Sunday, May 31, 2009

स्रस्टासंग अन्तरंग कुराकानी -मे २००९

सिर्जनालाई कुनै पनि राजनीतिक हुरीले छेक्न सक्दैन । -निराजन बतास


♣ 'साहित्य- सागर' को शितल यो चौतारीमा तपाईंलाई स्वागत गर्दछु ।
-धन्यवाद नमस्कार ।
हाल कहाँ र कसरी समय बिताईरहनु भएको छ ?
-स्नातकोत्तर अध्ययनको लागि भोजपुरबाट काठमाँडौ आएको डेढ वर्ष भयो । अहिले त्रिभुवन विश्वविद्यालयमा मानविकी भाषाविज्ञान र शिक्षाशास्त्र अंग्रजीमा स्नातकोत्तर गरिरहेको छु । पढ्ने र लेख्ने काम भइरहेको छ ।
♣ तपाईंको साहित्यिक उपस्थिती चाहि कस्तो छ नि आजभोलि ?
-अहिले म समसमायिक स्तम्भहरु बाहेक गजल,कविता,कथा र निबन्ध लेखिरहेको छु । म प्रायशः लेखिनै रहेको हुन्छु । अनलाइन राजधानी र मोफसलका पत्रिकाहरुमा रचनाहरु छापिने गरेका छन् ।
♣ शुरुमै एउटा कुरा सोधी हालौ । तपाईंले आफ्नो नामको पछाडि किन 'बतास' फुर्को झुन्ड्याउनु भएको ? साहित्यिक स्रस्टा ,सर्जकहरुले त बियोगी/निराशी नाम पो रुचाउछन्, हैन र ?
-अँ, म धनकुटामा पढ्दाताक ०५९ सालतिर नै साहित्यिक पत्रिकाको सम्पादन गर्थें । त्यतिबेला प्रायशः सर्जक नामका पछाडि फुर्को हुन्थ्यो । मैले तपाईँले भन्नुभए जस्तै शुरुमा 'अत्यासी' भनेर फुर्को राखेको थिएँ । त्यस नामबाट पनि रचना छापिए । त्यतिबेला फुर्के नामको नक्कल गर्ने खुबै चलन पनि थियो । पछि मलाई चित्त बुझेन र सोंच्न थाले । अकस्मात फुर्ने तत्व अर्थात् बस्र्ट अफ माइण्डलाई अपोह सिद्धान्त भनिन्छ । मलाई झट्टै 'बतास' भन्ने शब्द फुर्यो । यसअघि यो शब्द कसैको नाम पछाडि सुनेको थिइनँ र मैले त्यै राख्न थालें । धेरैले मलाई नाम अनुसारको मान्छे भएन भन्छन् । म अलि गम्भिर प्रकृतिको छु ।
♣ तपाईं त एउटा राम्रो कबिता लेख्ने मान्छे अर्थात् उदयीमान कबि । बिशेष गरी कस्तो खालको बिषयबस्तु रोज्नुहुन्छ कबिताको लागि ?
-पाठकको मनमा कविताको प्रभाव अरु काब्य विधाको भन्दा लामो समयसम्म रहन्छ । खास गरेर मैले यस अघि गजल बढी लेखेको छु । ०५९ सालतिर धनकुटामा गजल त्यति परिचित नै थिएन र म 'तेश्रो आवाज' भन्ने मासिक पत्रिकामा गजल नआउने भएकोले सँधै म नै लेख्थें । दुइटा गीत र एउटा नाटक पनि रेडियो नेपाल धनकुटामा उत्कृष्ट भएका थिए । तर अहिले म अचेल भने बढी कविता,कथा र निबन्ध लेख्छु । सिर्जना भनेको भोगाइ नै रहेछ । देखेको र भोगेको कुरा लेख्न सजिलो हुँदो रहेछ । अहिले समसामयिक राजनीतिक विषय र आम मान्छेको भोगाइ सबैका विषय बनेका छन् ।
♣ आफ्नो कबितामा जातिय मिथक र बिम्ब कतिको प्रयोग गर्न रुचाउनु हुन्छ ?
-मेरो चाख पछिल्लो समयमा जातीय मिथक र विम्बमा बढेको छ । म त्यस्ता सिर्जना खोजेर पढिरहेको पनि छु । म त्यतातिर पनि मोडिदैंछु ।
♣ साहित्य सिर्जनाको अलावा तपाईं त पत्रकारिता क्षेत्रमा पनि उतिकै सक्रीय हुनुहुन्छ । यी दुई क्षेत्र बीचको अन्तर्सम्बन्ध कस्तो पाउनु भएको छ ?
-फिक्सन र ननफिक्सनले फरक पारेको छ पत्रकारिता र साहित्यलाई । समाचारको स्टोरी नै वास्तवमा साहित्यको विषयवस्तु पनि हो । हिँड्दा डुल्दा धेरै नयाँ सिर्जनाहरु फुर्ने गर्छन् तर एउटा साँचो कुरा पत्रकारिता लागेपछि साहित्य लेखन अलि कम हुँदो रहेछ ।
♣ साहित्य क्षेत्रमा तपाईं कसरी शुरुमा प्रभाबित हुनुभयो ? कुनै अबिश्मरणीय क्षण भए भनिदिनुस् न ।
-म विद्यालयमा नै भाग लिएका सबै कविता,निबन्ध लेखनका प्रतियोगितामा उत्कृष्ट भएको थिएँ । धनकुटामा पढ्न जाँदा ०५८ सालतिर पहिलोचोटि साहित्यिक पत्रिका 'सोल्टिनी' देखें । म आधा दर्जन पत्रिकाको प्रतिनिधि पनि भएँ । क्याम्पसका सबै भित्तेपत्रिकामा मेरो रचना छापियो । भित्ते पत्रिकाहरु हेरेपछि क्याम्पस प्रवेशको शुरुमा म सात वटा जति कविता बोकेर गएँ । मान्छेको अगाडि म नर्भस थिएँ । पछि साथी कृष्णलाई सबैको बाकसमा रचनाहरु झार्न लगाएँ । पछि पत्रिका प्रकाशन गर्दा खाने र सुत्नेको पनि कहिलेकाही टुंगो हुन्नथ्यो । कम्प्युटर गराउने ठाउँमा राती चकटी मागेर पनि सुतियो । अहिले सबै रमाइलो लाग्छ ।
♣ बर्तमान नेपालको तरल राजनैतीक स्थितिमा नेपाली साहित्य कसरी हिडिरहेको महशुस हुन्छ तपाईंलाई ?
-राजनैतिक रुपमा सबै सचेत छन् स्रष्टाहरु । सिर्जनालाई कुनै पनि राजनीतिक हुरीले छेक्न सक्दैन । हिजोको जस्तो लेखेर कुनै शासकलाई मनोरंजन दिने या भक्तिभाव देखाउने जमाना पनि रहेन । स्वतन्त्र लेखक लेख्दैमा डराउने अवस्था पनि छैन । साहित्यमा वर्तमानको चिरफार छ र तीक्ष्ण विचारको प्रवाह पनि ।
♣ राष्ट्रले साहित्यिक स्रस्टा सर्जकहरुलाई बेवास्ता गरिरहेको छ भन्ने कुरा सङ्ग कतिको सहमती छ तपाईंको ?
-यो विषय सर्जकहरुको लागि कहिलेकाही आन्तरिक बहस बन्ने गरेको छ । हिजो पनि महाकविका श्रीमतीले देवकोटाकै उपचारको लागि सडकमा भिख माग्न बसेकी थिइन् । पारिजातले एकेडेमीमा आफ्नो लास नलानु भनेकी थिइन् । आज पनि एकेडेमी सांस्कृतिक संस्थानमा पार्टीकै मान्छेहरु भर्ती हुने गरेका छन् । यसले साँचो सर्जकको भलो हुने देखिँदैन । सर्जक पुरस्कार र पदकको पछि पनि दौडिएका देखिन्छन् । यो प्रवृति असली सर्जकलाई पटक्कै सुहाउँदैन । जेके रोलिङले जस्तो लेखेरै राजपरिवारको जस्तो जीवन जीउन त सकिँदैन तर राम्रा सर्जक पाठकले जहिले पनि खोजिरहनेछन् । अब बन्ने संघीय राज्यमा भने सर्जकको हितको लागि संवैधानिक भाषिक र साहित्यिक प्रतिष्ठानहरु खोल्नु जरुरी छ ।
♣ कस्ता साहित्य बढी राम्रा र कालजयी हुन्छन् तपाईंको बिचारमा ?
-मलाई त काल्पनिकता अनुभव नहुने रचना धेरै मन पर्छन् ।मुनामदन जस्तो कृति लोकजनजीवन चित्रणले नै कालजयी बनेको हो । अहिले आफुले खाएको लाएको वा घुमेको आत्मरतियुक्त संस्मरण वा कथाहरु धेरै पढिन्छन् । हुन त अहिले कविता ल्यापटपमा लेखिने गरिएको छ । तर आफ्नो भूगोल र परिवेशको मुहार र आफ्नै दुःख पढिने रचनामा पाठकले पायो भने उसले त्यसलाई अवश्य सम्झिरहन्छ ।
♣ समग्र नेपाली साहित्यको बिकासमा डायोस्परिक साहित्यको भूमिका कस्तो देख्नु भएको छ ?
-अहिले धेरै कृतिहरु नेपाली डायस्पोराबाटै निस्किएका छन् । रहरले डायस्पोरिक कृतिहरु निस्कन्छन् भन्ने भनाइ ठीक होइन धेरै नवीनतम विचार र गुणात्मकतामा पनि डायस्पोरिक सिर्जना मलाई राम्रा लाग्छन् । तर सिर्जनालाई भुगोलको हिसाबले तुलना गर्न राम्रो होइन । नेपाली साहित्यको विकासमा डायस्पोरिक साहित्यको भूमिका बढेर गएको छ र यो भोलि झनै बढेर जाने देखिन्छ ।
♣ बिशेष गरी नेपालका जनजाती स्रस्टा सर्जकहरु साहित्यमा धार र बादको कुरा गर्छन्। तपाईं आफूलाई कहाँ नेर उभ्याउनुहुन्छ ? यसरी आएका बिभिन्न धार र बादहरु प्रती तपाईंको निजी धारणा के छ नि ?
-हो, सिर्जनशील अराजकता जस्ता साहित्यिक आन्दोलन पनि चलिरहेका छन् । साहित्यमा धार र वादले सिर्जनालाई नयाँ उचाईँ दिलाउँछन् भन्ने मलाई लाग्छ । पश्चिमी साहित्यले पनि लेखकीय ढाँचा र विचारले नै विभिन्न युगलाई छुट्याएको छ । म अहिले साहित्यिक बादहरुको अध्ययन गरिरहेको छु । कुनै पनि स्वतन्त्र विचारमा सिर्जना गर्न सर्जक स्वतन्त्र रहन्छ ।
♣ तपाईंले थुप्रै देशी बिदेशी साहित्यकारहरुको कृति पढ्नु भएको होला नै। आज सम्म पढेका मध्ये कुन कृतिले तपाईंको मनलाई छुन सफल भयो र किन ?
-मैले एक वर्ष अघि पढेको पर्ल एस। बकको उपन्यास'द गुड अर्थ' मलाई सम्झना भइरहन्छ । अमेरिकी लेखिकाले चीनमा देखेको चरम गरीबी त्यसमा सजीव चित्रण गरिएको छ । लामो खडेरीका कारण आफ्नो ज्यान बचाउन आफ्नै बच्चा काटेर खानुपरेको बाध्यत्मक तस्वीर छ त्यसमा । त्यो उपन्यास पुलित्जर र नोबल पुरस्कार प्राप्त कृति हो ।
♣ कस्तो समय अवस्थामा फुर्छ तपाईंमा साहित्यिक सिर्जना ?
-सिर्जना फुर्ने कुनै समय हुँदैन । त्यो अफोह थ्योरी जस्तै बस्र्ट अफ माइन्ड नै रहेछ । तर जब कुनै दुःखले छुन्छ या पीडा हुन्छ वा खुशीले पुलकित पार्छ, केही लेखेर मात्र आफुलाई शान्त पार्न मन लाग्छ ।
♣ तपाईंको प्रकाशित र प्रकान्शोन्मुख कुनै कृतिहरु छन् कि ?
-०६० सालतिरै मलाई तपाईको कृति पठाइदिनु भनेर चिठी आउँथें । गजलको पाण्डुलिपी पनि तयार पारें, प्रकाशक पनि भेट्टाएँ तर मलाई रचनाहरु परिस्कृत गर्न मन लागिरहेको थियो । वीचमा अलि नभ्याएको नभनौं समय त्यतिकै बितेर गयो । यो वर्ष म एकैचोटि दुई वटा कृति निकाल्ने तयारी गर्दैछु । फुटकर रुपमा भने कम्तीमा ६/७ सय लेख रचना छापिए होलान् ।
♣ नेपाली साहित्यकारहरु मध्ये कुन साहित्यकार मन पर्छ तपाईंलाई र किन ?
-देवकोटा,पारिजात,श्रवण मुकारुङ्ग आदि । मलाई पढिरहेको चीजले नै किन-किन आफैंलाई मन पर्नुको कारण पनि सिकाइरहेझैं लाग्छ ।
♣ साहित्यलाई परिभाषित गर्नु पर्दा के भन्नुहुन्छ तपाईं ?
-साहित्य जीवन र जगतको कलात्मक प्रतिविम्ब हो ।
♣ साहित्य क्षेत्रमा लागेर तपाईंले के कस्ता पुरस्कार सम्मान पाउनुभयो अहिलेसम्म?
-'तेस्रो आवाज' साहित्यिक मासिकले ०६३ मा सम्मान गरेको थियो । मैले काम गरेको मिडियाले सम्मानपत्र थमाएका छन् । प्रतियोगितामा त थुपै्र पुरस्कार जितेको छु ।
♣ अब नेपाली साहित्यले कुन दिशा पक्रेर जानु पर्छ जस्तो लाग्छ तपाईंलाई ?
-साहित्यलाई सर्जकको चेतनाले दिशानिर्देश गर्छ । अहिले जातीय उत्पीडन अधिकार र पहिचानको कुरा सिर्जनामा घनीभूत भएका छन् । आन्दोलनमा स्रष्टा सडकमै थिए । आफ्नो अधिकारको लागि सिर्जना हतियार बन्न सक्छ भने कुनै पनि स्रष्टा समुदायको लागि चुक्नु हुन्न ।
♣ विश्व साहित्यमा नेपाली साहित्यको ठाउँ कहाँनेर छ जस्तो लाग्छ तपाईंलाई ?
-विश्व साहित्यलाई हेरेर या दौडेर जान सकिदैन तर नेपाली साहित्यलाई भूईँमा मात्र छाम्नु र अरुलाई आकाशमा हेर्नु पनि राम्रो होइन । हिजोभन्दा आज केही विकसित छ अवस्था । मान्छेहरु टिकट काटेर कविता सुन्न थालेका छन् । सुन्ने कविताहरु पनि बजारमा पाइन्छन् । अनुवादहरुमा बढोत्तरी भएको छ । यसलाई बढावा दिनु आवश्यक छ । राज्यले पनि मापदण्ड बनाएर प्रोत्साहन दिनु जरुरी छ ।
♣ साहित्यमा तपाईंको के गर्ने भावी योजना छ ?
-साहित्यमा नयाँ सोंच आइरहनुपर्छ भन्ने मेरो पनि मान्यता र सोंच छ । म अब अलि बढी लेख्न थाल्छु होला ।
♣ अन्त्यमा साहित्य-सागरका साहित्यप्रेमी पाठकहरुलाई केही भनिदिनुहुन्छ कि ।
-राम्रा पाठक भनेका सबै सर्जक नै हुन्छन् । वास्तवमा बढी सर्जक नै पाठक पनि हो । थोरै र राम्रो सिर्जनाले साहित्य आफैं समृद्ध हुन्छ ।
♣ धन्यवाद। तपाईंको अमूल्य बिचारहरुको लागि ।
-निश्छलजी, साहित्यसागरको चौतारीमा तपाईसँगको कुराकानीले म आनन्दित भएको भएँ । धन्यबाद ।

गजल









-आचार्य प्रभा
केहीपल टाढिदै छु टाढा मलाई नठान्नु है
बिछोड भो त के भो र ? पराइ नमान्नु है

सधैं साथ कहाँ हुन्छ ? छुट्टिनु त छदैछ
झझल्कोले पिरोले,माया बढेको जान्नु है

एक्लो पलले पीडा दिए, बाडुलीमा आइदिनु
कल्पनाको संसार नै मिठो भेट ठान्नु है

हरेक पलको बिछोडमा तड्पिएरै बाँच्नु पर्छ
कही कतै माया खोजे, मेरै माया छान्नु है

- अमेरिका

कबिता

प्रभू आशिर्बादको

-रामकुमार श्रेष्ठ
प्रिय,
मैले त भनेकै थिएँ नि
कुनै दिन औंसी र पूर्णिमा एकै दिन हुन सक्छ भनेर
तर तिमीले कहिल्यै पत्याइनौ
ल तिमी आँफै हेर त
कसरी आज औंसी र पूर्णिमा संगसंगै भैरहेछ
तिमी भन्छौ कस्तो निस्पस्ट अन्धकार रात
रातो पिरो दौरा सुरुवाल गुरु भन्दैछ -
टहटह जुन लागेको कस्तो रमाइलो रात
उस्को कुराले तिमी भने “मूर्ख” भन्दै अट्टहास छाड्छौ
ऊ भने झसंग झस्केर आत्मग्लानी पूर्वक
देखाउनकै लागि भने पनि सकी नसकी मुसुक्क हाँस्छ
होइन के हो यस्तो यो ?
प्रिय तिमीले बुझिनौ
रात र दिनको यो दिग्भ्रम कहाँबाट कसरी आयो ? -
यस कारणले कि प्रभूको अपरंपार लीला बिचित्रैले छायो ,
परेवादेखि चतुर्दशीसम्मको चौध दिन नै गायब
तीन चित खाइरहेको रातो पिरो दौरा सुरुवाल गुरुको लागि
चिताउँदै नचिताएको कुरा पनि कति पायक ?,
प्रभूको आशिर्बाद पाए औंसीको रात पनि पूर्णिमा बन्ने
स्वाभिमानीको लागि औंसीको रात नै धन्य धन्य ।
देख्यौ त प्रिय
मैले जे जे हुन्छ भनेको थिएँ
त्यही त्यही भयो कि भएन
मैले साँढे ब्याउँछ भनेको थिएँ
आखिर ब्याएरै छाड्यो,
गंगा उल्टो बग्छ भनेको थिएँ
आखिर बगेरै छाड्यो,
यहाँ के हुन्न प्रिय
यहाँ त सबै थोक हुन्छ
संसारमा कहीं संभब नहुने कुरो
यहाँ संभब हुन्छ -
रात दिन हुन सक्छ अनि दिन रात
औंसी पुर्णिमा हुन सक्छ अनि पुर्णिमा औंसी
केबल प्रभूको आशिर्बाद चाहिन्छ प्रिय
सबैको कल्याण गर्ने पशुपति
र तेत्तिस कोटी देबी देबताहरुले
अल्छि गरेर के हुन्छ र
अहो रात्र दौड धूप गर्ने प्रभू भएपछि
जाबो गाइजात्राको लागि बर्ष दिन कुर्नु पर्छ र प्रिय
जुन बेला जस्तो आबस्यक पर्छ
त्यस्तै गाइजात्रा मन्चन भै हाल्छ
खप्पर बलियो नहुनेहरुले उजुरी हाले हाल्छ ।

लोक लाजको पनि कुनै अर्थ हुन्छ र प्रिय
यहाँ लाज त लोकलाई पो हुने भयो त
लोकको तोक शोकमा किन पर्दैन त प्रिय
चौबिसै घण्टा ब्यस्त प्रभूसंग
नारी खौंचेर लिन खोजेपछि टक्कर
आइपर्छ नि त नसोचेको अक्कर
प्रभूको आशिर्बाद पायौ भने त प्रिय
तिमी लाटो, लंगडो, खोरण्डो, कानो, बहिरो, लठेब्रो
जे भए पनि केही फरक पर्दैन नि प्रिय
लोकतन्त्र त प्रभूतन्त्रमा परिणत हुन्छ प्रिय
लोकतन्त्र प्रभूतन्त्रमा
औंसीको रातमा
टहटह जुन लाग्न थाल्छ प्रिय
टहटह जुन
त्यसैले प्रभू आशिर्बादको मर्म बुझ प्रिय
प्रभू आशिर्बादको मर्म ।


-केण्ट, बेलायत

Saturday, May 30, 2009

गीत













कसरी भुल्न

-दिलिप योन्जन
कसरी भुल्न सक्छु र आधा बाटो हिडे पछि
कसरी फुल्न सक्छु र तिम्ले जरा काटे पछि।

कहिले हासेको छु र तिम्ले आँशुमा डुबाए पछि
खुशी कहाँ मिल्छ र मुटुमा चोट लागे पछि
मनको बाँध फुट्दोरहेछ,तिखा बचनले घोचे पछि
देउता पनी झुटो भाछ, बाचा कसम तोडे पछि।

रसाई दिन्छ परेलीहरु, बितेका याद बल्झे पछि
झस्कि दुख्छ रातहरु, मिठा सपनीले छाडे पछि
टुटे फुटे चाहानाहरु, फुलेको फूल झरे पछि
काँडा भयो जिन्दगानी, बिश्वासमा घात लागे पछि।


-अस्टिन, अमेरिका

प्रकृति गीत

हेर त्यो नभलाई

-आचार्य प्रभा
हेर त्यो नभलाई तिमी
कति स्वच्छ अनि मनोरम छ
अटल अनि अमर छ सदा
धर्ती र आकाशको सँगम छ त्यहाँ
साँझ जब रंगिन बन्छ
क्षितिजले लाजको घुम्टो ओढछिन्
गोधुली साँझ जब सुनौलो बन्छिन्
चराहरु चिर्बिराउन थाल्छन्
सोध त्यो धर्तीलाई तिमी
कति महान अनि अजर छौ भनी
पाउनेछौ जवाफमा तिमी
सहनशिलताको खानी हुँ भनी
बसन्तमा जब पालुवा फेरिन्छ
कोपिलाहरु फक्रन थाल्छन्
सुषुप्त बैंश उर्लिएर
रूपको मादकता छर्न थाल्छन्


-बोल्डर कोलोराडो, अमेरिका

कबिता

बेअर्थी जीबन

-केदार श्रेष्ठ 'गगन'
आज
सरम लागिरहेको छ
मुख देखाउनै नसक्ने भएको छु

अपुरो छ
अधुरो छ
अपाङ्ग भएको छ जीबन
विकलाङ्ग बनाइदिएको छ समयले
हरे!
यो कस्तो समय आयो
सोचेको पनि थिइन
नदी उल्टो बग्छ भनेर
समुद्रमा आगो लाग्छ भनेर

छातिमा सुनामी आएको छ
चिहिलविहिल भएको छ इन्द्रियहरु
भाव शून्य भएको छ चेतना
किन जाग्दैन
युबा जोश जागर
कति अर्कैको पछि लागेर
उधारो आश्वासनमा
झुठो कुरामा साक्षी बसी
पक्ष-विपक्ष
अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रभित्र जस्तो
टेवुल ठोकिरहन्छ सधैँ जिन्दगी

धागो चुडिएको चङ्गा मन
तारे भीरमा अड्किएर बसेको छ जीवन
कतिखेर बुङ्ग धुलो उडाएर
खस्ने हो भुईँमा
भरोसा छैन जिन्दगीको

पहिले
समुद्रको छालजस्तै
मडारिदै-मडारिदै आउँथ्यो मनमा
ईच्छा
रहर
भावना
र कल्पनाहरु
तर
आज निर्जिव भएको छ मष्तिष्क
अधकल्चिटिएर
जिविल्किएको छ मनमा उब्जिएका
ईच्छा
रहर
भावना
र कल्पनाहरु

अझ भनौँ-
तुहिएको छ
आशा र भरोसाहरु
वेअर्थी भएको छ जीवन
त्यसैले
आज मलाई सरम लागिरहेको छ
ग्लानी र पश्चातापले
सूर्यझैँ रातो भइरहेको छु ।


-भीमस्थान -५, सिन्धुली
हाल: यु ए ई

गीत









एउटा निर्दोष मुटुसँग

-गीता थापा
कत्ति मिठो खेल तिमीले खेल्यौ एउटा निर्दोश मुटुसँग?
भेल आयो पहिरो गयो तर याद बगेन आशुँसँग ।

रित्ताइ दिउँ आफूलाई भनेर केही बेर सोचेँ
फेरि बुझाई आँफैलाई रोकेँ
कहाँ थन्काउँ यी मनभरिका पिर
मनलाई छेड्ने अनगिन्ती झिर

यो दुनियाँ हेर्छु मस्त छ आफूमा
अरुको परवाह छ, न वास्ता छ उसमा
म मान्छे भै'कन किन यति अनौठी ?
लुट्नु लुट्यौ खेलेर खेल बनावटी ।

कत्ति मिठो खेल तिमीले खेल्यौ एउटा निर्दोश मुटुसँग?
भेल आयो पहिरो गयो तर याद बगेन आशुँसँग ।


हाल: इजरायल

कबिता










केवल भावना मात्र आफ्नो लाग्छ

-आचार्य प्रभा
मौन छ शहर,
सडक,बाटाहरु पनि शुन्य छन्
तर मेरो... मन भने
एक तमासले कोलाहलको आभाषको अनुभुत गरिरहेछ ।
किनकि मन बेचैनीले उकुसमुकुस छ,
आँफैमा केही हराएको,केही गुमाएको,
बोध गरिरहेछ,
किन होला ?
मन अशान्तिको खण्डहर भित्र अल्मलिरहेछ
हाँसोका छिटाहरु केवल
मन भित्र नै सिमित छन्
अधरमा निराशा मात्र छाएको छ
चाहना र आशाहरुको लिलाम भए झै लाग्छ ,
केवल ...भावना मात्र आफ्नो लाग्छ
शायद ... यत्तिखेर मन
नमिठो पीडामा डुबेर पो हो कि ?


-अमेरिका

Thursday, May 28, 2009

गजल

-अनामिका
बिर्सिएकी जस्तो लाग्दा मुटु फेरि दुखाउँछौ
सबै कुरा थाहा भयो अझै कति लुकाउँछौ ?

तिम्रो चाहा पुरा गर्न सबै काम गरे मैले
कति दिन अझै मेरो आत्मा तिमी सुकाउछौ ?

धेरै पटक समाजमा अपमान त तिम्रो भयो
अझै पनि पटक पटक बोली कति चुकाउछौ ?

बिना गल्ती मैले तिम्रो निम्ती कति हारिदिए
उसको सामु तिमी मलाई अझै कति झुकाउछौ ?

संस्मरण

त्यो रातलाई सम्झिदा
-राज राई 'संगम'
कथा यसरी सुरु हुन्छ । हामी ३ जवान ठिटाहरुको सुर न तालको यात्रा बाट । बिना लक्ष्यको यात्रा शुभारम्भबाट । बेलुकीको ४ बजिसकेको थियो । सूर्यनारायणको तेजिलो किरण हरु अब बिस्तारै शुन्यतामा परिणत हुँदै थियो ।काठमाडौको पट्यार लाग्दो बर्साई एक किसिमको दिन भरीको छटपटी नै हुन्छ । उसै माथि स्वस्थ खराब भएको आज २ दिन भई सकेको थियो मेरो । ज्वरो आउने , खाना नरुच्ने यस्तै थियो । आज पनि बिहान देखी खाना रुचेको थिएन। शरिरमा शक्तिको कम्ति महसुस भई रहेको थियो तर बिमारीले भने राम्ररी नै छोडेको महशुस गरेको थिएँ ।
मेरो नजिकको मित्र नारायण श्रेष्ठ , हर बेलुकी पख टहल्न निस्कन हाम्रो दैनिकी जस्तै भईसकेको छ । आज पनि यहि मनसायले मलाई भेट्न आईपुगेको थियो उ । ” जाउँ तौलुङतिर हावा खान ” यो पहिलो बोलीमानै म उनको पछि लागी सकेको थिएँ । बेफ्वाँकको काठमाडौ बर्साई , काम पनि के नै पो थियो र , जसरी तसरी दिन त काट्नै पर्‍यो । मेरो सानो भतिज ” बिबेक ” पछाडी लागेको थियो र साथमा सानो श्रेष्ठ भाई पनि । त्यति बेला सम्म ” किशोर ” पनि आई पुगि सकेको थियो , उ मेरो घनिष्ठ मित्र हो । हामी ५ जना अब बिना सोचमा आफ्नो पाईला हरुलाई आगाडी बढाउन थाल्यौं चपली गाँउको सिरान तौलुङ गाँउ तर्फ। मलाई तिथि मिति यकिन भएन त्यति बेला जनआन्दोन भाग २ एकदमै गरमा गरम रुपमा तातिएको थियो , सायद अन्तिम अबस्था तिर पुगेको थियो । बैसाख महिना हो , आजको दिन बाग्मतिको मुहान ” बागद्धर ” जहाँ ठुलो मेला लाग्ने दिन रहेछ । शिबपुरी डाँडा बाट पनि पल्लो पटि्ट , नुवाकोट नजिक । तर द्धन्दको कारणले केहि साल अगाडी बाट त्यहाँको देबिलाई यहि बुढानिलकण्ठ भन्दा उता पटि्ट तौलुङ गाँउमा ल्याएर पुजा गर्ने चलन् बनाएका रहेछन त्याहाँका तामाङग समाजले । हाम्रो यात्रा अब त्यातै निस्चित भयो ।
तौलुङ मा पुग्दा साँढे ४ भई सकेको थियो । तर हामीले सोचे जस्तो चहलपहल थिएन त्याहाँ , न त देबी नै थियो त्याहाँ न त मेला नै । सुनसान चकमन्न वातावरण । ” हिस्स बुढि हरियो दाँत ” भने झैं भयौं हामी । कुरा बुझ्दा हामी धेरै ढिलो भएछौं । देबी ल्याएर पनि फर्काईएछ , ” जानु नि भाई हरु बाग्द्धरमानै यस्तो जवान भाई हरु , एक डेढ घण्टा लाग्ला ” भटि्ट वाला तामाङगनी दिदीले हामीलाई हौस्याउनु भयो । किशोर र नारायणले ” कि जाँउ त ” भन्ने जोश देखाए पछि हामीले यता उता सोध्यौं , पुग्नलाई मात्र एक डेढ घण्टा लाग्ने बताए सबैले । हामीले हिसाब लगायौं हामीलाई जान एक घण्टा आउन एक घण्टा , जुनको रात बढिमा साँढे सात सम्ममा जसरी पनि हामी फर्कि सक्छौं , यस्तै हिसाब पास भयो हाम्रो । भतिज र सानो भाईलाई फर्कायौं त्याहि बाट । एक पल्ट उकालो तिर नियालें मैले शिबपुरी डाँडाले आकाश छोएझैं लाथ्यो । नयाँ यात्रा , अपरिचित जंगल , पहाडका बाटा हरु , समयले पुग्ला कि नपुग्ला , हामीलाई संका लागेको थियो । तर अरुको हौसलाले हाम्रो जोश थप्यो । शसंकित पाईला हरु बिस्तारै उकालो तर्फबढायौं । उकाली ओराली बन पाखा नभोगेको मेरा दर्ुइ साथिले त आँट गरेका थिए भने म त उहि भिर पाखा मेरो प्यारो ओखलढुंगाको काखमा खेलेर हुर्केको मान्छे किन पछि पथर्ें र तर बिमारीले अलिकती जोश कम्ति थियो । तै पनि साथिहरुको आँट लाई मर्न दिन उचित ठानिनँ । अनेकौं खुट्किला , घुम्ति अनि पट्यार जंगलको बाटो लाई छिचोल्दै हामी क्रमश उकालो बढि रह्यौं । अलि मास्तिर पुगे पछि ओराले झरी रहेका एक हुल मान्छे हरु सँग भेट भयो । बच्चा र आइमाइ मान्छे हरुको हुल थियो । कसैले त घाँस दाउरा पनि बोकेका थिए , मलाई गाँउ घरतिरको याद आयो । ” कहाँ पुगेर हो दिदी हरु ” मैंले सोधें ” हामी बाग्द्धर बाट हो , अनि भाई हरु पनि त्यतै हो - ” सबै भन्दा पछिल्लो दिदीले भन्नु भयो । ” हजुर हो , हामी त नयाँ मान्छे बाटो के कस्तो छ दिदी - ” कुरा सटकट मा गर्नु जरुरी थियो किन कि उहाँको साथि हरुले उहाँलाई छोडी सक्नु भएको थियो । ” भाई हरुलाइ रात त पर्छ नै तर पनि जवान मान्छे गारो हुन्न , माथि डाँडा हर्ेर्दै उकालो जानु बाटो बिर्दैन । हाम्रो सानो १ जना भाई लाई नारायणथानको दिदी हरुले बाटो चिन्दैनौं भनेर फर्काएर लानु भाछ माथि डाँडा सम्ममा त भेट्नु हुन्छनै छिटो र्फकनु भन्नु ल भाई हरु ” हुन्छ भन्दै हामी लाग्यौं उकालो । हामीलाई शाहस ठुलो मिल्यौ किन कि उकालो जाने मान्छे हरु पनि रहेछन भन्ने थाह भयो । बाटोमा आउने जाने मान्छे नभेटेर निरास भएका थियौं हामी ।
शिबपुरी जंगल , काठमाडौको नजिकैको डाँडा , तल शहर बाट जति आकर्ष र सुन्दर देखिन्छ उतिकै आकर्ष त्यास बन भित्रको यात्राले मन लोभ्याउँदो रहेछ । यस बन् भित्रको प्रकृतिक दृश्यबलोकनले साँच्चै मेरो भोक तिर्खा हराएको थियो । उसै पनि ऋतुराज बशन्तको रौनकता , रुखका काप हरुमा झपक्क फुलेका सुनाखरी , राताम्या फुलेका गुराँसको फुल हरु भर्खर पलाएका बुटा र झाङको हरियो पालुवा हरुमा त्यास माथि पश्चिम क्षितिजमा लोलाएको लालिमा को छड्के रक्तिम किरण हरु , ढिस्कोमा बसेर पर सम्म आँखा हुत्याउँदा यति शोभायमान देखिन्थ्यौ कि , लाग्थ्यौ बन भरी इन्द्रेणि छचल्किएको छ । हो , हेरेर कहिल्यै नअघाउने ति प्रकृतिका अनुपम उपहार हरुमा खेल्दै माथि डाँडाको सायद बिच भाग तिर प्रबेश गरि सकेका थियौं हामी ३ अन्जान यात्री हरु ।

अब हामीले बस्तिलाई निकै तल छोडि सकेका थियौं । हो यो भन्दा माथि पुरै पहाड र घनघोर जंगलको मात्र यात्रा थियो । खाने कुरा केहि बोकिएन भनेर हामीले निकै माथि पुगे पछि मात्र याद गर्‍यौं । जतिखेर हामीलाई भोक प्यास र थकानले लखतरान पारेको थियो ।म त झन बिरामीले भर्खर छोडेको मान्छे । त्यस माथि खाना नरुचेर रित्तो पेटको महशुस मैंले त्यतिबेला राम्रै सँग गरें । हामी ३ जनाको नै हात भरी गुराँस र सुनाखरीको फुल थियो । तिर्खाले ब्याकुल थियौं तर कतै पानी भेटिने सम्भाबना सम्म थिएन । गुराँसको फुल अनि जुरेकाफलको काँचो दाना चपाउदै पाईला पनि हतारमा चालि रहेका थियौं हामीले । नरायण र किशोर ले त रहरले चपाएका थिए सायद , तर मेर चपाइको मतलब भने अर्कै थियो , रित्तो पेटलाई अलिकती भए पनि उकास्नु र शरिरमा थोरै भए पनि ताकत जमाउनु । ” मलाई त सार्‍है भोक लाग्यो यार , के गर्ने हिड्न सकिएला जस्तो छैन । उस्तै थकाइ पनि धेरै लागेको छ । ” यति भन्दै म चुचे ढुंगा मथि गएर थचक्क बसें । अनि हात भरीको राताम्या गुराँसको फुल हरु चपाउन लागें । साथि हरु केही निरास देखिए ,” अब के गर्ने त - यतिकै पनि किन फर्किने यति टाढा आइपुगिसकियो डाँडा पनि अब त नजिकै देखिन थालियो ” शिबपुरी डाँडा तिर घाँटी तन्काएर हर्ेर्दै किशोर बोल्यो । तल खाल्डोमा देखिने काठमाडौ लाई खुब नियालेर हेरी रहेको थियो नारायण । म पनि फर्केर यतै । आहा क्या सुन्दर देखिन्थ्यौ काठमाडौ । घाम क्षितिजमा एक बित्ता मात्र बाँकी थियो । चारैतिर डाँडैडाँडाको बिचमा यति सुन्दर लाग्थ्यो काठमाडौ शहर , हो मैले काठमाडौलाई पहिलो पल्ट यो रुपमा हेर्दैछु । धरहरा , पशुपती , र्एयपोर्ट भनौं काठमाडौंको अंगप्रत्यांग नियाल्न सकिंदो रहेछ ।

हामी जति छिटो दौड्यौं सायद यो भन्दा अगाडी नै दौडियौ होला । मलाई यस्तै लाग्यो किन कि अब म सँग उभिने सम्म पनि ताकत बाँकि होला जस्तो लागेन , बाटो अझै कति बाँकी छ थाहा छैन हामीलाई , पानी को कतै मेलो पाईन्छ कि भनेर मैंले निकै पर पर सम्म आँखा पुर्‍याएँ तर सम्भाबना सुन्या थियो । फर्किने कि जाने उकालो मेरो निर्णय भर थियो अब , तल नियालें मैंले , पार गरेर आएको बाटो हरु नागबेली घुम्तिहरु जंगलले नढाकेको ठाँउमा गारेटोको रुपमा मात्र किरिङ मिरिङ देखिन्थ्यो । थाहै नपाई धेरै माथि आई सकेछौं हामी । त्यतिकै पर्कने त मन नै भएन । अब बिकल्प काफलको रुख तिर आँखा दौडाउन लागें म । अलि मास्तिर हाडे काफल झुप्प भुप्प धेरै फलेको रहेछ , ज्यानमा शक्ति नभए पनि जवानी पनको चन्चलता त्यतिकै हार खाने सवालै थिएन । हामीले काफलको रुखमा काँचो काफलका दाना हरु मुठी मुठी फाँक्न थाल्यौं । करिब १५ मिनट भित्र त मैंले पेट भरी सकेको थिएँ । म अब साँच्चै खुशी थिएँ , नया जोश भरिएको थियो म मा । साथि हरु पनि उस्तै खुशि देखिन्थे । तर हाम्रो खुशि लाई एउटा कुराले साथ दिएन , समयले नेटो काटिसकेको थियो । क्षितिजमा आधि भन्दा बढी डुबी सकेको घामले हामी भित्र सन्त्रास फैलायो । हामी अब उकालो दाडियौं । उस्तै पट्यार जंगल भित्रको गोरेटो बाटो यता र उता छुटिएको बाटो कता हो छुट्याउन गार्‍हो थियो । तै पनि शिबपुरी डाँडा को टार्गेट गरेर हामी हामी हस्याङ पस्याङ दौडी रह्यौं ।

रुखका पत्कर हरुले छोपिएको बाटो , कालिज हरु दैडिएको आवाज प्रस्ट सुनिन्थ्यौ । दुम्सि , सालक र लोखर्केले बनाएका दुलो हरु प्रशस्त भेटिन्थे । कालीज भुतभुते खेलेको माटोमा शोभायमान लाग्थ्यो । रंगि बिरंगी चराहरुको चिरबिर आवाजले बेलुकीपखको आभास दिई रहेको थियो । झार बुट्यान देखि लिएर बडेमाको रुखहरुले ढाकिएको बिशालकाय जंगल भित्र अब अँध्यारोपनाले भपक्क छोपी सकेको थियो । खल्मे , खरने ,लाङ्ठे , पलाट , खस्रु यस्तै रुखहरु प्रशस्त थिए । मलाई यति बेला अतिनै ठण्डिको महशुस भएको थियो , किन कि हामी निकै उचाईमा आई पुगेका रहेछौं । यी रुखहरुले मलाई याद दिलायो , जुन मेरो अतितको यादगर रुख हरु हून् । तारेभिर , मझुवा , गैरी डाँडा , भेडाखर्क , पौड्याल खर्क ,यतै बितेको अतित हरुमा यी रुखहरु सँग मेरो अबिस्मरणिय नाता रहेको छ । एक किशिमको अपनत्वको आभास नै भई रहेको थियो मलाई यी रुख हरुको प्रत्यक्षतामा । डाँडा निस्कनै लाग्दा झयाउ पलाएको ढूंगेधारा भेटियो , ठण्डिले तिर्खा हर्राई सके पनि अलि पिउनै मन लाग्यो अतित बितेको यादगर हावा , पानी , बोट बिरुवा , यी सफा कलकल बग्ने खोल्साको पानी देखेर । नारायण र किशोर मुखमा पानी पर्ने बित्तिकै भागे दाँत झर्ला जस्तो ठण्डि पानीले । मैंले थोरै पिएँ । डाँडामा फुत्त निस्कँदा अब फराकिलो बाटो भेटियो । मान्छेको आवत जावत कम भए पनि बाटो ठुलो र फराकिले बनाईएको थियो । डाँडाको ढुङगे चौतारीमा ३ जना आधाबैंशे दिदी हरु र एक जना सानो भाई भेटियो । हाम्रो खुशिको सिमा रहेन , दिदी हरु पनि खुशी हुनु भयो । सँगै जाने सल्लाह भए पछी हामी कुरा गर्दै अगाडी बढ्ंयौ । नयाँ हुनु हुँदो रहेछ दिदी हरु पनि सानो भाई चाँही आज बिहानै आएर र्फकने क्रममा फेरी दिदीहरुले बाटो नचिनेर यतै फर्काउनु भएको रहेछ । हामीले तल भेटेका दिदी हरुले भनेको मान्छे हरु उहाँहरुनै हुनु हुँदो रहेछ । अब हाम्रो हिंर्डाई धेरै ढिलो हुन लाग्यो किन कि दिदी हरुको मोटो ज्यान त्यास माथी हिड्ने बानी नभएको , यत्रो उकालोको हिर्डाई सामान्या थिएन । हामी तिनै जना जाडोले लगलग कामी रहेका थियौं । म त झन् एकसरो पातलो हाफ टिर्सट मा थिएँ । नारायण र किशोरको पनि गतिलो त कहाँ हुनु र नारायणको भित्र गन्जिमा हाफ र्सट र किशोरको चाँही फुल र्सटनै थियो । दिन पुरै रातमा परिणत भईसकेको थियो अब । आकाशमा गोलो चहकिलो चन्द्रमाको उपश्थिति भई सकेको थियो । आकाश छोलाझैं अजंगको रुख हरुको बिसालकाय जंगल भए पनि भित्र सम्म जुन छिर्नको लागी रोक्ने बाक्लो मसिनो रुख हरु थिएनन् । सबैको मन्मा डर र त्रासले मुटु धडि्क रहेको अबस्था थियो नै , दिदी हरुको मोर्टाई अली धेरैनै थियो उकाली ओरालीको बाटोमा सकस पर्नु स्वभाबिक हो , तर मलाई अचम्म लागी रहेको थियो कसरी यतिका उकालो पार गरेर यहाँ सम्म आई पुग्नु भयो । ” के गरौं भाई हो र्फकनु पनि कसरी र्फकने त्यसतो जंगलको बाटो छ ,अँध्यारो उस्तै, गोरेटो बाटो यता र उता ,हिर्डाई पनि यस्तो छ ” सबै भन्दा मोटी दिदीको गुनासो थियो यो । सँगै जाने सल्लाह त थियो तर यतिका ढिलो हिंर्डाईमा हाम्रो त्रासदी र चन्चलता उस्तै उत्सुकता , मनैले मानेन हामी अगाडी बड्न कसियौं ,दिदी हरुले पनि रोक्न चाहनु भएन ।
अब हाम्रो पाईला हरु धेरै छिटो चल्न थालेको थियो । कतै खोल्सा कतै डाँडा यस्तै बाटो हरुलाई पार गर्दै हामी चकमन्न साँझ भित्र हतार दौडिरहेका थियौं । मानब अष्तित्वको कतै नाम निसाना सम्म आभास हुँदैनथ्यौ । नजिक्को बस्ति भन्नु सायद उहिँ २ अर्ढाई घण्टा तलको बुढानिलकण्ठ , तौलुङ नै होला । केबल जंगलै जंगलको राज , धेरैनै बितिसकेको साँझ , हो हामीमा यति छटपटि थियो कि हामीले केहि निर्णय गर्न सकि रहेको थिएनौ । गन्तब्यामा पुग्न पागलझैं दौडिरहेका छौं । अझै बाटो कती छ , केहि थाहा छैन हामीलाई । हामी निकै पर खोल्सामा पुग्न लागेको थियौं , यतिकैमा केही मान्छेको गुनगुनाहट सुनियो , मनमा खुशिको तरंगहरु छचल्कियो , कान चनाखो पारेर हामी अगाडी दौडी रहेको थियौं , यतिकैमा अचानक त्याहाँ देखिएको दृस्याले हामी झन्नै बेहोश भयौं , बाटोलाई बिचमा पारेर तल र माथि ८-१० जना युबा हरु छरपस्ट बसेका थिए , बाटोको बिच भागमा एक जना करिब ३०-३५ को लाग्ने युबा लाई लामो काठको घोचामा छालाको पेटीले ३-४ ठाँउ बाँधेर बोक्न लाई सजिलो बनाएर लम्पसार तेर्स्याईएको थियो । जंगल भित्रै भए पनि त्याहाँ सम्म छिरेको जुनको टह टह उज्यालोमा हामीले राम्रो सँग नियाल्न सक्यौं । मनलाई काबुमा राख्दै हामी उनिहरुको बिच हुँदै अगाडी बढ्यौं । साँघुरो बाटो भएकोले बाँधिएको मान्छेलाई जोगाउँदा जोगाउँदै पनि खुट्टालै छुने अबस्था थियो । डराउदै भए पनि त्यास मान्छे लाई नियाल्न भ्याँए मैंले । खुट्टामा एउटा मात्र हातिछाप चपल थियो त्यास युबाको कपडा पुरानो र मैंलो लाग्थ्यौ । कपडा हरु पनि च्यातिएको थियो । जिबित थियो या मृत थियो हामी कसैले भेउ पाएनौं , ति युबा हरु रक्सिको नसामा थिए , टाढै बाट रक्सिको गन्ध थाहा भयो । यत्र तत्र रक्सिको बोतल र ड्रम हरु फालिएका थिए । त्यास ठाँउलाई पार गरेर अगाडी बढ्यौं त्यास बाँधिएको मान्छेलाई घिसार्दै ल्याईएको पनि प्रस्ट देखिन्थ्यौ । निकै पर एउटा हाती छाप चपल देखियो । जुन उहि युबाको खुट्टामा रहेको चपलको जोडी थियो । त्यो एउटा कुराले आज पनि मलाई उत्सुकता जगाई रहेछ , जुन त्यास युबालाई बाँध्नुको रहस्या के थियो - त्यास युबा मृत थियो या ज्युँदो - त्यास घटना उद्धार थियो या अपराध - यदि उद्धार थियो त किन त्यातीको लापार्बाही - अपराध थियो त किन त्यतीको खुलेआम - जब कि मेलाको समय बाटोमा जो पनि हिड्न सक्छ । त्यास एकान्त जंगल भित्रको सुन्याता लाई के आफ्नो शक्ति ठानेका थिए तिनिहरुले ।
घटनाले हामी धेरै डराएका थियौं हाम्रो पाईला अझ छिटो चल्न थाल्यौ । अब त पुगियो होला ,पुगियो होला भन्दा भन्दै कहिल्यै पुगिएन गन्तब्यामा पनि । हामी हताश थियौं । यतिकैमा फेरि हामी खोल्सा भित्र छिरेका थियौं , रुख र ढिस्को ले जुनको किरण लाई छेकिएको थियो , अँधेरो थियो खोल्सा , फेरी मानब आवाज हरु गुञ्जिएको सुनियो , नजिक जम्काभेट हँुदा मात्र हामीले एक अर्कालाई देख्यौं । पहिलेको घटना सम्झेर हामी फेरी झस्कियौं । ३ जवान रहेछन् तिनिहरु पनि सायद सुरष्क्षाको हिसाबले नै हुनसक्छ आफु भन्दा लामो लामो लौरो टेकेको टक् टक् आवाज टाढा बाट नै सुनिन्थ्यौ । भेट हुँदा रक्सिको गन्ध हृवस्स आयो , पाईलाको पनि ठेगान थिएन । ” दाई हरु बागद्धर कति टाढा होला - ” अली अगाडी आए पछि मैलें सोधें ” हामी सँग नबोल्दा नै राम्रो होला ” पछिल्लो लम्बु बोल्यो । चुप चाप बाटो लाग्नु नै ठिक थियो । अचम्म लाग्यो हामीलाई , र साथमा हामी धेरै डराएको पनि थियौं , मुर्ख देखि दैब डराउनु नै पर्छ । हामी अब एउटा अग्लो ढिस्कोमा पुग्यौं , जहाँ बाट टाढा सम्म नियाल्न सकिन्थ्यौ । हमिले बागद्धरलाई निसाना बनाएर हेर्‍यौं , ओहो दिमाग खराब त अब भयो हाम्रो जता ततै जंगल मात्र क्षितिजमा झैं लाग्थ्यो टिल पिल बत्ति बलेको देखिन्थ्यै आगो बालिएको देखिन्थ्यौ , हो बागद्धर यहि थियो किन कि त्यो भन्दा यता नजिक त बिशाल जंगल मात्र थियो । तल तल नुवाकोट को गाँउ हरुमा टिलपिल बलेको बत्ति हरु मधुरो देखिन्थे । हाम्रो आँट आएन भर्खर सम्म हतारिएका हाम्रो मनस्थिति अब पुरै सेलाई सकेको थियो । ” ल फर्कौं ” रुन्चे स्वरमा झैं बोलेको थियो नारायण । हामी दुबैले साथ दियौं उसको स्वरमा । बाध्याता पनि यहि थियो ।
ज्यान गलेको यतिखेर मात्र थाह भयो हामीलाई । मन त उसै गलेको थियो । जोश र जाँगर एकै चोटी गुम भयो । कसरी र्फकने त अब - तल तल जंगल भित्रको अँधेरो रात । दिउँसो नै त गोरेटो बाटो हराउथ्यो , निरास निरास बन्दै हामी ओरालो झर्‍यों । अब पहिले भेटेका मान्छे हरुबाट कसरी बच्ने , नसा लागेको मान्छे हरु त्यतिकै पनि लफडा हुन सक्थ्यौ । त्यासै पनि राम्रो नियतको मान्छे जस्तो लाग्दैनथ्यौ । ति दिदी हरु के गरे होलान् - फर्किए कि - यस्तै कुरा गर्दै हामी सुष्त सुष्त पाईला ओरालो बढाउन लाग्यों ।

निकै यता आए पछि केहि खैला बैला सुनियो , हामी होशियारी साथ अगाडी बढ्यौं , नारी आवाज प्रस्ट भयो । उहिँ दिदी हरु हुनुहुन्थ्यौ । हाम्रो फेरी एकपटक खुशिको सिमा रहेन , होसहवास गुम भई सकेको रहेछ दिदी हरुको पनि । हामीले सोध्ँयौं , मान्छे घिसार्ने हरु कहाँ भेट्नु भयो भनेर , डर्राई रहेको आवाजमा तल भेटेको , त्यो मान्छे मरेको या जीउँदो त्यो थाहा नभएको कुरा बताउनु भयो । बागद्धर तिरको कुरा सुनाए पछि दिदी हरुको पनि आँट आउने कुरै भएन । रातीको एक दुई बजे पनि हामीलाई नछोडनु सँगै जानु पर्छ भन्दै हामी सँग फर्किनु भयौ उहाँ हरु पनि ।अब हामी सात जनाको टोली भयौं । केहि ढुक्क पनि थियौं । अलि यता आए पछि फेरी मान्छेको खैला बैला सुनियो , हामी फेरी होशियार भयौं , केहि क्षण उभिएर सुन्यौ आवाज हामी बाट नजिक थियो । मान्छे हरु धेरै थिए । गु्रप भित्र भुढापाका को पनि आवाज सुनिए पछि केहि ढुक्क भएर अगाडी बढ्यौं । त्याँहाँ पुगेर थाहा भयौ उनिहरु को पनि हाल करिब हाम्रो जस्तो नै रहेछ । सात जनाको गु्रप थियो उनि हरुको । अब हामी सबैको सल्लाह नमिल्ने कुरै थिएन , किन कि हाम्रो समस्या एउटै थियो । हामी १४ जनाको गु्रप बन्यौं , उनिहरुको हुल पनि सबै नयाँ रहेछन् । एउटा बुढो बा चाँहि पहिलो साल एकपटक आउनुभएको थियो रे । उनिहरुको साथमा खाने कुरा हरु प्रसस्ति थियो , चाउचाउ , बिस्कुट , गुल्कोज , पानी । हामी तिर पनि शेयर गरे , त्यति बेला पो अनुभब भयो मलाई काफलको दानाले राम्ररी नै छोडी सकेको रहेछ । मान्छे घिसार्ने हरुको बारेमा सोध्दा अली तल मात्र भेटेको बताए । हामी फर्कि सकेका थियौं उकालो । सुष्त हिडाइँमा साथि हरुले ल्याएका खानेकुरा चपाँउदै । बागद्धर पुग्ने बेला अली यतै बाट ठण्डि महिना आगो ताप्नु पर्छ भन्दै साथी हरुले सुकेको दाउरा हरु आफुले सकेको बोक्न लागे । लेकाली ठाँउ , बिशाल जंगल भित्र प्रशष्त सुकेको दाउरा हरु पाईन्थ्यौ । हामी सबैले बोक्यौं । केहि समय अगाडीको त्याती धेरै नमिठो पल अहिले साँच्चै रमाईलो वाताबरण छाएको थियो हामी बिच ।हामी बागद्धर पुग्यौं । मुलथान भन्दा अली मास्तिर मेला लागी रहेको थियो । करिब १०० जस्तो को हाराहारीमा मान्छे हरु थिए । त्याँहाँ पुग्दा रातीको करिब ९ साँढे यस्तै भएको थियो । नुवाकोटे तामाङहरुको सानो तिनो छाप्रा हरुको होटल थियो , केहि खानेकुरा हरु चाउचाउ , थुक्पा , अण्डा , केही भुटेको मासुका साथमा लोकल रक्सि हरु थिए । ठण्डि मौसम लोकल रक्सि र मासु अली धेर बिकि रहेको थियो । हामीले आफुले लगेको दाउरा बालेर आगो ताप्दै नयाँ साथी हरुले ल्याएको खानेकुरा हरु खायौं । अरु ठाँउमा पनि यस्तै आगो बली रहेको थियो । हाम्रो त केही थिएन बेबारिसे हिडार्ँइ त थियो । हामीमा अब एउटा चिन्ता थियो कसरी रात बिताउने । यस्को पनि उपाए निस्कि हाल्यो । छेउमै शिबपुरी बाबाको कुटी रहेछ । बाजेले चार जना दिदी हरु र हामी तिन जना लाई त्याँहाँ लानु भयो । अचम्म र गजब पनि लाग्यौ मलाई । सानो सानो दर्ुइ तले घर थियो , त्यास भित्र दाल भात खाई रहेका थिए मान्छे हरुले । हामी छिर्ने बित्तिकै खाना खानको लागी हात धुन भनियो हामी ३ जनाले खाएनौ । दिदी हरुले खानुभयो । खाना सुत्नको पैसा नलाग्ने रहेछ । दिदी हरु माथिल्लो तलामा सुत्नुभयो । हामी तल्लो तलामा । त्याती धेरै मान्छेको बिच हामीले एउटा कम्बल पाएका थियौं । अर्को पातलो कम्बल ओछ्याउनको लागी थियो । भुइँको चिसो र जाडोले निन्द्रा नलागे पछि हामी बाहिर निस्कियौं आगो ताप्न तिर । आगो ताप्दै गाँजा ,चुरोट तान्नेहरु पनि उस्तै थिए । हामीलाई पनि कर गर्थे। कहिले तान्ने बानी नभएकोले हामीले तानेनौं ।

दाउरा सकियो , आगो निभ्यो , ठण्डि बढ्यो , ओछ्यानमा जाँउ गतिलो ओढ्ने छैन । बिकल्प पनि राम्रो थिएन । रक्सिवाली दिदीले जिस्केर बोलाउदै थियो ” भाई हरु तान्ने होईन ” हामी पनि किराँत र नेवारको छोरा थियौं रक्सि नचल्ने त कुरै थिएन । तर पनि हामी रक्सि पिउने मान्छे भने होईन । यसो भन्दा म जाँड रक्सिलाई घृणा गर्ने मान्छे पनि होईन । किन कि हाम्रो सँस्कारमा जाँड रक्सिलाई प्रसाद ठानिन्छ । यसलाई कसरी प्रयोग गर्नु पर्छ यो कुरामा भने हाम्रो बिबेक हुनै पर्छ । किशोरले मानेन नारायण र मैंले अली अली लगायौं जाडो भगाउने ओसधी । ५-६ महिना पछि पहिलो पल्ट पिएको थिएँ मैंले त्यासैले थोरैले नै ज्यान तातो भयोहामी गएर सुत्यौं । म बिचमा , ओढ्ने सानो थियो यता तान्दा उता नपुग्ने उता तान्दा यता नपुग्ने , बिचमा मलाई चाँही पुग्थ्यौ । सिरानी केही थिएन , जुता अरुतिर राख्दा हराउने पनि डर त्यासैले जुतालाईनै सिरानी बनायौं । जुताको नमिठो गन्ध थियो । तर पनि बिबश थियौं । बिहान पख म निदाएछु साथि हरु त निन्द्रानै लागेन भन्थे । बिउझिदा उज्यालो अली अली भईसकेको थियो । हामी हतार उठ्यौं । नयाँ साथि हरु यत्र तत्र लागी सकेछन् । बागद्धरमा हात मुख धोएर दर्शन गर्‍यौं । अनि सिधै झर्‍यौं नाराणथान तिर झर्‍यों । जंगल भरी पंछीको चिरबिर आवाज थियो । धेरै प्रकारको पंछी र जनावरहरु यस जंगलको शोभा रहेछ ।

यसरी हामीले अनापेक्षित यात्रालाई पुरा गरेर करिब दिउँसोको १ बजे तिर आफ्नो बासस्थान आई पुग्यौं । आफन्त लाई उस्तै चिन्ताले सताएको थियो । हामी आएर आफ्नो त्यो रातको कथा सुनाउदा सबै छक्क परे ।

ओहो !!! आज पनि झल्झलि आई रहन्छ । त्यास रातको पल पलको यादहरु । आँखा साम्ने नाचे झैं लाग्छ ति क्षणहरु । त्यास घटनालाई म चन्चल्ताको पराकाष्ठ भन्न रुचाउछु । तर आज सम्झिदा रमाईलो लाग्छ । कहिल्यै बिर्सन्न ति रातलाई । अनि ति अनन्या मित्र नारायण श्रेष्ठ र किशोर श्रेष्ठ काठमाडौलाई ।

-बिगुटार -४ सुर्के ओखलढुंगा,
हाल शार्जाह युएइ

गजल










-सुमन शर्मा
नपाउनु नै थियो भने किन जुटाइ दियौ दैब
लुकी छिपी लाको माया किन छुटाइ दियौ दैब

ब्यस्त अन्जानी मै उनी कता म कता
हामी दुई बिचको नाता किन खुटाइ दियौ दैब

नपिउनु नजिउनु हराएको मान्छे म त
उनिभेट गराई शेष किन लुटाइदियौ दैब

सकिएका आशाहरु थिचिएका बेदनामा
फेरि जमघट बनाई मन किन फुटाइदियौ दैब

एकान्तमा बसी रुनु रीत भैसक्यो मेरो
टुक्रिएको मुटु फेरि किन टुटाइ दियौ दैब


-सिंगापुर
ईमेल: sharmadsp@hotmail.com

Sunday, May 24, 2009

कबिता









मेरो अपिल

-आचार्य प्रभा
चाहे तिमी मेरो नयनको
'अबिरल' बग्ने आँशु नै बनी देऊ
चाहे तिमी मेरो अधरको
खुशीको मुस्कान नै बनी देऊ
तर ...तिमी बनी देऊ
मेरो हर एक्लो पलको साथ
अनि देऊ तिमी मलाई मेरो
कमजोरीमा सहारा रुपी तिम्रो हात
जिउन त जिएकै हुँ म
कहिले लड्दै उठ्दै
आँशु र हाँसो पनि संगालेको हुँ
मनलाई स्थिर गर्दै,
जब... आयौ तिमी मनको सँघार नाघी
फुल्न थाले आशाहरु
मनका कुनामा ठाउँ मागी
जब छायौ तिमी मेरो जीवनमा
पुर्णेको जून बनी
मैले पनि मान्न थाले तिमीलाई
मेरै मनको देव भनी ।
चाहे तिमी मेरो
मनको तृष्णा नै बनी देऊ
चाहे तिमी मेरो बिछोडको
घाउ नै बनी देऊ
तर.... हर मेरो रुझेको पलको
आश्वासन रुपी भाव बनी देऊ ।


-अमेरिका

कबिता











यहाँ
-अबिरल अधिकारी 'ब्याकुलमाइला'
सारंगीबाट मिठो धुन निकल्न
हातबाट रगत चुहाउनु पर्छ यहाँ
आफ्नो जिबन गुलाफ झैं फुलाउन
आँफै बनेर काडा चट्टानमा गाडिन पर्छ यहाँ
आफ्नो जिबनको मिठो कल्पनाको यात्रामा लाग्दा
कल्पनालाई जोगाउन आगोमा जल्नुपर्छ यहाँ
आत्मा खोलेर कुरा गर्दा
हजारौ मुर्खहरुको तुच्छ बचन सहनु पर्छ यहाँ
स्वतन्त्ररुपी जिबन जिउन त कहाँ हो कहाँ
कैदी भएर जेल भित्र बस्नुपर्छ यहाँ
जिबन र मरणको दोधारमा रहदा पनि
देह बेचेर आत्मा जोगाउनु पर्छ यहाँ
जोगाउनु पर्छ यहाँ ।


कबिता











आजभोलि

-गोबिन्द प्रसाद उपाध्याय
आजभोलि मदिरा पिउन छोडेको छु
तिम्रो यादमा बेहोशी बन्न छोडेको छु
छोडेसके सबै नशाहरु
तिम्रो रुपरङ सङ्ग बदमाशी गर्न छोडेको छु ।

आजभोलि तिम्रो मायाको बयान गर्न छोडेको छु
तिमीलाई पाउने आशामा हराउन छोडेको छु
मोडिसके सबै नाताहरु
तिम्रो तन सङ्ग बदमाशी गर्न छोडेको छु ।

आजभोलि तिम्रो यादमा रातभरि रुन छोडेको छु
तिमीलाई हसाँउन आफू हाँस्न छोडेको छु
तोडिसके सबै बाचाहरु
तिम्रो मन सङ्ग बदमाशी गर्न छोडेको छु ।

आजभोलि तिम्रो काख सम्झन छोडेको छु
तिमीलाई भुलाउन बिष पिउन छोडेको छु
मरिसके सबै आशाहरु
तिम्रो याद सङ्ग बदमाशी गर्न छोडेको छु ।


-सिटिजन बैक ईन्टरनेशनल लिमिटेड
काठमान्डौ
ईमेल: gobi31@gmail.com

गीत












तिमी बिना
-दिलिप योन्जन
तिमी बिना उराठ-उराठ भो जिन्दगी
तिमी बिना खल्लो-खल्लो भो जिन्दगी
न हेरेर प्यास मेटिन्छ, न कल्पेर याद भेटिन्छ
तिमी बिना एक्लो-एक्लो भो जिन्दगी।

तिमी बिना फूल पनि काँडा भयो
तिमी बिना बाँच्न पनि गाह्रो भयो
एल्लो जिबन के जिबन, एक्लो यात्रा के यात्रा
तिमी बिना बेसाहारा-बेसाहारा भो जिन्दगी।

तिमी बिना पलपल बर्षौ-बर्ष भयो
तिमी बिना जिउनुको न कुनै अर्थ भयो
न दिनले साथ दियो, न रातले बास दियो
तिमी बिना बरबाद-बरबाद भो जिन्दगी।


-अस्टिन, अमेरिका

Saturday, May 23, 2009

कबिता












म तिम्रै कारण जाग्ने छु

-गुरु केदार बराल
म तिमीसंग भैदिएको भए
आज अपांग हुने थिएँ
तिम्रो साथ नछोडेको भए
अहिलेको आधुनिक समाज
हासँको बथानमा बकुल्लो हुने थिएँ ।
तिम्रो झुठो माया प्रेम सम्झेर
अब म रुने छैन
जिउन सक्छु म तिमी विना पनि
म प्रेममा हारेर मर्ने छैन ।
घात गर्यौ साथ दिदा
तिम्रो विश्वास गर्ने छैन
विष घोल्यौ चोखो मायामा
तिम्रो मायाको आशमा वस्ने छैन ।
तिमी म देखि टाढिए के भो र !
छोडी जानेलाई रोक्ने छैन
तिम्रो मायामा पिरोलिएर
अब आँशु बगाउने छैन
तिमी इच्छा जे लाग्छ त्यही गर
म आफ्नै संसारमा छु
तिम्रै धोकाको प्रतिफलले
म अब जाग्ने छु ।



-अमेरिका




Friday, May 22, 2009

गीत









भुल यहाँ

-गीता थापा
भुल यहाँ कति कति नबुझी दिए हुन्छ
दु:ख यहाँ कति कति नसोधी दिए पुग्छ ।

केलाई भन्ने खुशी यहाँ केलाई भन्ने दु:ख
बुझ्नै गाह्रो रहेछ संसार झनै बुझ्न प्रित
पाउदा खुशी होकी सुख नपाउदा हो दु:ख
बुझ्न गाह्रो रहेछ संसार झनै बुझ्न प्रित ।

नदेउ मलाई बाचा कसम भुले मुटु दुख्छ
झुटो प्रिती लाउनु भन्दा पराइ सोचे पुग्छ
तस्बीर किन चाहियो तिम्रो जुन तारा हेर्छु
तिम्रो याद आयो भने आँफै भित्र खोज्छु ।

हाँसो किन चाहियो मलाई दु:ख भए हुन्छ
मिलन किन चाहियो मलाई बिछोड भए पुग्छ
भुल यहाँ कति कति नबुझी दिए हुन्छ
दु:ख यहाँ कति कति नसोधी दिए पुग्छ ।


हाल: इजरायल

Thursday, May 21, 2009

गजल








-नेपोलियन मरहट्टा
सम्झेको छ भन्दिनु है रिसाएर जानेलाई,
फूलैपर्ने गरी आँखा बिझाएर जानेलाई ।

सधैं सधैं याद गर्छु कहाँ भुल्न सक्छु र म ?
मनको एउटा नाता पनि सिध्याएर जानेलाई ।

कस्ले रोक्ने,कस्ले छेक्ने बैंश फुल्दै आएपछी,
जताततै पंखहरु फिँजाएर जानेलाई ।

ठिकै भयो,मेरो पनि छैन केही गुनासो त,
आफ्नो छोडी पराई नै रिझाएर जानेलाई ।

यस्तै रैछ माया भन्ने बधाई छ बधाई छ,
दोभान छोडी त्रिबेणीमा मिसाएर जानेलाई ।


-चितवन

कबिता









ठूली

-केदार श्रेष्ठ 'गगन'
ठूली,
म कसरी भूल्न सक्छु
तिम्रो र मेरो त्यो प्रेम
मेरो आँखामा बसेकी छौ
आँखाको नानी बनेर
जब
तिम्रो र मेरो भेट भयो
तब
मिल्यो आँखामा आँखा
हातमा हात
मनसंग मन
र त्यस पछि भयौं हामी
एकअर्काको मुटुको ढुकढुकी

तिमीले सोच्दी हौँ है ठूली-
मलाई छाडी अर्कै भूगोलमा
अर्कै संसारमा
विरानो शहरमा
रमाइरहेको होला निश्ठुरी
तर
म कहाँ भूल्न सक्छु र तिमीलाई
कहाँ रमाउन सक्छु तिमी बिना
कहाँ सक्छु तिम्रो माया मार्न
म कुनै नेपाली नेता हुँ र !
आफ्नो कर्तब्य
र नैतिकता गुमाउनलाई

बिश्वास गर ठूली मलाई
तिमीलाई मैले भूल्नु भनेको
आफ्नै छायाँ भूल्नु हा
आफ्नै माया मार्नु हो
प्राण त्याग गर्नु सरह हो
त्यसैले
ठूली,
म तिमीसँगै छु
भौतिक शरीर जहाँ भए पनि
जहाँ गए पनि
भूगोलको जुनसुकै ठाउँमा
कृतिम घरहरुको भीडहरुमा
वा
भौतिक सुखको संसारमा

ठूली,
धड्कन हौ तिमी मुटुको
खोजिरहनु पर्दैन
आँखा पसारेर टाढा-टाढासम्म
मुटुसँगै छौ तिमी
मेरो मुटु मसँगै छ
त्यसैले मलाई शंका नगर्नू
निश्ठूरी नभन्नू
पापी नभन्नू है ठूली………।

मलाई मन पर्दैन तिमीले
मेरो तिर्सना र सम्झनामा
आँखा चिम्लेर
भावनामा डुब्दै
विरही गीत सुनेको ।


-भीमस्थान -५, सिन्धुली
हाल: युएई

कबिता













हामी नेपाली

-दिलिप योन्जन
छिटै देऊ , देशलाई गती
गरी देऊ , नेपालको प्रगती।

कति दिन, बिगार्छौ मती
आखिर देशकै, हुन्छ बिगती।

कहिले नारा, कहिले जुलुस
सधै बाला, नेताको पुत्ला।

बैमानी बेइजती, भ्रस्ट नेताको
बिरोध गालीले, झर्दैन भुत्ला।

कतै पेट्रोल, कतै पानी
जनतालाई बेकुब, बनाऊ जानी२।

आफै बोक्सी, आफै धामी
जनता मार, गोली हानी२।

लडाई गर, पदको लागी
झुकाउ जनता, दिनै ढाटी।

कहिले मन्त्री,कहिले मन्त्रालय
खाओ सबै, लुछाचुँडी ।

जनताको सम्स्या, नहेर कहिले
लडाई गर, सधै रोस्टम घेरी।

नारा लगाऊ , मधिसे पाहाडे
देश चिर, धुजा२ पारी।

जसको शक्ति , उसको गद्दी
लड नेता, कुकुर सरी।

कोही ब्वासो, कोही धमिरा
सबले फेर्यो, सर्पे काचुली।

घर न घाट, सधै जनता
खुसी मनाऊ , भत्ता थापी।

गर सधै, गाली बेइजती
कति गर्छौ, देशको बदनामी।

देखाऊ दात, सधै बिदेसीलाई
सधै बन्यो, नेता कठ-पुतली।

देश जनताको, वास्ता छैन
पदकै लाग्यो, सधै भोक-मारी।

राजा जनता, भए पछी
किन भत्ता, दिन्छौ मन्त्री।

सबै सम्पती, राष्ट्रीयकरण गर
गर्छौ भने, देशको प्रगती।

कि खान्छौ, टिके मन्त्री
आउला जनता, तिम्रो मलामी।

बुदको देशमा, छाओस् शान्ति
अब नबगाऊ , रगतको खोली।

के धर्म के जात, त्यागौ बैरीभाब
सबले भनौ, हामी नेपाली।
हाम्रो नेपाल, हामी नेपाली ॥


-अस्टिन, अमेरिका

गीत










आफ्नो नबनाएको भए

-गोबिन्द प्रसाद उपाध्याय
दोबाटोमा नभेटेको भए राम्रो हुन्थ्यो
लुकिछिपी नहेरेको भए राम्रो हुन्थ्यो
किन किन लाग्छ आज
उनीलाई आफ्नो नबनाएको भए राम्रो हुन्थ्यो ।

बाचा कसम नदिएको भए
तर्की-तर्की हिडि दिएको भए
अङ्गालोमा नबाँधेको भए हुन्थ्यो
सुस्त सुस्त नबोलेको भए हुन्थ्यो
किन किन लाग्छ आज
उनीलाई आफ्नो नबनाएको भए राम्रो हुन्थ्यो ।

एक्लै छोडी नगएको भए
उनको सिउदो नरङ्गाएको भए
हेराइमा उनको नफसेको भए हुन्थ्यो
हाँसोमा उनको नहाँसेको भए हुन्थ्यो
किन किन लाग्छ आज
उनीलाई आफ्नो नबनाएको भए राम्रो हुन्थ्यो ।


-सिटिजन बैक ईन्टरनेशनल लिमिटेड
काठमान्डौ
ईमेल:
gobi31@gmail.com

गजल









-नेपोलियन मरहट्टा
उल्टो दिनरात उल्टै बिहानी छ तिम्रो मेरो,
हाई हेल्लो मात्रै हुने काहानी छ तिम्रो मेरो ।

मेरो सुत्ने बेला हुँदा तिम्रो उठ्ने बेला हुन्छ,
समिकरण नमिलेको जवानी छ तिम्रो मेरो ।

एकैछिन् बोल्नै नपाई लोडशेडिङ भईदिन्छ,
देश,सरकार,खोलानाला बेमानी छ तिम्रो मेरो ।

कस्ले बुझ्छ हाम्रो पिडा,कस्ले सुनीदिन्छ मर्म ?
दिनैपिच्छे पिरतीमा नोक्सानी छ तिम्रो मेरो ।

जे भए'नी बाँच्नै पर्ने,मनलाई थाम्नै पर्ने,
डाँको छोडी रुने एउटै सिरानी छ तिम्रो मेरो ।


-चितवन

Tuesday, May 19, 2009

कथा








ऊ फर्केर आएन

-गीता थापा
शान्ता आज पनि चिट्ठी बोकेर के नकुलको आगनमा पुगेकी थिई,नकुल ढोकाबाट बाहिर निक्लिदै थियो । तर शान्तालाई आफूले पढ्न नपाएकोमा साह्रै दु:ख लागेको थियो। नकुललाई भने कति पनि झन्झट लागेको थिएन किनकी उसलाई अरुलाई सहयोग गर्न पाउदा आनन्द लाग्थ्यो । शान्ता नकुलकी गाउले भाउजू थिई ।शान्ता साच्ची नै सुशिल र स्वाभिमानी थिई । शान्तालाई देखेर नकुल भन्छ 'ए, शान्ता भाउजू दाइको चिट्ठी आएछ ।खै, दिनुस् त तपाईंलाई सुन्न हतार मलाई पढन हतार !'

शान्ता मनभरी पिडालाई लुकाएर आफ्नो हात अघि बढाउछे । अनि नकुल अशिमको चिट्ठी पढ्छ -पूज्यनीय मेरी आमालाई
पाउपरी ढोग
र साथै मेरी प्यारी जिवन संगीलाई ,
अति न्यानो मुटु भरिको चोखो माया अनि सबै मेरा मान्यजनहरुलाई धेरै धेरै सम्झना यो प्रदेशिको तर्फबाट। अनि मेरो गाउले भाइ नकुललाई पनि गर्वले भरिएको मिठो माया !
आहा ! कति मिठा शब्द ! शब्दका भोकालाई त साच्चै भोक नै मेटाउने ! तर शब्दले यहाँ भोकाको भोक र नाङ्गो अंग ढाकिदैन थियो। घरबारी साहुको नाउमा बन्दकी राखेको थियो। घरमा मृत्यु कोरेर बसेकी बुढी आमा सधैं आँशुमा डुबेकी थिन् । तर आज पनि पैसा पठाउनेको कुरा चाहि लेख्न भुसुक्कै भुलेको थियो अशिमले ।अनि शान्ता मनभरी उही पिडा र बेथा बोकेर नकुलको हातबाट चिट्ठी लिएर घरमा आउछे । सासु बोलाउछे -' शान्ता !ए शान्ता!!'
'हजुर। ' शान्ता पिडालाई लुकाएर बोल्छे ।
'के लेखेछ हँ अशिमले चिट्ठीमा, शान्ता ? सबै राम्रो नै छरे अनि पैसा कहिले पठाउछ रे त?'
शान्ता आफ्नो पतिको आडलिदै बोल्छिन् -'आमा धेरै चिन्ता नगर्नु , एकै चोटि सबै ऋण चुक्ता हुनेगरी पठाउनु हुन्छ रे। '

सासुको त मन केही पललाई भए पनि शान्त बनाउछे शान्ता तर आफ्नो भने रातभरी आँशुको भल बग्छ। कहिले रितिदैनन् उसका यी आँशु । हरे! छोरीको कर्म हारेको जन्म भनेर उखान त त्यतिकै बनाएको होइन रहेछ बुढापाकाले ! आज पनि यिनै नाना थरी कुरामा रातको सबै प्रहर फाटेको थियो शान्ताको। बिहानको चिसो हावाले आँखा जोड्न के खोज्छे त्यसै बेला सासुको खोकीले बिउझाउछ उसलाई । अनि जुरुक्क बिछौनाबाट उठेर भान्सातिर लाग्छे । चुलो जोडेर तातो पानी बसाउछे। केहीबेरमा नुन चिया बनाएर सासुछेउमा जान्छे र दुबै सासु बुहारी खान्छन् । तर मनभरिको पिडा त बाडेर रितिदैन । अरुलाई केही छिन लाई ढाटे पनि आफ्नो मन आँफैसँग ढाट्न नमिल्ने के गर्नु ? चियाl खाई सके पछी शान्ता पत्कर टिप्न डोको बोकेर हिड्छे । सासुको खोकी गाउको निकै परसम्म एक तमासको छ।गाउको हेल्पोस्टबाट त कती औषधी बोकेर खुवाको हो शान्ताले तर निको भएको भने होइन। टाढा लैजाउ पैसाको अनिकाल ! कसलाई सुनाउनु?हात पसारेर माग्ने ठाउँ पनि बाँकी थिएन। घरको दु:ख मुटुभरी बोकेर पैसा कमाउन प्रदेश लागेको पतिको पत्तो खबर थिएन।कति कहाली लाग्दो जिन्दगी ! कस्तो बिडम्बना !! यो मनलाई बुझाउने ठाउँ नै छैन। उही पतिको चिट्ठी कुरेको आज छमहिना भयो तर कुनै खबर छैन। के ऊ साचै कठोर मनको धनी पुरुष हो त ! साच्चै मेरी आमाले भनेकी थिन् -' छोरा मान्छेको आँखाले देखी माया मात्रा हुन्छ रे। के यो साच्चै हो त? ' शान्ता मनभरी कुरा खेलाउदै पत्करको भारी पुराउछे। हुन पनि हो बिहा अघि त शान्ताले न अशिमलाई देखेकी थिई न चिनेकी। बिहा गरेको २महिना पनि राम्रो बित्न नपाई अशिम प्रदेश लागेको आज एक बर्ष हुनलाई १५ दिन बाँकी रहेछ । अब साहुको नाउमा राखेको घरबारी पनि उसैले खाने पर्‍यो। शान्ता आँखाका बगेका आशुका भेललाई पछेउराको फेरले पुछेर डोको बोकेर घरमा पुग्छे । उ पुग्दा उसको घरमा नकुल पनि थियो । शान्ता आतिदै नकुललाई सोध्छे -'बाबु तपाईं यहाँ ?'
नकुल बोल्छ -'हो, भाउजु आमालाई ज्वरोले हन-हन भएछ । मसँग औषधी थियो पुराउन आएको । ल ,भाउजु म अहिले लाग्छु।आमको राम्रो ख्याल गर्नु होला।'

गाउमा हुन पनि शान्ताको परिवारको लागि नकुल त थियो एउटा दु:खमा साथ दिने ।शान्ताका न देवर न जेठाजु न नन्द न त आमाजु कोही पनि थिएनन् । त्यसैले शान्ताका आमाबुवाले छोरीले सुख पाउछे, धेरैको बुहार्तन खप्नु पर्दैन भनेर अशिमसित बिहा गरी दिएको रे। आमा बुवालाई आफ्नो काखबाट छोरीलाई पन्साउन पाए साह्रै आनन्द । हुन पनि बढेको छोरी घरमा राख्दा पनि गाउलेको कुराको है /है हुन्छ ।कस्तो सस्कार हो यो? छोरीको त अस्तित्वहीन जिन्दगी । उस्को त आफ्नो जिन्दगीनै छैन अरुको नाउसित नजोडी । सासु बोल्छे -'शान्ता! ए शान्ता!!'
'हजुर!'
'यहाँ मेरो नजिक आ त ।'
'किन आमा?'
साह्रै असल थिई शान्ताकी सासु ।शान्ता छेउमा पुग्छे सासूले भनिन् -'त्यो अशिमलाई एउटा चिट्ठी नकुललाई भनेर लेख्न लगाएर पठान बा। म त डाडा पारीकी घाम भैसके । म मरेपछी तेरो बिजोक हुने पर्‍यो । '
शान्ता आफनो हातले सासुको मुख छोपिदिदै बोली -'किन त्यस्त्यो अशुभ बोल्नु भएको नि?'
' के गर्छेस् बाबै ? यो नै सत्य हो कि सबैले यो संसार छोड्नै पर्छ एक दिन । तेरो मायाले म सधैं त सँगनै कहाँ बस्न पाउछु र बा ।'

त्यसपछी शान्ता नकुलको घरतिर लाग्छे । नकुलको घरमा चालचुल थिएन। ढोकामा ताल्चा ठोकेको थियो। तैपनि शान्ता केहीबेर पिढीमा कुरेर बस्छे। केहीबेर पछी नकुल आइपुग्छ भन्छ-' ए !शान्ता भाउजू कति खेर आउनु भएको नि?'
शान्ता भन्छे-' एकै छिन अगाडि हो बाबु ।'
'अनि आमालाई अली सोन्चो भयो?'
'छैन। उस्तै छ। छोराको धेरै चिन्ता लिनु हुन्छ। त्यसैले होला ।बाबु,म त तपाईंलाई फेरि दु:ख दिन आएकी ।'
'केको दु:ख भाउजु? यो जिवन त अरुको सेवा कै लागि जन्मेको हो नि!भन्नुस् न मैले के गर्नु पर्‍यो ?' 'तपाईंको दाइलाई एउटा चिट्ठी लेखिदिनुस् न बाबु । आमा साह्रै बिरामी हुनुहुन्छ। चाडै घरमा आउनु रे भनेर। कतै आमा बिरामीको खबरले घरको याद आउछ कि ।'
नकुल बोल्छ-' हुन्छ, भाउजु तपाईं धेरै चिन्ता नलिनुस् । अर्काको देशमा कहाँ आफूले भनेर सोचेको जस्तो हुन्छ र भाउजु। केही सारो गाह्रोमा अड्किनु भयो होलानी। नत्र गाउमा छदा त त्यस्तो खराब मान्छे त होइन। अब उहालाई शहरको वातावरणले नै खराब बनाएछ भने के जानौ भाउजू ।'
नकुल चिट्ठी लेखन तयार हुन्छ ।

दाइ अशिम,
म गाउले भाइ नकुलको तर्फबाट दुबै हात जोडेर नमस्कारका साथै धेरै सम्झना !
दाइ ,तपाईंले गाउ घर छोडेदेखी यी पाटी पौवा देउराली त सुन्ने भएकैनै छन् । त्यो भन्दा पनि तपाईंको घरको हालत धेरै कम्जोर छ। तपाईं गए देखी आमा सधैंको बिरामी हुनुहुन्छ। घरबारी पनि साहुले भाका पुग्यो छोड्नु भनेको भनेकै छ रे। हामी गाउले सबै छक्क परेका छौ कि एउटा असल र सिधा गाउलेको छोरोको मनलाई प्रदेशले कसरी धमिलो बनाइदियो। आफ्नी जन्मदिने आमालाई र जन्मभूमिलाई नै चट्टकै भुल्ने गरी दाइ ? ल दाइ आमाको स्वास्थ धेरै कम्जोरी हुँदैछ। भाउजुको पनि उही हालत छ। यो चिट्ठी पाउने बितिक्कै घरमा आउनु होला। तपाईंको चिट्ठीको आशमा शान्ता भाउजुका धेरै दिन र रात बिते तर तपाईंको चिट्ठी आएन। त्यसैले यो चिट्ठी लेखेको हो।
ल त उही गाउले भाइ,
नकुल

नकुलले चिट्ठी लेखेर शान्तालाई सुनाउछ।अनि सोध्छ - 'भाउजु ठीक छ?'
शान्ताले ठीक छ भन्छे र सारीको फेरमा गाठो पारेर राखेको चिट्ठी पठाउने पैसा नकुललाई बोल्छे -'बाबु, तपाईंले यो हामी प्रति लगाएको गुण के गरी तिर्ने होलानी ?'
नकुल भन्छ -' भाउजु त्यसो नभन्नुस् किनकी एउटा मान्छेलाई दु:ख पर्दा अर्को मान्छे काममा आएन भने के गाउ समाज भएर बस्नु त?

त्यसपछि शान्ता घर आउछे। सासु उही सधैंको जस्तो लामु-लामु सास र खोकीमा रुमलिएर मुर्छा परेकी परेकै नै छिन्। तातो पानी बेसार राखेर तताएर शान्ता सासुको छेउमा जान्छे। हातको अडेश् लगाएर उठाएर शिरानीको सपोर्ट लगाएर राखिदिन्छे। सासु आँखाबाट आशु झार्दै शान्तालाई हेर्दै भन्छिन्- 'तेरो साह्रै पाप लाग्छ होला मलाई शान्ता ।' तिनै शब्दमा रुम्मलिएर केही-बेर सासु बुहारी अघाउजी रुनछन् तर कति रुने दु:ख त जहाको त्यहिनै छ। बिधिको बिधान र लेखेको लेखान्त त नभोगी कसैलाई सुख छैन।

सधैंको थला परेर ओछ्यानमा परेकी सासुले पनि आज यो पापी संसार बाट मुक्ती पाइन तर अशिमको कुनै खबर आएन। उसलाई न यो धर्तिले खायो न आकाशले निलो कुनै थाहा भएन। सासुको दाग्बती पनि शान्ताले नै दिई। गाउलेको हरेक मुटु छेड्ने बचन लाई पनि सहेर जिन्दगीको लडाईं लडी शान्ता। तर भनिन्छ नि -' नारी धर्ती हो। हो नारी साचै धर्ती हो तर उस्को पिडालाई चाहि सधैं मुल्यहिन बनाइन्छ ।सुन्दरताको खानी हो नारी। मायाकी प्रतिमूर्ति हो नारी। तर असल कामको भागीदार हुनलाई चाहि धेरै अभागीकी खानी हो नारी। धेरै दु:खको भाग उसैलाई नै लगाइन्छ , कलङ्कित पनि उसैलाई नै पारीन्छ। आज शान्ता अशिमको एक तेंद्रो पोते र एक चिम्टी सिन्दुरमा बाधिएर बसेकी छे तर अशिम आएन... आएन... । ऊ फर्केर आएन । कहिल्यै पनि आएन........... ।


-इजरायल