् खाएर शहर आएको छु।

दोस्रो दर्जामा कहलिएको म
छातीमा यलम्बरको तस्बीर टासी
आजदको हुकारमा सपना ब्युझेको बेला
म सपना बाट ब्युझेको छु
सिङ्ग दरबार र बालुवाटारबाट
अस्विकृत भएको मा आदिबासी
आफ्नै लिम्बुवान खोज्दै
कफन् बाधेर शहर आएको छु

धार्मिक र साम्प्रादायिकको अहङ्कारले
घुन पिसिए झै पिसिएको म
अन्याय अत्याचार सहदै सहदै
काठमान्डौबाट अरुण तमोर खेदिएको म
मैले गुमाएको राज्य खोज्दै
तमोरको पानी पिएर शहर आएको छु।

मैले खोज्नु र भेत्नु छ
राणा महल भित्र जलेका मेरो ग्रन्थहरुलाई
साम्प्रादायिकताको मातले मातेका
मानब डाइनोसर हरुलाइ मास्नु छ।
मेरो ग्रन्थ जलाउने ति हातहरुलाई
सिरुपाते खुकुरीले तास्नु छ।

त्रिभुवन बिश्वबिद्यालय झै
मैले पनि फुलाउनु छ सृजङ्गा लिपि
लिम्बुवानमा
पसुपति बसे झै काठमान्डौमा
मैले पनि बसाउनु छ
तागेरा निन्वाफुमाङ् लाइ लिम्बुवानमा
नारायण हिटी बने झै काठमान्डौमा
मैले पनि बनाउनुछ
पारुहांग हिटी लिम्बुवानमा
बिजयदशमी नाचे झै मैले पनि नाच्नुछ
चासोक साकेला लिम्बुवानमा
महेन्द्र ठडिए झै काठमान्डौमा
मैले पनि ठड्याउनुछ
यलम्बरको सालिक् लिम्बुवानमा

हो ........ यो सब पुरा गर्न लाई
म आदिबासी जनजाती
फक्ताङ्लुङ्को सपथ खाएर
तिम्रो काठमान्डौ आईसकेको छु।

-मामाखे, ताप्लेजुंग

कबिता

'म '

-मौलश्री लिम्बु

भत्किएको मन्दिरको
अखन्ड दिप हु
म त यसै तेजस्वी छु
कहिले लत्याइएर
कहिले कहर लिएर
त्यसैले, ए सुन !
ममा कुनै चाह छैन
कसैको निम्ती ज्वलन बन्न
रहेको अङ्शलाई यतिमै रहन देउ
आखिर निभ्नु त मैले छैन
यो उपस्थितिले बरु अझ म
जिर्ण हुनेछु
किनकी कसैको निम्ति
म कदापी यथोचित हुन सक्दिन

यस्तै उपस्थितिले
फेरि-फेरि कुनै पनि मुसाफिरले
सहानुभूति नजताई
मेरो जिर्णावस्थालाई कुल्चिएर
गोरेटो बनाइदिने छन
शायद डहर बन्नेछु
त्यतिबेला
मेरो अस्तित्वले नै सोध्दो हो

नाजवाफ सवालहरु केलाएर
खुइ! काट्दो हु
आजकाल मैले
सबैको उपस्थितिलाई
अस्विकार गर्न थालेकोछु
फेरि सबैबाट पिल्सिएको छु
त्यसैले ए ! सुन भो फर्किएर जाऊ
मेरो समिप कहिल्यै नआऊ
ढाड्ससम्म चाहिन्न कसैको
मलाई यस्तै रहन देऊ
किनकी त्यसै नै
म भत्किएको मन्दिरको
अखन्ड दिप हु
म त यसै तेजस्वी छु ।

-झापा
ईमेल : maulshri_limbu@yahoo.com

गजल

-ठागु जि
तिमी पनि यतै रहिछौ देख्न मन लाग्यो
अब मलाई तिम्रो बारे लेख्न मन लाग्यो

अनुमती दिन्छौ होला पक्कै पनि तिमीले
फेरी पनि तिम्रै बाटो छेक्न मन लाग्यो

निकै राम्रो खबर सुन्छु तिम्रो नगरीको
तिम्रो डहर एक पटक टेक्न मन लाग्यो

यो मुटुको निलडाम अझै हराएको छैन
बरफ रुपी मायाले सेक्न मन लाग्यो

-लमजुंग
हाल : मलेसिया
०१६ ५४२४१८२

हाइकु

-डोलेन्द्र पौडेल
१) बिदेश यात्रा
स्वदेशी उपहार
मिठो मुस्कान

२) प्रतिबिम्बले
कल्पनामा डुबायो
अतीत क्षण

३) मायाको चिनो
आज पनि उस्तै छ
जाली रुमाल

४) बाग्लुंग काली
परेवाको भाकल
सम्झना र म

५) प्रगति राम्रो
शुभकामना मेरो
निश्छल राई

-बाग्लुंग
हाल: मलेसिया

Saturday, November 8, 2008

नियात्रा

साहित्यमय बन्यो वाराणसीको यात्रा

-जय छाङ्छा
एउटा सुन्दर, निष्कलङ्क वा वेदाग नाबालकको अनुहारमा अनुवाद भएर वाराणसीको बिहानी थपक्कै टासियो मेरा अबोध आखामा । मैले सुखद अनुभूतिका मुस्कान वरिपरि छरे वाराणसीको आगनभरि । डिसेम्बर २८, २००६ को बिहान साच्चै अलौकिक बिहानीजस्तै लाग्यो मलाई । रिमोट कन्ट्रोलबाट सञ्चालित हुने खेलौनाजस्तै अटोहरू -तीन पाङ्गे्र टेम्पो) सलल बगिरहेका छन् वाराणसीका रेलवे स्टेसन अगाडि । रिक्साहरू लहरै उभिएका छन् बिरालोले मुसा ढुकेजस्तै । स्टेसनमा हल्लाखल्ला छ बास बस्न लागेका चराहरूको आवाजजस्तै तर सबै कुराहरूलाई बेवास्ता गर्दै म भने नियालिरहेको छु वाराणसीलाई आखाको ज्योतिमा एक्सरे मेसिन जडान गरेर ।
मनभरि हास्यो वाराणसी । तनभरि खिल्यो वाराणसी । आखाभरि टासियो वाराणसी । आङभरि मगमगायो वाराणसी । आहा !! वाराणसी अमूक प्रेमीजस्तै भए म तिम्रो । तिम्रो मोहनी रूपले लठ्यायो मलाई । अ, साच्चि भन न कता पर्छन् हा ? बरुना र आसी नदीहरू ? जुन नदीहरूको नामलाई समास गरेर तिम्रो नाम प्रचलित भयो । भैगो अहिलेलाई थाकेको छु होटल जानु छ बिसाउन । अनि थकाई मेट्न र भोक हटाउन ।
रेलवे स्टेसनबाट बाहिरिएपछि लहुरावीरस्थित होटल अजय जान रिक्सा लिने काम गरे । हिजो उदय साहित्यिक पत्रिकाका सम्पादक दुर्गाप्रसाद श्रेष्ठसाग फोनमा कुरा हुादा मेरो निम्ति होटल अजयमा बुक गरिएको कुरा बताउनुभएको थियो ।
रेलवे स्टेशनबाट होटल अजयसम्म जानलाई भारु. बाह्र रूपियाामा रिक्सा लिएा । रिक्सामा चढेपछि इङ्गलिसिया लाइन, सरदार बल्लभ भाइ पटेलको स्मारक, मल दहिया, जनपद हुादै लहुरावीरस्थित होटल अजयमा पुर्‍याउने काम गर्‍यो । कवोल गरेअनुसारको रिक्साको भाडा भुक्तानी गरी होटल काउन्टरमा गए ।
मेरो निम्ति रुम नं. १४३ बुक गरिएको रहेछ । होटलमा सामान राख्नसाथ दुर्गा दाइलाई फोनद्वारा आफू वाराणसी आइपुगेको जानकारी दिएा । उहााले भन्नुभयो- "जय, नुहाइधुवाइ खानपिन गरेर तयार हुनुहोला । एघार बजे आइपुग्छु होटलमा । त्यसपछि वनारस हिन्दू विश्वविद्यालयतर्फ जाऔाला ।" दुर्गा दाइसाग फोन वार्ता सकिएपछि सुटकेसबाट लुगा कपडाहरू झिकी हेङ्गरमा झुण्डाउने काममा जुटेा म । लुगाहरूको हालत एकदमै नाजुक रहेको पाएा मैले । सरसर्ती हेरेाे लुगालाई । मेरी वाफरे Û लुगाहरूको हालत त एकदमै खत्तम रहेछ- मानौ कुनै निस्सासिएको मान्छेको जस्तो अवस्था । कुनै बिपत्तिमा परेको मान्छेको जस्तै हविगत Û मन नपरेको चीज जबर्जस्ती खानुपर्दा बन्ने मान्छेको अनुहारजस्तै । हिजो हतारमा लगेज तयार पार्ने काम भएकोले पनि यस्तो स्थितिको सामना गर्नुपरेको हो । नत्र यात्राका सबै सामान मिलाइदिने काम रत्नको हुने गथ्र्यो तर तिनी अहिले छोरा दिपेशसाग अमेरिकाको मेरील्यान्ड राज्यमा रहेकीले त्यो सम्भव भएन । त्यसैले जसोतसो सामान मिलाएर पोक्याएको थिएा आफैाले । मान्छे त्यत्तिकै परजीबी भइने रहेछ भन्ने कुराको ख्याल भयो अहिले मलाई । हिजो समय अभावको कारणले चाहिने सामान पनि छुट्याएर ल्याउन सकिना । त्यसैले कतिपय नचाहिने सामानहरू पनि ल्याएको रहेछु मैले । वास्तवमा यात्रामा निस्कादा फुर्सदले चाहिने सामानहरूको फेहरिस्त तयार पारेर योजनाबद्धरूपमा लगेज तयार पार्न सकेमा धेरै राम्रो हुन्छ तर यसपालिको यात्रा नै अकस्मात्मा जुरेकोले हतपतमा निस्कनु पर्‍यो । झटपटमा लगेज मिलाउने काम भयो । झागलझुगली पारेर बोक्ने काम भयो । त्यसैले पनि लुगा कपडाको हालत नाजुक हुन गएको कुरा स्वीकाराे मैले । लुगा कपडा मिलाएर राखेपछि नुहाएर ब्रेकफास्टका रूपमा पुरी, तरकारी, दही अर्डर गरे । साथै खाना खाने क्रममा वाराणसीमा मैले गर्नुपर्ने कामहरू समेत सरसर्ती सम्भिmने काम पनि गरे ।
होटल अजयको रिसेप्सनमा ठीक एघार बजे आइपुगी फोन गर्नुभयो दुर्गा दाइले । उहाले फोन गर्ना साथ रिसेप्सनमा आए म । अठ्सठ्ठी हिउद भोगिसकेका दुर्गा दाइलाई झट्ट हेर्दा त्यस्तो लागेन पटक्कै । युवावस्थाकै जस्तो जोश, जाागर र साहसले भरिपूर्ण भएका कर्मठ योद्धाजस्तै लाग्यो झलक्क उहाालाई हेर्दा । लाम्चो चेहरामा पावरवाला चस्मा पहिरनुभएका दुर्गा दाइलाई देख्दा नै अत्यन्त मिलनसार, परिपक्व एवं अनुभवले खारिएको विनम्र व्यक्तित्वका धनीजस्तै लाग्यो मलाई । भेट भएपछि नमस्कारको आदान प्रदान भयो हाम्रो बीचमा । हाम्रो चिनजान भनेकै साहित्यिक रचनाको आधारमा भएको थियो । न त उहाले देख्नुभएको थियो मलाई । न त मैले नै भेट्ने अवसर पाएको थिए उहालाई । तैपनि भेट्ने बित्तिक्कै आत्मीय र धेरै पुरानो समयदेखिको चिनजान भएकोजस्तै अनुभूति भयो मलाई । लेखनले सबैतिर पुल निर्माण गर्दो रहेछ । लेखनले परिचय गराउने रहेछ । लेखनले विश्वासको सिर्जना गर्ने रहेछ । त्यही लेखनको प्रभावले नै भोजपुरको बिकट गाउ वास्तिम र वाराणसीको चौखम्बा बीचमा हार्दिकता र मैत्रीभाव कहिले कहिले भइसकेको रहेछ । यसबेला मलाई लेखन शक्तिको सुन्दर रूपबारे ज्ञात भयो । सार्थक लेखनको गुण रहस्य थाहा पाएर द्रवीभूत भए म ।
यस्तैमा औपचारिक भेटघाटको क्रम सकिएपछि दुर्गा दाइले भन्नुभयो- 'अव बी.एच.यु. -वनारस हिन्दू विश्वविद्यालय)तर्फ जाने होइन त ? त्यसको लागि एउटा अटो रिजर्भ गरेको छु दिनभरिका लागि । तयार हुनुभएको भए निस्कदा कसो होला ?'
'म त दिल्लीबाट नै पूर्ण तयारी भएर आएको छु नि दाइ !' एकै छिन हास्यौ दुवै जना ।
त्यसपछि बी.एच.यु. का लागि प्रस्थान गर्‍यौ लाहुरावीरबाट । बी.एच.यु.को लङ्का गेट पुग्न होटल अजयबाट ठ्याक्कै चालीस मिनेट लाग्ने रहेछ । अहिले १२ बजेर दस मिनेट गएको छ समय । लङ्कागेटबाट भित्रिएपछि बी.एच.यु.को विशाल परिसरमा भित्रियो हामी चढेको अटो । दुर्गा दाइको निर्देशन अनुसार अन्तर्राष्ट्रिय छात्रावासमा पुगेर रोकियो हामी चढेको अटो । बी.एच.यु.मा दर्शनशास्त्रमा पी.एच.डी. गर्दै रहनुभएका झापा निवासी यदुनन्दन निरौलासाग भेट गर्‍यौा । उनी छात्रावासको ५८ नं. को कोठामा बस्दारहेछन् । आगामी जनवरी १०-१४,२००७ अर्थात् २०६३ सालको पुस २६-३० गतेसम्म 'रिमेम्बरिङ वी.पी.इन बनारस' कार्यक्रममा स्वयंसेवकका रूपमा सघाउन भन्नुभएको रहेछ दुर्गा दाइले यदुनन्दनजीलाई । जुन कामको लागि भनेर आफू आएको छु वाराणसीमा । त्यसैले यदुनन्दनजीलाई पनि साथै लिएर अन्तर्राष्ट्रिय विद्यार्थी परामर्शदाताको प्रोफेसर टी. आर. रावको कार्यालयमा गई उहााको पि.ए. पटेलसाग भेट गरी कुराकानी गर्‍यौा । त्यसपछि प्रो.रावसाग भेट गरी कलाकारहरू -पेण्टिङ बनाउन आउने अगैश्री रागिनीको दल) लाई बस्न युनिभर्सिटीकै आतिथ्य गृह पाउन, नाटकमञ्चन -सडक नाटक मन्चन गर्ने अशेष मल्लको समूह) का लागि हल उपलब्ध गराई दिन, नाटकको पूर्वाभ्यास गर्न चाहिने हल तथा पेण्टिङ प्रर्दशनीका लागि उपयुक्त हलको व्यवस्था हुनसमेत अनुरोध गर्‍यौ हामीले ।
प्रो.राव अत्यन्त सहयोगी एवं सद्भावनाको भावले परिपूर्ण भएको व्यक्तित्व हुनुभएको स्पस्टै झल्कन्थ्यो उहाको सौहार्दपूर्ण कुरा गराइले । आतिथ्य गृहको सम्बन्धमा नेपाली राजदूतावास, नया दिल्लीबाट औपचारिक पत्र आउनासाथ बुक गरिदिने र नाटक मञ्चनको लागि बी.एच.यु.का दुईवटा हलहरू 'उडुपा' र 'स्वतन्त्र भवन' मध्ये एउटा मिलाइने कुरा पनि बताउन पछि पर्नुभएन उहा । 'उडुपा' हलको क्षमता तीन सय पचास रहेको छ भने स्वतन्त्र भवनको क्षमता दुई हजार रहेको कुरा पनि स्पष्ट पार्नुभयो प्रो.रावले र 'उडुपा' तथा 'स्वतन्त्र भवन' जुन लिए पनि एक दिनको भाडा भने सात हजार पाच सय रुपिया रहेको बताउनुभयो । हलहरू हेर्नुहोस् र जुन अनुकूल हुन्छ त्यसलाई नै बुक गरौला भनी सल्लाह दिनुभयो हामीलाई । प्रोफेसर रावसाग कार्यक्रम वारे छलफल गर्दै मीठो चियासमेत पिउने काम भयो । एक किसिमले आगामी कार्यक्रमको पैसठ्ठी प्रतिशत कामको टुङ्गो लाग्यो । डा. रावसाग कुराकानी सकिएपछि फेरि भेट्ने गरी निस्कियौ हामी ।
बी.एच.यु. को परिसर एकदम बिशाल रहेछ । भवनहरूको बनावटको शैली, ढााचा वा बान्की एकै प्रकारको देखे मैले । एक प्रकारले कुनै कारखानाबाट उत्पादन भएको मालमत्ताजस्तै लाग्यो बनारस हिन्दू युनिभर्सिटीका भवनहरू । युरोप तथा अमेरिकातिरका भवन एवं घरहरू जस्तै । सबै भवनहरूमा अगाडि मोटर पुग्ने सुविधा रहेको छ भने प्रत्येक भवनहरूमा अगाडि मनग्यै बगैाचा लगाउन हुने गरी जमिन छोडिएका छन् । पहेालो र कलेजी रङ प्रयोग गरिएका छन् सबै भवनका बाहिरी भागमा । बाटोको दुवैतिर रूखहरू रोपिएका छन् रहरलाग्दो गरी । यसरी सरसर्ती बी.एच.यु.मा परिक्रमा लगाउादा यो कुनै विश्वविद्यालय नभएर व्यवस्थित गाउाजस्तै आभास मिलिरहेछ मलाई ।
यस्तैमा डिपार्टमेन्ट अफ पेन्टिङ, ˆयाकल्टी अफ भिजुअल आर्टस्का प्रमुख डा. आर. एन. मिश्रको कार्यालयमा पुग्यौा दुर्गा दाइ, यदुनन्दनजी र म । उहाासाग सामान्य चिनजान गरी प्रो. रावसाग भएको कुरा सुनाई पेन्टिङ वर्कशप र प्रदर्शनीका लागि हलको व्यवस्था मिलाई दिन अनुरोध गर्‍यौा । उहााले ˆयाकल्टी अफ भिजुुअल आर्टस्को हल नै उपयुक्त हुने कुरा सुनाउनुभयो हामीलाई । त्यसपछि सो हल निरीक्षण गर्न लैजानुभयो डा. आर. एन. मिश्रले । वर्कशप र प्रदर्शनीका लागि उपयुक्त हुने जचिएकोले फटाफट स्वीकृति जनायौा हामीले ।
अझै व्यवस्थापन गर्न बााकी नै छ नाटक पूर्वाभ्यासको लागि हल र नाटक मञ्चन गर्ने हलको निर्णय गर्न । त्यही सिलसिलामा नाटक पूर्वाभ्यासका लागि फ्याकल्टी अफ परफरमिङ आर्टस्का डीन प्रो. रञ्जना श्रीवास्तवको कार्यालयमा लैजानुभयो डा. मिश्रले ।
प्रो. रञ्जना अत्यन्त मृदुभाषी रहिछिन् । नवागुन्तकलाई पनि तुरुन्तै प्रभाव पार्ने क्षमताकी धनी रहिछिन्् तिनी । नाटकको पूर्वभ्यास गर्ने हलको खोजीमा आएका हौा हामी भनी डा. मिश्रले भन्नासाथ जुरुक्कै उठिन् प्रो. श्रीवास्तव । अनि आफ्नो अन्तर्गतको हल निरीक्षण गराउन लैजानुभयो हामीलाई । सानोतिनो नाटक मञ्चन गर्नकै लागि बनेको रहेको छ एउटा हल । त्यसैले नाटक पूर्वाभ्यास गर्नका लागि अनुपयुक्त हुन्छ भन्ने त कुरै आएन । यसरी मैले गर्नुपर्ने कामहरू बिघ्न बाधाबिहीन सम्पन्न हुन सक्यो वाराणसीमा एकाएक र खुसीका लहरहरूले निथु्रक्कै भिजेको अनुभूति भित्र हराएाझैा लाग्यो मलाई बिरानो वाराणसीमा ।
नाटक मञ्चन गर्ने हल तथा आतिथ्य गृहको निरीक्षण गर्ने कामबाहेक एक प्रकारको अन्य कामहरूको टुङ्गो लागिसकेको छ । यस्तैमा दुर्गा दाइले साहित्यकार सञ्जय वान्तवा पनि बी.एच.यु.मै कार्यरत रहनुभएको कुरा सुनाउनुभयो खुसुक्क कानमा । अझै थप्दै भन्नुभयो- बुभ\mयौ जय, सञ्जयजी बी.एच.यु.को नेपाली विभागको प्रमुख हुनुहुन्छ । भेट गर्ने कि ?' आश्चर्य मान्दै मैले भने- 'ओ हो दाइ, त्यसै त साहित्यकार, नभेटी कहाा हुन्छ र ? म उहााको कथाको राम्रो पाठक पनि हुा । धेरै पहिले पश्चिम सिक्किमबाट प्रकाशित हुने द्वैमासिक साहित्यिक पत्रिका स्रष्टाका सम्पादक केदार गुरुङजीले उहााको एउटा पुस्तक दिनुभएको थियो । त्यसैले यहाा आएर पनि नभेटी गएमा चित्त दुःखाई हाल्नुहुन्छ नि Û अनि नभेट्ने भन्ने त सवालै उठ्दैन दाइ ।' हुन पनि उहााको रचना पढेको छु तर भेट गर्ने साइत भने जुरेको थिएन मेरो । त्यसैले पनि आज खुबै आनन्द लागिरहेको छ मलाई । दार्जीलिङका कथाकार बी.एच.यु. मा भेट्न पाउनु भनेको मेरो निम्ति अपूर्वको अवसर हो ।
एकै छिन पछि डिपार्टमेन्ट अफ इण्डियन ल्याङ्गवेज रहेको भवन अगाडि पुगेर रोकियो हामी चढेको अटो । अटोबाट ओर्लिएर वान्तवाजीको कार्यकक्षतर्फ लाग्यौा । आप\mनो काममा व्यस्त हुनुहंादो रहेछ कथाकार वान्तवाजी । भेट भएपछि अभिवादन साटासाट गर्‍यौा । वान्तवाजी लाई भेट्दा अत्यन्त खुसी भएं म । सञ्जयजी पनि बहुतै खुसी हुनुभयो मलाई भेटेर । चिया पिउादै आपसी कुरा कानी गर्‍यौा हामीले । निकट भविष्यमा बी.एच.यु. मा हुन गइरहेको कार्यक्रम र साहित्यको सम्बन्धमा चर्चा परिचर्चा गर्‍यौा । हामी कुराकानी गरिरहेकै समयमा दुर्गाप्रसाद अर्यालजी पनि अइपुग्नु भयो । हाल उहाा बी.एच.यु.मा आगन्तुक प्रोफेसरको रूपमा अध्यापन गराउने कार्यमा संलग्न हुनुहुादो रहेछ । उहाासाग पनि चिनजान र कुराकानी गर्ने काम भयो । कार्यक्रमको लागि केही सहयोग गर्नुपर्ने भए भन्नुहोला भनी सौहार्द जनाउनुभयो अर्यालजीले । यसरी जति मान्छेहरूसाग परिचय भयो त्यति नै मान्छेहरूको सहयोगी भावना पाएर वाराणसीमा आफू नौलो र पराइ भएको अनुभूति गर्नसमेत पाइना मैले । तर वाराणसी मेरो लागि नौलो गन्तव्य थियो । अपरिचित अनुहारको भेल थियो । बिरानो भूमिको कल्पना थियो नयाादिल्लीबाट प्रस्थान गर्दासम्म तर जब वाराणसी आइपुगेा पटक्कै नौलो र विरानो भूमिजस्तो पटक्कै लाग्दै लागेन मलाई ।
वाराणसी बसाइको बेला कहिले चौखम्बास्थित सम्पादक दुर्गा दाइको घरमा डिनर त कहिले कथाकार सञ्जय वान्तवाको निवासमा लञ्च । साहित्यकार वी.पी.कोइरालालाई सम्झना गर्ने कार्यक्रमको यात्रा नै भयोे मेरो लागि बिशुद्ध साहित्यिक यात्रा । जताजता घुमियो वाराणसीमा र जतिसाग चिनजान हुन गयो वाराणसीमा प्रायः उहााहरू साहित्यकार भएको पाउादा अति नै खुसी लाग्यो मलाई । वाराणसीमा पुगेर परिचित हुनुभएका दुर्गाप्रसाद श्रेष्ठ, प्रतिष्ठित उदय साहित्यिक पत्रिकाका सम्पादक, सञ्जय वान्तवा, वाराणसी हिन्दू विश्वविद्यालयको नेपाली विभागका प्रमुख तथा सुपरिचित कथाकार, दुर्गाप्रसाद अर्याल, बी.एच.यु.को नेपाली विभागमा अतिथि प्राध्यापक तथा कवि एवं प्रो. रन्जना श्रीवास्तव, बी.एच.यु. कै फ्याकल्टी अफ परफरमिङ आर्टस्का डीन तथा परफरमिङ आर्टस्सम्बन्धी पुस्तककी लेखिका । यसरी वाराणसीको छोटो समयको यात्रामा कार्यालयले सुम्पेको कार्य सम्पन्न गर्नका साथसाथै विद्वान् तथा बिदुषीहरूसाग अन्तक्रिर्या गर्ने सौभाग्य मिल्यो मलाई । यसरी छोटो समयमा पनि धेरैभन्दा धेरै स्रष्टाहरूसाग भेटघाट र चिनजान हुन सकेकोमा अत्यन्त खुसी भएा म वाराणसीमा ।
हुन त यसभन्दा अगाडि कैयौा स्थानहरूमा यात्रा गरेा मैले तर यस प्रकारको यात्रा भने पहिलोपटक हुन गयो मेरो जीबनमा । त्यसैले पनि मैले यस पटकको वाराणसीको यात्रामा पशुपतिको दर्शन र सिद्राको व्यापार भन्ने आहानजस्तै चरितार्थ भयो भन्दा अतिशयोक्ति नहोला । किनकि कार्यालयको काम विशेषले वाराणसी आइपुगेको भए पनि धेरै साहित्यिक व्यक्तित्वसाग भेट हुदा कार्यालयको काममा नभई साहित्यिक कार्यक्रममा भाग लिन आएजस्तै भयो ।


-मितेरी मार्ग, बानेश्वर ।
हालः नया दिल्ली


लेख

कालीको गुनासो

-सन्तोष रिमाल
* कतै आफ्नो भुमरीमा आफैं पर्‍यौ कि
* आँखा छोपी नरोऊ भनी भन्नुपर्‍या छ
* झरेको पातझैं भयो उजाड मेरो जिन्दगी

कालीप्रसाद रिजाल हर्षले गद्गद् हुन्छन्, वर्षौंअघि रचिएका यी गीत अझै पनि प्रसारण माध्यमका रोजाइमा परेको देखेर । दुई/तीन दशक अगाडिका गीत यति सारो चर्चित हुनुलाई उनी कम्ती उपलब्धिमूलक ठान्दैनन् । फेरि उनलाई एउटा डरले पनि सताउँदो रहेछ, 'यदि ती गीत अहिले रचेको भए के हुन्थ्यो होला ?' जवाफ तयारी छ, 'डायरीमा थन्किएका अन्य धेरै 'गम्भीर' गीतकै हविगत हुन्थ्यो सायद । सबैले मन पराउने, तर त्यसलाई श्रव्य सामग्रीको रूप दिन भने अन्कनाउने ।' वर्तमान संगीतकर्मीको मानसिकता पूरै व्यापारिक पाएका छन् यिनले । 'त्यसवेला त नारायणगोपाल थियो, जसले शब्दको गाम्भीर्य बुझ्यो । अहिले त सबै कान्छा र कान्छीको गीत माग्छन्,' 'हल्का' गीतको बोलवालाप्रति उनको गुनासो छ ।
खहरेसँगै बगेर हलुका गीत रचेकामा पछुतो छ उनीसँग । र, साहित्यिक गीत नरोज्ने संगीतकर्मीप्रति गुनासो पनि । उनको बुझाइ छ, 'साहित्य लेख्ने गीतमार्फत हो ।' तर, अचेलका गीतमा उनी साहित्य भेट्दैनन् । रेडियो नेपाल मात्र हुँदा जति स्तरीय गीत बनेका थिए त्यसको अनुपातमा साह्रै कम साहित्यिक गीत उत्पादन भएका छन् जस्तो लाग्छ उनलाई अहिले । सुविधा छ तर सिर्जना छैन भन्न उनले धेरै बेर सोचेनन् ।
संगीत व्यवसायीका लागि उनको कलम गतिशील हुन छाडेको छ । उनले कारण देखाए, 'संगीतलाई व्यापार ठान्नेसँग त म कुनै हालतमा पनि सहमत हुन्नँ । अनि उनीहरूले भनेजस्तो व्यापारिक गीत कसरी रचूँ ?' पुराना गीतको उचाइ अग्लिनुको पछाडि उनले देखेको एउटै पक्ष हो, व्यावसायिक सफलताको लालसाबाट मुक्त सिर्जना । संगीतक्षेत्रमा देखिएको नयाँ तत्त्व 'व्यापार'ले स्तरमाथि असर पुर्‍याएको उनको ठम्याइ छ । रिजाल स्वयंलाई आफ्ना पछिल्ला गीत निकै कमजोर लाग्छ अघिल्ला गीतको तुलनामा । जतिखेर नेपाली संगीतक्षेत्रमा क्रियाशील थिए, शिवशंकर, नातिकाजी र नारायणगोपालजस्ता स्रष्टा । 'त्यतिखेरका संगीत साधना र तपस्याका उपज थिए । जति सिर्जना गरिन्थ्यो मात्र आत्मसन्तुष्टिका खातिर,' उनले भने, 'व्यापारलाई महत्त्व दिएर तयार पारिएका गीत-संगीतमा आत्मसन्तुष्टि कहाँ मिल्छ र !'
आत्मसन्तुष्टि नभेटेपछि कम गरेँ भन्छन् गीत रचना गर्न । उनलाई चलचित्रका गीतप्रति त झनै ठूलो विकर्षण रहेछ । आधुनिक गीतका तुलनामा साह्रै कमजोर लाग्ने चलचित्रका लागि रचना गर्न छाडेको लामै समय बित्यो भन्छन् । जाँगर नलाग्नुका पछाडि विभिन्न कारण रहेछन् यिनीसँग । मुख्यतः संगीतकारको व्यवहारमाथि नै उनको गुनासो छ । उनी गीतको स्तर खस्कनुको मुख्य दोषी देख्छन् संगीतकारलाई । 'राम्रो संगीत त सिर्जना गरेनन्, गरेनन्, शब्दको मर्यादालाई पनि ख्याल नगर्ने परिपाटीसमेत भेटेँ,' भन्छन् उनी धेरै संगीतकारमा । रेकर्डिङका लागि मुम्बई पुर्‍याउन सक्ने, भारतीय गायक/गायिकाको आवाज खरिद गर्न सक्ने, तर रचनाकारलाई उचित पारिश्रमिक दिलाउन नसक्ने संगीतकर्मीलाई उनका आँखाले 'निरीह' देखेका छैनन् । बरु अधिकांशमा हेपाहा प्रवृत्ति देख्छन् रिजाल । बाजा बजाएपछि गीत भइहाल्छ भन्ने सोच बोकेका व्यक्तिका कारण अरू धेरै रचनाकार तर्किएको पाएका छन् रिजालले ।'चलचित्र संगीतमा आफूलाई बादसाह सम्झने व्यक्तिसमेत हजार रुपैयाँखाले गीत लेखिदिन अनुरोध गर्छन्,' उनले एउटा तीतो अनुभव सुनाए, 'एकजना चलेका संगीतकार निर्देशकलाई लिएर मकहाँ गीत माग्न आए । रमाइलो र उदासी दुवै अवस्थालाई समेट्नुपथ्र्यो गीतले । गीतको अवस्था बुझेपछि मैले समय र पैसाबारे सोधेँ । उनीहरूसँग समय पनि दुई दिनभन्दा बढी थिएन र पैसा त पन्ध्र सयभन्दा बढी दिने छाँटकाँट देखाएनन् ।' त्यसपछि त निर्मातालाई गीत सित्तैमा पाइने चिज हो भन्ने सोच संगीतकारले भरिदिएका हुन् भनेर ठोकुवा गर्न सकेँ भन्छन् रिजाल । तर, समय र पारिश्रमिक दुवैमा सीमा तोक्ने ती चलचित्रकर्मीका लागि कस्तो गीत दिए त यिनले ? 'उनीहरूको सर्त सुनेपछि मैले एक घन्टामा आउनू, गीत दिन्छु । पैसा पनि एक हजार मात्र दिए हुन्छ । तर, त्यस गीतमा नामचाहिँ तपाईंकी श्रीमतीको राखिदिनुहोला भनेँ । त्यसपछि ङिच्च हाँसेर हिँडेका उनीहरू फर्किएर आएनन् ।'चलचित्रमा बम्बइया प्रभाव देख्ने रिजाललाई गीत पनि त्यसको असरबाट मुक्त छ जस्तो लाग्दैन । उनले चलचित्रकर्मीबाट सुनेका छन्, 'गम्भीर गीत चल्दैन, हल्का गीत राख्नु हाम्रो बाध्यता हो ।' व्यापारिक बाध्यता देखाउनेसँग उनी केही हदसम्म सहमत छन् । तर, त्यसका नाममा सबै गीतलाई हलुका बनाउनेप्रति भने चर्कै आक्रोश छ । 'पाँचवटामा एउटा गीत त स्तरीय राख्न सकिन्छ नि ! अहिलेका गीत हेर्दा त म कुनै कोणबाट पनि चित्तबुझ्दो पाउँदिनँ ।'श्रोता/दर्शकलाई दोष दिएर कमसल गीतको सिर्जनामा लागेकाहरूप्रति उनको प्रश्न छ, 'ती गीतले चाहिँ प्रशस्त व्यापारिक सफलता कमाएका छन् त ?' उनले बुझेका छन्, सिनेमाका गीतले खर्च नउठाउने कुरा । त्यसैले दर्शकको माग यस्तै छ भन्नेहरूसँग आफू असहमत रहेको उनले सुनाए ।रेकर्डिङका लागि सुविधासम्पन्न स्टुडियो छन्, प्रसारणका लागि प्रशस्त सञ्चारमाध्यम छन् । उनलाई लाग्दैन, कुनै खास कारणले नेपाली संगीतक्षेत्रको विकासमा अवरोध खडा भएको छ । दर्शकको रुचि जाग्ने खालका गीत सिर्जना नहुनुलाई नै उनी समस्याको जड मान्छन् । 'गीत भनेकै हिन्दी गीत हो भन्ने अवस्थालाई पार गरेर आएका मान्छे हामी । रेडियो नेपाल नै नखुलेको अवस्थामा हिन्दी गीतको बोलवाला हुनु नौलो कुरा थिएन । तर, रेडियो नेपालका माध्यमबाट मात्र भए पनि अग्रज स्रष्टाहरूले श्रोताको मस्तिष्कमा नेपाली गीत-संगीत भर्न सके,' तर त्यस इतिहासले वर्तमानमा निरन्तरता पाउन नसकेकामा दुःखी छन् कालीप्रसाद । स्तरीय गीतले श्रोता पाउँछन् भन्ने कुराको प्रमाण मान्छन् उनी गोपाल योञ्जन, शिवशंकर र नातिकाजीका सिर्जनालाई । ती गीत अहिलेसम्म अमर रहनुका पछाडि उनले देखेको एउटै कारण हो 'स्तरीयता' । वर्तमान संगीत उद्यमीले यो यथार्थ किन बुझेनन् त्यो भने कालीप्रसादले पनि बुझ्न सकेका छैनन् । निरासै-निराशाबीचमा पनि उनलाई आशावादी बनाएको रहेछ लोकगीतको विकासले । 'ग्रामीण भेगको दायराबाट माथि उठ्न नसकेको लोकगीतले हिन्दी गजल घन्किने रेस्टुराँमा स्थान ओगटेको छ,' उनी यसलाई लोक-संगीतले मारेको ठूलो फड्को सम्झन्छन् । 'विकृति यसभित्र पनि छ । तथापि, नेपालीपनको आभास दिलाउने भएकाले लोकगीतप्रति मेरो धारणा नकारात्मक छैन,' उनले आफ्नो धारणा पोखे । समयसँगै विकास भएका पप, हिपहप, रकलगायत जुनसुकै शैलीका गीतप्रति पनि धारणा सकारात्मक छ उनको । तर, सबैमा खाँचो देख्छन् नेपालीपनकै ।

उनका रचनाले श्रव्य स्वरूप पाउने सिलसिला घटेको छ । तर, उत्तिकै छ भन्छन् सिर्जनाको क्रम । गम्भीर गीत माग्न उनीकहाँ कोही पनि आउँदैनन् । उनी चाहँदैनन् हल्का गीत रचना गर्न । त्यसो भए उनका रचनाको उपयोगिता कसरी हुन्छ ? उनले जिज्ञासा मेटाए, 'सकेसम्म आफैं एल्बम निकाल्छु । नभए मेरा सिर्जना डायरीमा सुरक्षित रहन्छ, भावी सन्ततिको जिम्मामा । तर, मर्म नबुझ्नेहरूलाई म गीत दिन सक्दिनँ ।'


-ईमेल: nsantro@gmail.com
साभार: नया पत्रिका

कबिता

तिम्रो सम्झनामा

-नारायण खरेल
सृजना भित्र रचना राम्रा
नजरका जुहार
ईश्वरको हासो पाएको फूललाई
छोएर नमार
नगर कसैको प्रतिक्षा तिमी
जिबन त एउटा लास मात्र हो
नदेख कसैको सपना तिमी
प्रेम त केबल त्याग मात्र हो
मरेछु भने नाम होला
बाचेछु भने इन्जाम होला
कफनलाई उठाई हेर है प्यारी
ओठमा तिम्रै नाम होला
यो मेरो प्रेम अधुरो कथा
तिमीलाई के सुनाउ ?
बिरहमा रोई रोई डुबेको जीबन
तिमीलाई के देखाउ ?

-हाल:लण्डन,यूके
ईमेल्: narayan179@yahoo.com

Thursday, November 6, 2008

कबिता

बेबकुफ जीबन

-युबराज साम्पाङ "जेठा"
जीबन खोज्छु जिउनुमा
जिउन खोज्छु जिबनमा
अनि पाईला सार्छु



देखि फेरि
माथि- माथि
थि

मा
उद्देश्यको चुचुरामा
लक्ष्यको पाईला टेक्नु
छाप छोड्नु ।
डोबहरु नमेटिने गरी
पैताला खियाउदै
समयको रापमा सेकाउदै
कति शिकायत रिती
थुइक्क !
बेबकुफ जीवन?

कस्को लागि?
जिउनु जीवन
हँ?
खप्परले सोच्छु
अघिपछिका कुराहरु
गिदिभित्र डाउनलोड गर्दै
समयको कम्प्युटरबाट थपक्कै लगेर
मन मस्तिस्कमा
क्लिक्-क्लिक गर्दै लानु
जीवनलाई अनि
फर्-र्-र्-र्-र पल्टिदै
आउने पेजहरु देख्छु ,
समस्या-समस्या
समाधान गर्न खोज्छु
अह!
खै त!
अझै असफल
अझै अनबिज्ञ बन्छु झन
त्यसैले त जीवनलाइ धिकार्छु
थुइक्क !
बेबकुफ जीवन!

भिडहरुको बिच-बिचमा
सबैको माझ नेर खोज्छु जीवनलाई
खोतलेर आन्द्राभुडी
नङ्ग्र्याउन खोज्छु
खोस्रन खोज्छु
आफ्नै अनुहार
ऐना हेरी-हेरी
निर्दयी समयलाई
सत्य सराप्दै कत्ती?
जीवन-जीवन-जीवन भन्नु
ब्यर्थैमा
थुइक्क !
बेबकुफ जीवन !

ए !
सुन् तँ!
तलाई मैले के गरौ?
कहाँ खोजौ?
बास्तबिक जीवन
यसो गर्दा नि हुन्न
उसो गर्दा नि हुन्न
तँ साले कस्तो खालको?
पाटे छस् हो?
हँ !
कुनै कामको लागि
लायक भैइनस् हगी!
फिट नहुने नै भैइस् होइन त?
कतै कही नालायक तँ
बेबकुफ जीवन
थुक्क - थुइक्क !
बेबकुफ जीवन !

-खोटाङ
ईमेल : sampang_007@yahoo.com


Wednesday, November 5, 2008

गजल











-डोलेन्द्र पौडेल
खाने नुन छैन सुनको कुरा नगर
औसीको रातमा जुनको कुरा नगर

मुखमा राम-राम बगलीमा छुरा बोकी
पापी मनले गुणकों कुरा नगर

देश बिग्रियो दाजुभाइको काटाकाटले
धरती मुच्छियो खुनको कुरा नगर

नेपाल आमा पिरले रोएको बेला
मन दुख्छ धुनको कुरा नगर

औसीको रातमा जुनको कुरा नगर
पापी मनले गुणकों कुरा नगर


-बागलुंग

ब्यक्ति - ब्यक्तित्व


ज्ञानु र गाजल

-बुद्दिसागर

... ज्ञानुवाकर पौडेलको देब्रे परेलाको घुँघरिएको रौँ फुलिसकेछ । शिरमाथि हिउँले लेखिदिएको छ, ज्ञानु बूढो भयो । र, उनकै शब्दमा रिटायर्ड । जीवनको गति यहीँबाट सुरु हुँदो रहेछ, जसरी उनको गति तीव्र छ । 'मध्यमस्तरका मानिसको दसैँ कस्तो पो हुन्छ र ?' उनी दसैँपछि, शान्त मुडमा, उँघिरहेको परेवाझैं, मलिला आँखा सन्काउँदै मुस्कुराउँछन् । ६१, वर्षसम्म ज्ञानुवाकर, दायाँ हातमा कालो झोला झुन्ड्याउँदै हिँडिरहे । यसरी लामो बाटो हिँडिसकेपछि, उनले आफूलाई यसरी चिनेका छन्, 'म आत्मकेन्दि्रत छु ।'

जब रेडियो नेपालले ज्ञानुवाकरलाई भन्यो, 'बाइक चढ... ज्ञानु ।' मनुष्य-वाहनमा सबैभन्दा डरलाग्दो लाग्छ उनलाई, मोटरसाइकल । यस वाहनसँग ग्रहदशा त्यति मिल्दैन । सुनाएका थिए, 'म बाइक चढेर हिँडेँ भने साइनबोर्ड हेर्दा टोलाएर ठोकिन्छु ।' उनको डर यस्तै थियो ।

ज्ञानु, यसरी पनि डराइदिन्छन्, 'म मर्छु कि ?' उनी आफ्ना लागि भन्दा पनि अरूका लागि बढी बाँच्न चाहन्छन् । मृत्युपछि, मानिस कहाँ पुग्छ ? ज्ञानुलाई लाग्छ, ऊ फेरि मानिस भएर जन्मन्छ । ज्ञानुलाई बोध छ, 'जन्मेपछि मृत्यु पक्का हो भने मृत्युपछि जन्म पनि पक्का छ ।' ओठको कुनामा फूलले अलिकति मुन्टो उठायो ।


पारिवारिक झमेला, सृजनात्मक प्रतिबद्धता, साहित्यिक कार्यक्रम र यायावरी सोख- उनको रिटायर्ड जीवनको मेनुमा छन् । रिटायर्ड भयो, यौटा सरकारी कर्मचारी । र, व्यस्त भयो, यौटा गजलकार । नयाँ पुस्ता, सबैका ज्ञानुदाइलाई कसैकसैले भनिदिए, गजलसम्राट् । यस पदवीले कहिलेकाहीँ ज्ञानुको अनुहार रातो बनाइदिन्छ । उनी भन्थे, 'म गजलको माली हुँ ।'

हरियो पात बन्धक सधैं रूखको
सुकेको पात हेर सफरमा रहेछ ।
ज्ञानु यी हरफसम्म आइपुग्न कयौँ हरफमा अल्झिए । जीवनले लेखिदिएका, अहिले सम्झिनै नमान्ने हरफहरू । दुर्घटनापछि सडकमा कोरिएका चिह्नझैं ज्ञानुका हृदयका कुना-कुनामा कयौँ खत छन् । नमेटिने । नदेखिने । हृदयमा जमेको पीडाको कसिंगर बढार्न त नसकिँदो पो रहेछ । दायाँ हात नचाउँदै ज्ञानु सुनाउँछन्, 'सामान्य मानिस भए त बहुलाइसक्थ्यो ।' ज्ञानु केही भन्न चाहन्नन्, आफ्ना जीवनका खतबारे । जीवनसँग कुनै गुनासो र आवेग छैन । यसै गयो, उसै गयो । गौशालाचोकछेउमा गाडीका चर्का हर्नको खित्काले तर्सिएको घर छ । दिनमा पच्चीस कप चिया खपत भइदिन्छ । उनी सोच्छन्, मलाई भेट्न एकदम सजिलो छ । 'सुरुमा मलाई अद्भूत ठान्छन्,' फिस्स हाँसे, 'भेटेपछि सामान्य मान्छन् ।'जसरी सजिलै हरेक दिन उनी मृत्यु-दर्शन गर्छन् । संसारबाट बिदा हुनेहरू, उनकै घरछेउबाट जान्छन् । बसपार्कमा चिया पिइरहेको यात्रुझैं, उनी अपरिचित मानिसलाई पनि बिदा गरिदिन्छन् ।


मुड चल्यो, घरबाट हिँडिदियो । भारत पुगेर आँखाको डिलभन्दा पर... सम्म पसारिएको, समुद्र हेर्दै टोलायो । यही फिरन्ते शैलीबाट एउटा अंग्रेजी शब्द निफन्नियो- वाक । मन पर्ने पेय, जोनीवाकर । मन पर्ने अभिनेता पनि जोनीवाकर । र, ज्ञानु भए, ज्ञानुवाकर । अनि पो त, भारत घुम्दा कसैले बहादुर भनेर हेपेन । यसरी ज्ञानुप्रसाद पौडेल ख्यालख्यालैमा ज्ञानुवाकर भइदिए । जीवनमा यो आफ्ना लागि ज्ञानुको पहिलो निर्णय थियो । अब पालो नयाँ पुस्ताको । छोराको पहिलो निर्णय थियो- म आफ्नो नाम प्रतीक राख्छु । चिनाले दिएको नाम थियो- दिवाकर । साहित्यमा लागेर करिअर बिगारेका बाको नामको वाकर त्यहाँ झुन्डियो । छोरा आफ्ना बाबुसँग नाम जोड्न चाहन्नन्, जसरी बाबु ज्ञानु, पैसासँग आफ्नो आत्मखुसी । गजल र ज्ञानुवाकर जोडिएर आउँछन् । त्यस्तै, ज्ञानुवाकर र गाजल । अचानक जमेको महफिलमा ज्ञानु भए, त्यसको सौन्दर्य नै फेरिन्छ ।

जाँदाजाँदै दिल तोडी
सम्झनाको रुमाल पठायौ, किन ?
ज्ञानुसँग जोडिने प्रेमको चर्चाबाट उनी कहिल्यै भाग्न सक्दैनन् । भारतको कास्मिर, मिजोरम र सिक्किमबाहेक सबै प्रान्त फिरेका ज्ञानु आफूलाई अझै फिरन्ते बनाउन चाहन्छन् । भन्छन्, 'म अझै घम्न चाहन्छु ।''यति धेरै घुमेको मान्छे । स्त्रीको मनचैँ कत्तिको घुम्नुभयो ?' मैले हल्लाका दुई पाटा सम्झेँ- ज्ञानु र गाजल । 'यो त घर भाँडिने कुरा भयो,' फिस्स हाँसे र सुनाए, 'जीवन, मृत्यु र यौनबाहेक सबै कुरा दोस्रो प्राथमिकतामा राखेको छु ।' 'म ईश्वरवादी हुँ । कर्मकान्डी होइन ।' यस्तो भन्ने ज्ञानु, कहिलेकाहीँ पुनर्जन्ममा पनि विश्वास राख्छन् । 'पुनर्जन्म भयो भने तपाईं के हुनुहोला ?' 'म मानिस नै हुनेछु,' उनको तर्क छ । जे बीउ रोपिन्छ, त्यही त फल्छ । आलु रोपे आलु, धान रोपे धान । प्रकृतिको संविधानमा आलु रोप्यो भने भन्टा कहिल्यै फल्दैन । ज्ञानु लामो सास फेर्छन् र भन्छन्, 'मानिस मर्‍यो भने मानिस नै जन्मिन्छ ।'


बा अत्तालिएका थिए । फुच्चे ज्ञानुको बक फुटेन । आठ वर्ष नाघेको बालक यस संसारको पहिलो वाक्य, आमा, बोल्न सक्दैनथ्यो । के गर्नु ? ललितपुरको लेलेको सरस्वती मन्दिर, भक्तपुर सूर्यविनायकमा बा र आमाले सरस्वतीलाई 'चाँदीको पाउ' चढाए, प्रभु ! छोराको बक फुटाइदेऊ । यत्तिले भएन । ...अचानक ज्ञानु सूर्यविनायकको जंगलमा एक्लो भेटिए । किनभने, उनलाई छोडेर सबै लुकिदिएका थिए । डरायो भने बोल्छ कि ? भयो पनि त्यस्तै । सन्नाटाले भरिएको चिसो जंगलले मानिसको आवाज खोज्यो । र, ज्ञानु रुँदै चिच्चाए, 'बा...।'एघार वर्षसम्म उनले सुनिरहे बोलेनन् । एघार वर्षदेखि बोल्न थालेका अहिलेसम्म रोकिएका छैनन् । जसरी उनी जीवन, मृत्यु र यौनबारे बोल्छन् । 'जीवन भनेको संर्घष हो,' कम्तीमा तपाईं त यस्तो उत्तर नदिनुस्, भन्दै सोधेँ, 'जीवन के हो ?' एकछिन आफ्ना नाडी सुम्सुम्याए । सोचे, के भनूँ ? र, सुनाए, 'म जीवनलाई हिलोमा फुलेको कमलसँग दाँज्छु ।'


दिनभरि चराचुरुंगी चाराको खोजीमा रछ्यानसम्म पुग्छन् । बस्न भने रूखको टोड्का या त घरको खोपा-खोपामा बस्छन् । ज्ञानुको कुरा छ, हामी कलमजीवीका आदर्श पनि ठूला-ठूला हुन्छन् । समाजले नजा, भनेका प्रतिबन्धित ठाउँमा पनि जान्छौँ । यति भनेर ज्ञानुले फेरि गाँसे, 'मेरा भोगाइले यस्तै सिकाएको हो ।' उनको लामो कुराको सार हो- मानिस हिलोमा संघर्ष गर्दागर्दै कमलझैं फक्रिन्छ । 'मृत्यु शाश्वत सत्य हो' यस्तो उत्तर नदिनोस्, धम्याएझैं मैले सोधेँ, 'मृत्यु के हो ?' फिस्स हाँसे । अगाडिको चियाको कप उठाए र एक चुस्की लिए । यो उत्तर, पुरानो बाइरोडको बाटोबाट फनक्क घुमेर काठमान्डू आइपुग्यो, 'हामी दिनमा चार-छ-आठ घन्टा निदाउँछौँ । त्यो मृत्युको रिहर्सल हो । त्यसैले मृत्यु भनेको चिरनिद्रा हो ।''कत्तिको डराउनुहुन्छ, मृत्युदेखि ?'आफ्नो मृत्युमा दुःखी हुने नातागोता सम्भि“mदै भने, 'म साह्रै डराउँछु ।'


ज्ञानुलाई कहिलेकाहीँ मृत्युको त्रासले यसरी घाँटी अँठ्याइदिन्छ, उनी 'मृत्युञ्जय' पाठ गर्छन् । अहिले उनको दिन योगाबाट सुरु हुन्छ । खानपानमा सावधान, उनका योगगुरु हुन्, रामदेव । टिभीमा रामदेव हेर्दै खुट्टा काँधमाथि राख्दा अड्किएर एकजना मानिस कराउँछन्, 'बाहिर कोही छ ? खुट्टा अड्क्यो'— वात्सायनको कार्टुन, सम्भिmएर मुसुमुसु हाँस्दै सोधेँ, 'कहिलेकाहीँ खुट्टा अड्केको छ ?'झस्किए । चियाको कप टेबुलमा राख्दै सोधे, 'कसरी थाहा भो ? त्यो रसभरी अड्केको कुरा ?' मेरो अनुहारमा अन्योलको पात उन्यूझैं उल्पलायो ।'रसभरी' सुन्नासाथै मैले कुरा मोडेँ । भन्नुस् त, रसभरी कसरी अड्कियो ? संवादको बोनस-प्रसंग यस्तो रै'छ— बाइस सालताका ज्ञानु जिल्ला अदालतमा बैदार थिए । मुखियाको तलब ६५ रुपैयाँवाला जमाना थियो । अदालतमा घुस ? त्यो पाप थियो । कसैको मुद्दा जिताउन एकजना वकिलले उनलाई घुस दिने निर्णय गरेछन् । चिया खाने निहुँमा ज्ञानुलाई मिठाई-पसल पुर्‍याइयो । अर्डर भयो, ज्ञानुको पि्रय रसभरी । ज्ञानुले सिंगै रसभरी मुखमा के राखेका थिए, वकिलले स्वाट्ट सर्टको माथिल्लो जेबमा सयको नोट राखिदिए । हे दैव ! ज्ञानुको सातो उड्यो । त्यै मौकामा रसभरी घाँटीमा अड्कियो । छेउका तिनै वकिलले निहुरिएका ज्ञानुको घाँटीमा प्याट्ट-प्याट्ट हानिदिए । आँखाबाट तरक्क, आँसु चुहिएपछि, रसभरी तल झर्‍यो । झस्किएका वकिलले यत्ति भने, 'कस्तो हो, खानै नपाएजस्तो । टुक्राटुक्रा पारेर खानुपर्छ नि !' 'यौन भनेको प्राकृतिक आवश्यकता हो,' यस्तो पनि नभन्नुहोला, ज्ञानुदाइ, मैले सोधेँ, 'यौन के हो ?''जब रेडियोको ब्याट्री सकिन्छ, कि त नयाँ ब्याट्री किनिन्छ, कि त ब्याट्री सुकाइन्छ,' ज्ञानु मौलिक मुस्कानसहित भन्छन्, 'यौन भनेकै जीवनको रिचार्ज हो ।'धेरै ठाउँमा पढेको र भोगेको ज्ञानुको यौन-व्याख्या छ- यौन-दमनले अप्राकृतिक घटना घट्छन् । जो जीवनमा यौनका मामलामा सन्तुष्ट छन्, ती दीर्घायु, तनावमुक्त र स्वस्थ हुन्छन् । 'अनि नहुनेहरू नि ?''यौनमा पाखन्ड र बेइमानी हुनु हुँदैन,' भन्दै मुसुमुसु हाँस्छन् । र, उत्तर घुमाउरो पाराले दिन्छन्, 'यौनका मामलामा सन्तुष्ट मानिसको भन्दा असन्तुष्ट मानिसको मृत्युदर बढी छ ।'राममनोहर लोहियालेझैं उनी भन्छन्, 'यदि आपसी सम्झौतामा इमानदारी छ भने सबै सम्बन्ध नैतिक छन् ।'प्रश्नको फेरो द्रौपदीको साडीझैं लम्बिँदै गएपछि, यसो आङ तन्काउँदै ज्ञानुले म बबुरोलाई सम्झाए, 'हाम्रो समाज धर्मभीरु छ । यस विषयमा चर्चा गर्नु जायज नहोला ।'कुरा त उही हो- अपने हमाम मे सब नंगे है ।

एक जीवनमा एक मानिस अनेक मानिस भएर बाँच्छ । ज्ञानु पनि अनेक मानिस बोकेका एक मानिस भएछन् । 'थाहा छ ? मैले कहिल्यै जागिरका लागि निवेदन हालिनँ,' मुसुक्क हाँस्छन् । निवेदनको जिम्मा त दाइ र बाले पो लिएका थिए । धेरै ढिलो बक फुटेको छोरो हेर्दाहेर्दै कविता पो गुन्गुनाउन थाल्यो, दैव ! ज्ञानु अर्थात् बैदार । बाइस सालमा अस्थायी जागिरे । स्थायी आयो । त्यो पनि सक्कियो । पच्चीस सालमा, ज्ञानु अर्थात् सप्लायर्स । दरभंगामा कपालको तेल बेच्न यी फिरन्ते, जनकपुर-जयनगर-कमतौल-बैरगनियातिर झुल्किन्थे । सक्कलीको डुप्लिकेट सुगन्धित तेलका नाम हुन्थे : पमानी, कोलगेट, ब्रम्मी । यसरी छोरो तेल बेच्दै कहाँ-कहाँ पुगेन ? बालाई झोक चल्यो- यल्लाई त तह नलगाई भएन । अनि ज्ञानु, पच्चीस सालमै पुगे, आर्मी हेडक्वार्टर । ज्ञानु अर्थात्- सार्जेन्ट कल्र्क । अब ज्ञानुलाई लाग्न थाल्यो, कहाँ फसियो यार ! ज्ञानुको मन पिँजराको सुगाझैं, घाइते, फड्फडाउन थाल्यो । आरआर कलेजका आर्टस्का विद्यार्थी ज्ञानुले पढाइ र कामलाई म्यानेज गर्न सकेनन् । कर्नेलले सहयोग गरेनन् । कर्नेल सा'प, बरु झोक्किए । तेत्तीस सालमा ज्ञानु उन्मुक्त भए । ज्ञानु अर्थात् स्टोर सुपरिन्टेन्डेन्ट । मुक्त मनको चरी सोल्टी होटलमा रमेन । त्यसपछि, ज्ञानु अरू भएर पनि बाँचे । उमेरले जीवनको साँचो उनकै हातमा सुम्पिदियो । अंशबन्डा छुट्याइदिएको बूढो बाबुलेझैं भन्यो- ज्ञानु ! अब जे गर्नु छ गर् ।बल्ल, ज्ञानु अर्थात् सम्पादक । पैंतालीसदेखि गरिमा पत्रिकाको कुर्सीमा लामो थकानपछि उनी सुस्ताए । साहित्यका कुरा खुब भए । ज्ञानु अर्थात् सरकारी जीव । रेडियो नेपालको मध्यम अँध्यारो कोठामा ज्ञानुका धेरै वर्ष आए र गए । वर्षहरू बाटो बिर्सिएको यात्रीझैं बाटो सोध्थे र जान्थे । र, त्रिसठ्ठी सालको एकदिन ज्ञानु घर फर्किए, बिहान उठ्दा उनी कुनै सरकारी जीव थिएनन् । एउटा पूर्ण मानिस थिए । ज्ञानु अर्थात् ज्ञानुवाकर पौडेल । फनक्क पृथ्वी एक फन्को लगाएको घाम पहेँलिँदै डाडाको टुप्पामा पुगिसकेको छ । घाम भन्छ- घाटघाटको पानी पिए ।गजलको कुरा गरी साध्य छैन । झन्, गाजलको कुरा । कसैले भनिदिन्छ, प्रेमिकाका आँखाको गाजल हो, गजल । अनि गजलकार ? ज्ञानु फिस्स हाँस्छन् । चवालीस सालमा ...अचानक विवाहित नेपाली पुरुष भएका ज्ञानु, भन्छन्, 'म प्रेमको मामलामा अभागी छु ।' लामो असफल-प्रेम-व्याख्यानको सार त यही उखानले भनिदिएपछि, लामो कुरा किन चाहियो, ज्ञानुदाइ- सुन नला'कीलाई मैले पत्याइनँ, सुन ला'कीले मलाई पत्याइन । 'अतृप्त प्रेमको तिर्खा मेटियो कि मेटिएन ?''मेरी श्रीमतीको प्रेमले... प्रेमको मामलामा जुन वितृष्णा थियो, त्यो पखाल्यो,' अल्लि माथि निधार उचाल्दै, आँखा जुधाउँदै सुनाए, 'नारीप्रति मेरो जुन नकारात्मक भावना थियो, श्रीमतीका कारणले केही हदमा सकारात्मक बनायो ।' 'केही हदमा मात्रै ?' पूर्ण त को हुन्छ र ? उनले प्रश्न सुनेनन् । या त नसुनेजस्तो गरे । कुन्नि के हो ? 'म भाग्यमा गर्व गर्छु,' यस्तो भने, 'अनुकूल श्रीमती पाएकामा ।' ढिलो बक फुटेका ज्ञानु ढिलो सात कक्षाको रोलक्रममा सामेल भए । एकैचोटि सात कक्षा ? के पास हुनुभयो ?'भएँ त ।' ज्ञानुलाई लाग्छ, जीवनमा जे-जे भयो, त्यो सबै हुनलाई नै भयो । पछुतो पनि छैन, जीवनमा, कहाँ-कहाँ बिराइस्, ज्ञानु ? रेडियो नेपालका उपनिर्देशक दौलतविक्रम बिष्टलाई गोडा कमाउँदै, ठूलो फ्यान भएर भेट्न पुगेका ज्ञानुको उमेर, त्यही कुर्सीमा अलिकति झोक्रायो । महत्त्वाकांक्षाले कहिल्यै घुँडा टेकाएन । उमेरमा घरबाट भागेर तीन महिना फराकिला समुद्रका किनारमा टोलाउँदै बस्ने यी ज्ञानुको यात्रा अझै थपिएको छैन । सारा नेपालमा उनको पदछाप, खोज्नुपर्छ, भेटिन्छ । भन्छन्, 'तीन जिल्ला पुगेको छैन, एकदिन पुग्छु ।'साथीहरूको कुरा गरिसाध्य छैन, कहाँ-कहाँ पुगेका छैनन् । बायोडाटा हेर्ने हो भने संसार घुमिसकेका छन् । ज्ञानुलाई झोक चल्यो । म किन विदेश जान नहुने ? उनले सोचे- मेरो बायोडाटामा विदेश थप्छु । 'म खासा गएँ,' हाँस्दै भन्छन्, 'मेरो बायोडाटामा चीन थपियो ।''बायोडाटामा थप्न मन लागेका देश कुन-कुन छन् त ?''आइसल्यान्ड, गि्रनल्यान्ड र चेकोस्लोभाकिया,' अनुहारको रौनकै अर्को, 'यी देशका बारेमा किताबमा पढेको छु । नीला समुद्र छन्, पिँधसम्म देखिने ।'आफूभन्दा कम उमेरका मानिस सचिव छन् । गाडी छन् । घर छन् । बैंक ब्यालेन्स छ । ज्ञानुको मन कुटकुटु टोक्ने धमिराजस्ता यी प्रश्नहरूको कुनै उत्तर छैन । उत्तर ज्ञानुसँगै छ, 'मलाई पछुतो छैन । मेरो जीवन उपलब्धिमूलक हो कि होइन, त्यो मेरा मलामीको संख्याले देखाउनेछ ।''म हरेक हिसाबले सार्थक छु,' जीवनको जोड-घटाउ हो, 'समाजमा मेरो पहिचान छ ।''अनि घरमा ?''साहित्यमा लागेर करिअर बिगार्‍यो भन्छन्,' मुसुक्क हाँसे, 'कहिलेकाहीँ पुरस्कार पाउँदा खुसी पनि हुन्छन् ।'


कात्रोमा गोजी हुँदैन हेर
बिक्रीमा किन इमान राख्नू ।
मन्दिर होस् गाउँबाहिरै
बस्तीभित्र चिहान राख्नू ।

'हर्ष न बिस्मात् । सुखदुःख बराबर,' ज्ञानुको जीवनको सार यही हो । हुन पनि, ज्ञानु स्त्रीको गाजलबाट जीवनको गाजलसम्म उक्लिसकेका छन् । जीवनको गाजल लाउन जाने अझ सुन्दर, लाउन नजाउने झन्, कुरूप ।


(साभार: नया पत्रिका )


Tuesday, November 4, 2008

कबिता

चुम्बनको धुन

-इन्दिरा प्रसाई
तिमी सङ्गित भएछौ
मेरा रौ भित्रका काउकुती भित्र
सल्बल सल्बल गर्ने
मेरो प्राण संचारको
एउटा अ्इट धुन भएछौ

सारङ्गीको तार भित्र
मलाई लुकाएर
तिमी बेपत्ता भए पनि
म तिम्रो ओठको कम्पन सँग
खोइ कहाँ नेर गासिएको छु
म बन्दी भए
चुम्बनमा ,आलिङ्गनमा
आहा!म पनि हराए
तृस्णाको जालो भित्र
प्यासले हासेँ म।

पैतालाको रौको स्पर्शले
जागेको मेरो बैश
चुम्बनको धुनमा
गुन गुनाईरहेछ
तिमीले सुन्यौ?

गजल










-देबेन्द्र सुर्केली खापुङ
रिन पनि भारी नै थियो थाप्लाभरी,ठिकै थियो
दिन पनि लाग्न थाल्यो अचेलभरी, निकै भयो

बल्ल तल्ल पग्लाएको थिए,उनको ढुङ्गे मन
छिन पनि छोड्नै नहुने सधैं भरी,ढिकै भयो

सिन्दुर नै लगाएको हो,तर धुदा पखालिएछ
लिन पनि गाको सिन्दुर फेरि,टीकै भयो

हिजो अस्ती उनको हु?वा साह्रै मिठो लाग्ने
घिन पनि लाग्न थाल्यो अचेलभरी,फिकै भयो

(हु?वा:लिम्बु भासामा कसैले पकाएको भान्सालाई फलानाको हातको खाना अर्थात् हु?वा भनिन्छ।)


-प्रकासपुर -१,सुन्सरी
हाल:मलेसिया

Monday, November 3, 2008

कबिता

जून

-अनमोल मणि
त्यों जून
तिमीले हेर्दा तिमी जस्तै हुन्छ
एक्लो एकान्ते
बादल जस्तै उड़छ सम्झना
र पानी जस्तै दर्किन्छ पीडा
तिमी भित्र पनि र म भित्र पनि ,
उस्तै छ आकाश
तिम्रै मन जस्तो चौडा
तिम्रै अनुहार जस्तो चम्किन्छन हर रात ताराहरु
र लजाउछन एक अर्का संग
त्यसैले त्यों जून
तिमीले हेर्दा मै जस्तो हुन्छ
र मैले हेर्दा तिमी जस्तै हुन्छ
बैशको गल्छेडामा उभिएर सोचिरहेछन
कुमारीहरू
साच्चै त्यों जून
प्रेमी जस्तो हुन्छ कि प्रेमिका जस्तो ?

कबिता

म बाचे भने भगवान मर्छ


-उमेश राई "अकिन्चन"
एक हरफ शब्दले
संसार जित् न खोज्ने
ए कबि !
कोर एउटा
नानी रोएको आवाज जस्तो कबिता

छापामारको कैमोफ्लेज लुगा जस्तो
टाटे पांग्रे
बिश्वको नक्शामा
ए भिक्षु !

बिपरीत बहिरहेछ हावा
उल्टो फर्फराइरहेछ झण्डा
फ़र्काऊ
पानको पात पाईला नाघेर
सिमाना काटिरहेका
घामलाई

कि त रोएर
कि त हासेर सकिने
जिन्दगीलाई यसरी जोड
ए दार्शनिक !

पृथ्बी घुमे जस्तो
फेरि फेरि
नदोहोरियोस

कलिलो फूलको गुनासो
'म मरे भने भगवान बाच्छ
म बाचे भने भगवान मर्छ'

-बिराटनगर


Sunday, November 2, 2008

गजल

-श्रीजन श्री
कति बस्नु सधै लाटो , दम छ भने लड़न आऊ
छोड्दिन म मेरो पाटो , दम छ भने लड़न आऊ

नङ्गा खुडा नचाएर कालापानी आउदैछु म
कहा छोड्छु मेरो बाटो, दम छ भने लड़न आऊ

कालापानी मात्र होइन नालापानी पनि अब
ब्याज माग्छु साउको साटो ,दम छ भने लड़न आऊ

टिस्टा अनि काङ्गडामा बगेको त्यों रक्त सम्झी
बल्झदै छ फेरि खाटो, दम छ भने लड़न आऊ

गोर्खाली हु मर्न पनि डर छैन रत्ती मलाई
तिम्रो बन्दूक मेरो भाटो ,दम छ भने लड़न आऊ

-कंचनपुर ,नेपाल

लेख

आयामेली आन्दोलन :
-देश सुब्बा
नेपाली साहित्यमा गहन अस्तित्व बोकेर आएको तेस्रो आयाम अथवा आयामेली आन्दोलनले नेपाली साहित्यको पुरानो मान्यतालाई नयाँ रूपबाट विकास गरिदियो । यसको प्रभाव नेपाली साहित्यमा यति गम्भीर ढंगबाट प-यो कि यसलाई साहित्यकार, पाठकहरू नेपाली साहित्यिक आन्दोलनको उचाइ ठान्न थाले । त्यसैले तेस्रो आयाम नेपाली साहित्यिक आन्दोलनको कहिले नढल्ने कोसे ढुंगा बनेर बसिदियो । चारवटा मान्यताहरूलाई साहित्यकारहरूले आफ्नो क्षमता अनुसार बुझे र व्याख्या गर्न थाले । फलस्वरूप तेस्रो आयाम अहिले आएर एउटा करिबकरिब किमदन्ती नै बन्न गएको छ र कसैले यसलाई हल्लाउने आँट गर्न सकेका छैनन् । अहिलेसम्म पनि यो दिगो बनेर बस्न सफल भएको छ । के वास्तवमा तेस्रो आयामले जीवन र जगतका सम्पूर्ण कुराहरू समेटेको छ - एउटा टडकारो प्रश्न मनभित्र कुदाउन सकिन्छ । वस्तुता र सम्पूर्णताले जीवन र जगतका सबै पक्षलाई छुइदिएको छ, केवल छुइदिएको मात्र छैन, गहिरो रूपमा प्रभाव पारिदिएको छ । खासगरी टाइम र स्पेशको कुरा गरेर अथवा लम्बाइ, चौडाइ र गहिराइको कुरा गरेर । यो आन्दोलनको घोषणा नेपाली साहित्यका शीर्षस्थ व्यक्तिहरूबाट थालनी हुनु, विषय वस्तुको गहिरो अध्ययन हुनु, त्यही योग्यतामा व्याख्या गरिनुले आन्दोलनलाई दीर्घायु बनाएको छ । निरङ्कुश व्यवस्थाभित्र छटपटिरहेको नेपाली साहित्यले यो आन्दोलनबाट एक किसिमको निकासा पाएकोले पनि नेपाली साहित्यमा यसको ठूलो महत्व रहँदै आएको छ ।हामी यहाँ आयामेली आन्दोलनको सम्पूर्णता र लम्बाइ, चौडाइ, उचाइलाई एकछिन हेरौं । प्रथम कुरा त तेस्रो आयामका एउटा मान्यता सम्पूर्णता छ । यही मान्यताभित्र सम्पूर्ण कुरा छ भने बाँकी मान्यताहरू केको लागि । बाँकी मान्यताहरूको आवश्यकता छैन भने यो सम्पूर्णता मान्यताको के अर्थ ? वस्तुताको सवालमा आइ। बि. र्राई स्वयंले लीला लेखन आयामको त्वको खोजी हो भनेर स्वीकारी सक्नु भएको छ । हामी वस्तुको लम्बाइ, चौडाइ र उचाइमा रुमलिएर हिँड्ने हो त ? कुनै एउटा वस्तुलाई नाप्न लम्बाइ, चौडाइ र गहिराइ प्रयाप्त छ ? यी त भौतिक कुरा भए । भौतिक कुरा मात्र सम्पूर्ण हुन सक्दैन । वस्तुलाई जस्ताको तस्तै लेख्दा उसको भौतिकता उपस्थित हुन्छ । तर त्यसमा भएको छायाँ वा सजीव वस्तुको कुरा गर्ने हो भने भावना, आत्मा देखिन्दैन । यसको व्याख्या छोडिएको लाग्छ ।


ईमेल : subbadesh@gmail.com

लेख











लिलालेखन : एक चर्चा
नेपाली सामाजिक परिवेश अनुसार स्थापना भएको लोग्ने स्वास्नीको झगडा "परालको आगो" मान्यतालाई लीला लेखनमा इन्द्र बहादुर र्राईले नयाँ संभावित मान्यताहरू बनाएर कठपुतलीको मनमा देखाउनु भएको छ । परालको आगोको चामे र गौथली कठपुतलीमा आइपुग्दा पुरानो पात्रहरू स्थावत रहँदैनन्, उनीहरू अन्य संभावित उप कथा लिएर आइपुग्छन् । यी उप कथाहरूले बोकेको नयाँ मान्यता अहिलेको स्थापित मान्यता हो । परालको आगोले एउटा मात्र रूप धारण नगरी चक्रवर्ती रूप धारण गर्न सक्छ । त्यसैले लीला लेखन नयाँ धारणाहरूको लेखन पनि हो भनेर वहाँ आफै स्वीकार गर्नु हुन्छ । जीवन र जगत केवल एउटा लीला हो यदि चेतनाले मानिदिएको अवस्थामा । खेलहरू चेतना र संवेदनाको संजाल भित्रका सुन्दर उपज हुन् । लोग्नेस्वास्नी आफै द्वन्दका मूल स्रोतहरू हुन् । चाहे लोग्ने स्वास्नीको नाममा उभ्याइएको मान्यताहरू हुन्, बाँचौंको खेल । जहाँ लीला हुन्छ त्यहाँ भय हुन्छ । लीला भयवादको एउटा उम्दा प्रकट हो किनभने यसले भयलाई कम बनाउनमा ठूलो सहयोग गर्दछ । साँचो कुरा के हो भने सबै द्वन्दका आधारहरू भय हुन्छन्, खास गरी चेतनशील प्राणीहरूमा । त्यसैले लीला लेखनका सबै लीलाहरू भयवादको घेराभन्दा बाहिर छैनन्, यो सत्य हो । लीला लेखनका प्रधान कुराहरू भय उन्मुख छन् ।कठपुतलीको मनमा परालको आगोका चार उप कथाहरू बनाइएका छन् । यी चारै कथामा द्वन्द छ । द्वन्दको कारण विभिन्न हुनसक्छन् । यो कुरा कथामा मात्र नभएर व्यवहारमा पनि हुने गर्दछ । कठपुतलीको मनको कथाका पात्रहरू आजको समाजको वास्तविक पात्रहरू पनि हुन् । यस्ता थुप्रै घटना घटिरहेका छन् समाजमा । हत्या र आत्महत्या सम्मका घटनाहरू घटेका छन् । हत्या, आत्महत्या, छोडपत्र आरोपप्रत्यारोपका घटनाहरू स्वरै कल्पनाको रूपमा त अवश्य हुँदैन । जीवनदेखि मरणसम्म मान्छेका प्रत्येक क्रियाकलाप सुक्ष्म रूपमा भयमय हुन्छ । यस कथाको अन्त्यमा पनि "बाँचौ भन्ने खेल खेलौ" भन्ने वाक्य आएको छ । के यो बाँचौ भन्ने खेल खेलौ भन्ने वाक्यको पछाडि भय बसिरहेको छैन - यसरी नै प्रत्येक घटनाको पछाडि भय छायाँ बनेर बसिरहेको हुन्छ नै । लीला मात्र हुनु, भ्रम मात्र हुनुले निर्जीवता प्रकट गर्दछ । लीला हुनु निर्जीव ढुङगा जस्तै हो । चटकेको चटक पनि एउटा लीला हो । लीलालाई मात्र मनन गर्ने हो भने त्यहाँ जीवन हुँदैन । जहाँ जीवन हुन्छ त्यहाँ निश्चिय पनि भय हुन्छ । जीवनलाई वेवास्ता गरेर सबै कुरा लीलाको भरमा पनि छोड्न सकिन्दैन ।लीलाको अर्थमा ढुंगा, माटो, समुन्द्र यी प्रकृतिका वस्तुहरू लीला हुन् । एउटा कृष्णालाई एकै साथ सोह्रसय गोपिनीको साथमा देखिएको जस्तै एउटा ढुंगालाई धेरै मान्छेले विभिन्न रूपमा देख्न सक्छन् ।ढुंगालाई विभिन्न रूपमा देख्ने भनेको विभिन्न मान्छेको चेतनाले गर्दछ । संसारबाट चेतना झिकिदिने हो भने ढुंगा हुनु र नहुनुको कुनै भेद रहँदैन । प्रश्न उठन सक्छ भय कहाँनेर छ ? समस्या, दुःख, कष्ट, लोभ, काम, क्रोध, माया, मोह, शंका, भ्रम, सम्पत्ति, आफन्त सबैमा भय हुन्छ । भाषा, लिपि, जाति, धर्मसँस्कृति लोप हुने सबैलाई भय हुन्छ । त्यसैले हुनु भन्ने शब्दमै भय विक्षिप्त रूपमा लुकेर बसेको हुन्छ । मान्छेमा भय भइन्जेल जीवन सक्रिय भइरहन्छ । मान्छेको सक्रियताले भयको प्रतिलोममा काम गरिरहेको भएतापनि अन्तोत्वगत्वा सहयोग भयलाई नै बढी हुन्छ । भयको लीलालाई शब्दहरूमा प्रकट गर्नुपर्दछ ।




साभार : fearism.blogspot.com

Thursday, October 30, 2008

गजल











-रुद्र मिश्र
झुपडीमा आगो बल्ने चुलो हुनुपर्छ अब
गैरीखेतमा पानी लाउने कुलो हुनुपर्छ अब

मुठिभरको बीजबाट बस्ती भित्र उम्रीएका
कोपिला नि फुल्नलाई ठुलो हुनुपर्छ अब

बस्ती अनि झुपडीका छाना छाउनुपर्छ
दरवार र महलहरु धुलो हुनुपर्छ अब

पाखुरीको प्रहारले चट्टान पनि फोर्नुपर्छ
परजिबी हातहरु लुलो हुनुपर्छ अब

जनताले चयन सँग बाँच्न पाउनुपर्छ
निर्दयीको आँखा भित्र फुलो हुनुपर्छ अब


-नागिन-१, पाचथर