Tuesday, December 30, 2008

गीत

जन्मिएर...

-डिआर निश्छल
जन्मिएर धर्तीलाई केबल गर्हौ भार दिईयो
नसोचेको दु:ख पाइयो पाई-पाई जीबन जिईयो

कोही भन्छन -पुर्खाहरुको मलाई श्राप परयो अरे
कोहीले भने- म माथि त बोक्सी आखा गढ़यो अरे
के भो कुन्नि हासों छैन आजसम्म आशु पिईयो
नसोचेको दु:ख पाइयो पाई-पाई जीबन जिईयो

बल्ल तल्ल चुलिएको बाच्ने आशा ढलिदिन्छ
कल्पनाको सुन्दर घर खरानी भई जलिदिन्छ
पिरै पिर मन भरि सोच्दा सोच्दै तनै खिईयो
नसोचेको दु:ख पाइयो पाई-पाई जीबन जिईयो

जन्मिएर धर्तीलाई केबल गर्हौ भार दिईयो
नसोचेको दु:ख पाइयो पाई-पाई जीबन जिईयो


-महेश्वरी-२, सानोडुम्रे,खोटांग
हाल: भिक्टोरिया

कबिता










नयाँ नेपालको बृत्त चित्र

- गणेश खड्का " प्रतिक्षा "
साइँली बज्यै !
नातीको फोटो हेरेर
किन रुन्छ्यौ बेकार
सतीले सरापेको देशमा
अब फेरितिम्रो सराप ?
चुपो लाग
यहाँ बोल्नु हुँदैन
अपहरित तिम्रो नाती
कहिल्यै फर्केर आउँदैन
यो नयाँ नेपाल हो,
ठुलीकान्छी भाउजु !
छोराको लुगा सुँघ्दै
घोप्टो परेर
किन भक्कानिन्छ्यौ बिना सित्ती
धर्म मासिएको मुलुकमा
तिम्रो आरधना
तिम्रो प्रार्थना
मन्दिरको गजुरमा ठोक्किएर
तिम्रो आवाज, तिम्रो चित्कार
तिमीतिरै फर्किन्छ
हराएको तिम्रो छोरो
कहिल्यै भेटिदैन
यो नयाँ नेपाल हो,
अन्तरे दाई !
पटुका कसेर
के मरिहत्ते गर्छौ वाहियात्
ठग र दालाल हरुले
धावा बोलेको राष्ट्रमा
तिम्रो राष्ट्रियता
तिम्रो स्वाभिमान
युरिया मिश्रित
रक्सी भन्दा सस्तो
तिम्रो पसिनाले
कहिल्यै मूल्य पाउँदैन
सँस्कृति र परम्पराको त
झन् कुरै नगर
यो नयाँ नेपाल हो,
नयाँ नेपालमा
सानो मर्छ -ठूलो बाँच्छ
गरीब रुन्छ - धनी हाँस्छ
हुनेले खान्छ -नहुनेले हेर्छ,
नयाँ नेपालमा -
पुलिसले चोर्छ
हाकिमले घूस खान्छ
मन्त्रीले ज्यान मार्छ,

बिर्खे भाई !
किन मर्नु पर्‍यो
देशको खातिर ताई न तुई
स्वार्थी, पापी
र पाखण्डीहरुको अखडामा
तिम्रो रगत
रजश्वला बिग्रेकी स्त्रीको जस्तै
सस्तो हुन्छ भने
गुमेको तिम्रो ज्यानले-आत्माले
कहिल्यै वीरगती पाउँदैन
फौजदारीमा मरेका
नेता-मन्त्रीका आफन्तहरु
धमा-धम
महान शहिद मा सूचिकृत भएपछी
तिम्रो पवित्रताले
कहिल्यै मोक्ष पाउँदैन
यो नयाँ नेपाल हो,

अन्त
जन हत्यारालाई दण्डित गरिन्छ
तर यहाँ
पुरस्कृत गरिन्छ
जसले बढी युद्द गर्छ-आतंक मच्चाउँछ
उसैले शान्ती पुरस्कार पाउँछ,
नयाँ नेपालमा -
बाघ हिंसक छ
शायद अब
उसले पनि
जङगल बाट दाबी गर्छ
र शान्ती पुरस्कार पाउँछ
नयाँ नेपालमा,
अब
हेर्न बाँकी छ
नयाँ नेपालबाट
पाठ सिकेर
विश्व नोबेल शान्ती पुरस्कारको
दाबेदार बन्न सक्छन्
थुप्रै बिन लादेनहरु
तामिल टाइगरका नाइकेहरु
र मुसरफहरु ।

-तिवारी भञ्ज्याङग -४ , भोजपुर
हाल : भिक्टोरिया ( सिसेल्स )

Monday, December 29, 2008

कथा

अब कहिले आउँछ्यौ नानू !

-कृष्ण धाराबासी
"तिमी पनि जान लाग्यौ नानू !" बाबाको अनुहार एकदम दयनीय र कारुणिक थियो । निरीह थिए आँखा । ओठ पनि कैयौँ दिनपछि पहिलोपल्ट खुल्दै गरेका जस्ता थिए । जहाँबाट आएर पनि सधै बस्ने उहाँको त्यही त एउटा विशेष ठाउँ थियो, जहाँ आज पनि एकोहोरो टोलाएर बस्नुभएको थियो । यस्तो आवाज थियो उहाँको, मैले केही बोल्नै सकिनँ । त्यसै जीउ लल्याकलुलुकजस्तो भयो, मन चिसो भयो । शरीरभरि अनौठो तरङ्ग कुद्यो ।
सधै टन्न भरिएको जस्तो लाग्ने त्यो घर र त्यहाँका चोटाकोठाहरू आज रित्तो र सुनसानजस्ता थिए । सरसामानले अस्तिजस्तै भरभिराउ घर तर रित्तो र खाली थियो । जता हेर्‍यो, उतै केही नभएजस्तो । छरछिमेकमा बोलेका आवाज सबै दौडेर आएर हाम्रै घरमा पसिरहेझैँ लाग्थ्यो, भिरालोमा बगेको पानीझैँ ।
जीवन त कति सामान्य कुरा रहेछ, कति कफल्लो ! मनका पत्रैपत्रहरूमा बाँधिएको यो तर ससाना कुराहरूले भरिए को लाग्ने । कति डर लाग्थ्यो हामीलाई बाबाको उपस्थिती , अनुहार र आवाज । घरैभर, टोलैभर एउटा डरलाग्दो व्यक्तित्व थियो उहाँको । बाबाले सुन्ने गरी हामी कोही बोल्दैनथ्यौँ । आमाकै वरीपरी लुटुपुटु गथ्र्यौं सधैँ । हाम्रा हरेक मागहरू आमामार्फत पुग्थे बाबासम्म । कहिल्यै आफ्नो अगाडि उभ्याएर केही सोध्नु पनि भएन उहाँले । बाबालाई बसेका ठाउँमा चियाखाजा पुर्‍याउन पनि 'तँ जा, तँ जा' गथ्र्यौं हामी दिदीभाइ ।
एक थप्पड कुट्नुभएको थिएन, एक शब्द गाली गर्नुभएको थिएन । मागेका कुनै कुराको अभाव अनुभव गराउनु भएको थिएन तर त्यसै डर लाग्थ्यो हामीलाई बाबाको उपस्थिति । बाबा घरमा भएका बेला हामीले कहिल्यै ठूलो स्वरले बोलेको थाहा छैन । हामीजत्तिकै नभए पनि डराएकै देख्थ्यौँ आमालाई पनि । हामी त साना केटाकेटी थियौँ तर आमा किन डराउनु हुन्थ्यो होला ! कहिल्यै आमाबाबाको पनि बाझाबाझ र झगडा भएको थाहा पाएनौँ तैपनि आमा त्यत्तिकै दबिएकी, डराएकी देखिनुहुन्थ्यो । हामी हुर्किंदै, बढ्दै गएपछि विस्तारै बाबाको नजिक पर्दै गयौँ । बाबाले पनि हामीलाई सोधखोज गर्न थाल्नुभयो । हाम्रो पढाइबाहेक बाबाले हामीसँग अरू कुनै कुरामा सोधखोज गर्नु भएन ।
एसएलसी उत्तीर्ण गरेपछि पालैपालो भाइ र म घरबाट टाढा भयौँ । घरबाट टाढा भए पनि आमाबाबाको सम्पर्कबाट ओझेलमा थिएनौँ । भाइ त त्यति वास्ता गर्दैनथ्यो घरको तर मलाई किन किन साह्रै याद आइरहन्थ्यो घर । सबैभन्दा धेरै माया लाग्थ्यो आमाको, डरसँग मिसिएको जस्तो माया लागिरहन्थ्यो बाबाको पनि । आफू जन्मेको-हुर्किएको ठाउँ, साथी-छरछिमेकीको सम्झना कसलाई आउँदैन ! तर, माध्यमिक शिक्षा पूरा गरेपछि सदाका लागि छोडिँदो रहेछ घर । फेरि कहिले रहरले पनि, इच्छाले पनि घरमा बस्न नपाइँदो रहेछ । घर छोडिदाखेर छोडिदा रहेछन् सबै आफ्ना प्रिय वस्तुहरू । विस्तारै अनुभव हुदै गयो, घरसँगै आमा छोडिनुभयो, बाबा छोडिनुभयो, आफ्ना रहरलाग्दा प्यारा सरसामानहरू छाडिए । डेराको बास भयो, सधै अभाव र असुविधाको जीवन सुरु भयो ।
छुट्टीमा छोटो समयका लागि घर जाँदा आमा भन्ने गर्नुहुन्थ्यो, "तिमीहरू अब ठूला भयौ, घर छोडिहाल्यौ । काखै रित्तो भएजस्तो लाग्छ । यत्रो घर छ, यत्रा सरसामान छन्, तिमीहरूकै लागि भनी भेला गरििदएका कैयौँ चीजहरू छन् । हेर ! अब यी सबै बेकामे भए । सुनसान लाग्छ घर । बिरानो हुन्छ मन । बोल्ने साथी पनि कोही हुँदैन । तिमीहरूका बाबाको कुनै ठेगान छैन, कहिले कहाँ, कहिले कहाँबाट फोन गर्नुहुन्छ । प्रायः एक्लै बस्नुपर्छ यस घरमा, अनाथजस्तो । तँ त बरू छुट्टीमा पनि आउँछेस्, तेरो भाइ त झन् के भा'को ! छुट्टीमा पनि उतै घुमेर बिताउँछ । कहिलेकाहीँ त मनमा विरक्त लागेर आउँछ । यत्रो जीवन, त्यसै बितेछ यही घर र आँगनको संसारमा ।
आमाका कुरा सुन्दा त्यसै त्यसै मन अमिलो भएर आउँथ्यो तर आमाको मायाले हामीले आफ्नो भविष्य बिगार्नु हुने थिएन, हामीलाई उहाँहरूले नै त्यसो गर्न पनि दिनुहुने थिएन ।
बाबाप्रति पनि गुनासा थिए आमाका: "तिमीहरूका बाबा साह्रै अनौठा हुनुहुन्छ । मनका कुरा कहिल्यै नखोल्ने ! जतिबेला पनि कुरैकुराले भरिएको बाकसजस्तो बोल्नै डरलाग्दो । कहिल्यै कडा स्वरले नबोलाए पनि मनमा गह्रौँ त्रास बोकिरहनुपर्ने ! स्वतन्त्रताको बोध हुनै सक्दैन । केही कुराले जतिबेला पनि थिचिरहेजस्तो । यस्तै डरले मैले कहिल्यै पनि आफ्ना रहरका कुराहरू गर्न सकिनँ । मन लागेको खान र लाउन सकिनँ । कुनै कुराको अभाव नदेखिए पनि मलाई यो सम्पन्नताको अनुभूति हुनै सकेन नानी ! तिमीहरू जन्मेपछि तिमीहरूसँगै खेले। आफ्ना सबै रहर र खुसीहरू तिमीहरूमा मिसाएँ । अब त तिमीहरू पनि छैनौ, तिम्रा बाबा मलाई कहिल्यैै पल्टाउन नसकिने ढुङ्गोजस्तो लाग्नु हुन्छ ।"
अनौठो थियो आमाको अनुभूति बाबाप्रति । हामीलाई पनि त्यस्तै हुनुहुन्थ्यो बाबा । तर, गाउँ-समाजमा उहाँको उपस्िथति विशिष्ट थियो । एक असल समाजसेवीका रूपमा चिनिनुहुन्थ्यो ।
मेरो बिहे भइसकेपछि एकदिन बाबाले पहिलोपल्ट गम्भीर भएर बोल्नुभो ! "नानी ! अब तिमीमा ठूलो जिम्मेवारी आएको छ । पराइघरमा धेरै असुविधाहरू हुन्छन् । तिमी जहाँ पुगे पनि, जस्तै अप्ठ्यारो परे पनि, यो घर तिम्रो हो, यहाँ भएका सबै कुरा तिम्रै हुन्, चाहिएको जे पनि आफ्ना लागि प्रयोग गर्न सक्छ्यौ । निर्धक्क आमासँग भन्नू र लिनू !" त्यस दिन म साह्रै भावुक भएकी थिएँ । बाबाले मलाई कति माया गर्नु हुँदोरहेछ भन्ने थाहा पाएँ । आँखाभर आशु भरिए । भन्नु भो, "छोरीका कमजोरी भनेका यिनै आँसु हुन् । यिनलाई लुकाउन सिक । आँसुले सधै हेप्छ, मनलाई दरो बनाउनू । अब तिमी नयाँ संसारमा जीवनयुद्ध गर्न जाँदैछ्यौ ।"
साँच्चै नै एकाएक मन दरोजस्तो भयो । मेरा लागि बाबा र लोग्ने दुइटा दरा अभिभावक थिए । रोजेको लोग्ने पाएकी थिएँ । बाबाले असहयोग गर्नुहोला भन्ने कत्रो डर थियो मनमा तर उहाँले सहजै स्वीकारी दिनुभएको थियो । आमामार्फत बाबाका कानमा पुगेको मेरो प्रस्ताव एकाएक विवाहमा परिणत भएको थियो । म त्यसै दङ्ग परेकी थिएँ ।
तर, एकदिन आमाको कुराले म अचम्मित भएँ । उहाँले भन्नु भो, "छोरी ! बाबु भए पनि, लोग्ने भए पनि लोग्नेमान्छे भनेको लोग्नेमान्छे नै हो । उनीहरूमा हामीमा जस्तो हार्दिकता हुँदैन । संसार घुमिरहने स्वच्छन्द तिनीहरू अनेकौँ स्वभावले रङ्गिएका हुन्छन् । तिमीहरूले देख्दा कहिल्यै केही नभन्ने तिमीहरूका बाबाले पनि मलाई कति दुःख दिनु भएको छ । यो मन कहिल्यै खुसी छैन, प्रसन्न छैन । जहिले पनि जेलमा परेको जस्तो लागिरहन्छ । एउटा सानो घेरामा थुनिएर संसार हेर्दाहेर्दै बित्यो जिन्दगी ।"
आमाका आँखा भरएिका थिए । रोइहालेको जस्तो देखिएको थियो अनुहार । गला अवरुद्ध थियो उहाँको । भन्नुभो, "यो जीउ स्वस्थ रहेसम्म मात्र हुन्छन् लोग्नेहरू आफ्ना । जीउले साथ दिन छोडेपछि साह्रै गाह्रो छ नानी तिनीहरूको माया पाउन । रोगी भएकी छु भित्रभित्रै । सारा संसारको ख्याल गर्ने तिम्रा बाबा मेरो उपचारका लागि एकछिन पनि समय निकाल्नु हुन्न । महिनौँ भइसक्यो म दिनदिनै असक्त हुँदै गएको । घरबाहिरको संसारै देख्न पाइएन, न आफ्नो भन्ने अलग्गै सम्पत्ति रह्यो । सदा टाट्नामा बाँधेको बाख्रोजस्तो, हालिएको घाँस खाएर आइयो । आज शरीर भरी लुगा र गहना भरभिराउ छन् तर पोल्टामा एक पैसो छैन ।"
आमाका कुराले शरीर भरिको मासु थरथरायो । कहिल्यै कल्पना नगरिएको कुरा भन्दै हुनुहुन्थ्यो आमा । देखिएको सुखभित्र दबिएको दुःखको डरलाग्दो चित्रण थियो । बाबाको अनुहार टाटैटाटा परेको ढोँगी लोग्नेमान्छेजस्तो लाग्यो । मनमा कताकता रसिजस्तै उठेर आयो । महिलावादी दिदीहरूले भन्ने गरेका पुरुषविरोधी विचारहरू सत्यजस्ता लाग्दै गए । सम्झेँ, रमेशलाई । उसको अनुहारमा पनि बाबाकै रङ देखियो । त्यस्तो माया लाग्ने लोग्ने पनि एकछिन छाया परेको अनुहारमा फेरयिो ।
बाबाले मेरो अनुहार नहेरी सोध्नुभएको थियो । निहुरनिुभएको थियो उहाँ । पढेजस्तो गररिहेको हातको पत्रिका भुइँमा खत्रक्क खसेको थियो । भनेँ, "हो बाबा ! अब जान लागेकी । ज्वाइँको पनि अफिसबाट फोन आएको आएकै छ । नानीको पनि पढाइ धेरै छुटिसक्यो । मैले पनि अब तीन महिनाभित्र थेसिस् बुझाइसक्नुपर्छ ।"
निकैबेर केही बोल्नुभएन । लामोलामो सास फेरेजस्तो देखियो । टाउको नउठाएरै भन्नुभो, "श्यामले त दुई-चार दिन छुट्टी लिएर बसेकै भए पनि हुने । ऊ पनि हतारएिर हिजै हिँड्यो । उसको पनि नानीको पढाइ छुट्यो रे, बुहारीको जागिर बित्यो रे ! उसकै पनि थुप्रै कक्षाहरू छुटे रे ।" केही बोलिनँ म । मनभित्र अव्यवस्िथत बजार भरएिको थियो । यसो नियालेर हेरेको, तपतप झररिहेका थिए उहाँका आँखाबाट आँसु भुइँमा । त्यस्तो कडा मान्छे, आज आँखैआँखा बगिरहेको देखेँ । अवरुद्ध स्वरमा एक्लै बरबराएझैँ गर्नुभो, "तिमीहरूकी आमा साह्रै सोझी भनेको तर पापी रहिछ, त्यसले मलाई जीवनमा कहिल्यै आफ्नो ठानिन । कहिल्यै उसले आफ्नो मनको कुरा भनिनँ । जहिले पनि मेरै कुरा मात्र सुनिरही, मानिरही । आफ्ना रहर, इच्छा, आवश्यकता केही भनिन । मैले नै बुझेर जे-जे दिएँ, त्यही त्यहीमा रमाएजस्तो गरछि । म सोझो मान्छे, उसले मलाई यत्रो धोका दिएको कसरी जान्नू ! त्यत्रो बिमार लागेको रहेछ, कसरी खप्न सकेकी ? किन एकपल्ट पनि नभनेकी ? सुरुमै थाहा पाएको भए जति पैसा खर्च गरेर पनि त म निको पार्ने थिएँ । संसार घुमाउने थिएँ, उसका लागि यो सारा सम्पत्ति उडाउने थिएँ । मलाई किन चाहिएको थियो र यो सम्पत्ति ? तिमीहरू सबै आफ्नो खुट्टामा उभिएकै थियौ...। बालखैमा आमा मरिन । सौतेनी आमाको रुखो व्यवहारमा हुर्किएको म । जहिले पनि आमाको मायाको रहर लाग्थ्यो । तिम्री आमालाई कहिलेकाहीँ आमाजस्तै ठान्थेँ । कहिल्यै केही भन्दिनथेँ । उसको चित्त दुख्ला भन्ने लागिरहन्थ्यो । तर, उसले त मसँग मन खोल्नुपर्ने नि ! एकैचोटि त्यत्रो रक्तश्राव भयो, पहिल्यैदेखि हुँदोरहेछ नि, किन खपेकी त्यसले ? उपचार हुनै सकेन ।"
च्याप्प अँगालो हालेर रुन मन लाग्यो । आँसु थाम्नै सकिनँ । आमाप्रति बाबाको त्यत्रो माया कठै ! आमाले कहिल्यै थाहा पाउनुभएन । एकाएक अत्यधिक रक्तश्रावबाट आमाको निधन भएको समाचारले हामी स्तब्ध भएका थियौ। अनेक गरेर प्लेनको टिकट मिलाइदिए साथीहरूले । घाटमै मात्र भेट्यौँ आमाको शवलाई । सबै थोक त सकिएको थियो, त्यही रुन बाँकी थियो, रोयौँ दिदीभाइले एकअर्कालाई अँगालो हालेर ।
आमाको काम सकिएको पन्धौँ दिनमा भाइ आफ्नो परविारसहित हिँडेको थियो । दुई दिनपछि म हिँड्न लागेकी थिएँ । रमेश हतार गररिहेको थियो तल ।
एकदिन रमेशले कुरैकुरामा भनेको थियो, "बाबाको ब्लडप्रेसर छ, डाइबेटिज छ, केही गरी बाबा तलमाथि भइहाल्नुभो भने आमालाई चाहिँ हामी नै ल्याउनुपर्छ है शोभा !" त्यो दिन म रमेशलाई हेरेर साह्रै भावुक भएकी थिएँ ।
...तर, आज ?
मलाई हिँड्नु कि बस्नुभयो ।
विस्तारै भन्नु भो बाबाले, "जाऊ बाबु जाऊ ! तिमीले जानैपर्छ । जीवनलाई रोक्न सकिँदैन । भविष्यका विरुद्ध हिँड्नु हुँदैन ।"
म त्यत्तिकै उभिइरहेँ । थप्नुभो, "आमा थिई आइरहन्थ्यौ । अब त ऊ पनि छैन, केका लागि आउँछौ होला र ! यो सबै सिर्जना तिमीहरूकै आमाको त रहेछ, ऊ गई, सबै गयो ।"
बसेको ठाउँबाट उठेर बाथरुमतिर लाग्नुभो, म उभिएकै ठाउँमा टुक्रुक्क बसेँ ।

तल रमेश कराइरहेको थियो, "शोभा ! छिटो गर न, गाडीले हतार गरिरहेछ ।"

(साभार : नेपाल )

कबिता

बाटोमा भरिया बालक

-हेमन यात्री
दुई-चार क्षितिज नाघेर
बिसौनीमा पुग्नलाई
ढुङ्गाका खपेटाले वनेका लिस्नोहरुमा
कहिले उकालो-कहिले ओरालो गर्दै-
तोक्माको खर्त्र्र्याक - खर्त्याकमा
हिडिरहन्छ भरिया बालक ।

भर्तिकेन्द्रको सिपाही
दोकाँधे खक्कन र बन्दुक भिरेर
लडाइँमा हिंडेजस्तो
कुहिरोले अनुहार छोपी
ढाँडमा ढाकर झुन्ड्याएर
तोक्माको खर्त्याक – खर्त्याकमा
हिडिरहन्छ भरिया बालक ।

आँखामा हिउँ पग्लेर
भिजीदिन्छ किनारा लागेका परेली पनि
भरिएर आउछ थकाइको सुनामी
बगर जस्तो सुकेको ओंठ
चैतमा उडेको धुलो जस्तो
मुस्कान उडेर-
डुब्यौ खै ! कुन सागरमा गएर ?
फगत अरुको सपना बोकेर !
तोक्माको खर्त्याक - खर्त्याकमा
हिडिरहन्छ भरिया बालक ।

आफू जस्तै लाग्ने बालकहरु छन् गाँउमा
उनीहरुकै रोजाइहरु छन् ढाकरमा
कस्सैगरी समयमा पुर्याउनु पर्छ- उनीहरु सम्म
हातमा केही कापी-कलम बोकाएर
नयाँ नाना लगाएर
पठाउनु पर्छ-पाठशाला
त्यसैले,
समयमा पुगिन्न कि ! भन्ने डर हृदयमा बोकेर
तोक्माको खर्त्याक - खर्त्याकमा
हिडिरहन्छ भरिया बालक ।

ए ! स्वयम्भुले चिहाएका शीतल निवास हो,
ए ! बालुवाटार हो,
केहिगरी यो बालक
बाटैमा हरायो भने के हुन्छ?

लघुकथा

अनुभूति

-गोपालकुमार मैनाली
कार्यालयमा काम पटक्कै नगर्ने। कसैले भनेको नटेर्ने। कार्यालयका सरसामान सुटुक्क घर पु-याउने। मुख मुखै लाग्ने। हाजिर गर्ने समयमा मात्र टुप्लुक्क आइपुग्ने। कार्यालयको फोन प्रयोग गरेर व्यक्तिगत व्यापार चलाउने। आपसमा कुरा लगाएर झगडा गराइ दिने। भ्रमण आदेश बनाएर भत्ता मात्र खाने। ओटी बस्नेहरुको लिस्टमा अन्तिममा उसको नाम हुनैपर्ने। कार्यालयको प्रमुख बाहेक अरुलाई गन्दै नगन्ने। कार्यालयको काम भने सिन्को नभांच्ने अर्थात हरेक हिसाबले गलत चरित्र भएको हरिबहादुर कार्यालयका लागि घांडो बनेको थियो। सबैका दबाबले उ राजीनामा दिन बाध्य भयो र दियो।
चरित्र खराब भएपनि पुरानो कर्मचारीको नाताले कार्यालयले विदाई समारोह राख्यो। समारोहमा वक्ताहरुको विदाई मन्तव्यको क्रम शुरु भयो।
कार्यालयको अन्तिम दिन भएर होला कसैले हरिबहादुरको नराम्रो पक्षको बारेमा चर्चै गरेनन्। मृदुभाषी, कर्तव्यनिष्ठ, अनुशासित, हसिलो, मिजासी, सबै प्रकारले योग्य, वफादार, समयको पालना गर्ने, आंखामा राख्दा नबिझाउने। कार्यालयमा ठूलो योगदान गरेका, कर्मठ, अनुभवि कर्मचारी हामीबाट विदा लिंदै हुनुहुन्छ आशयका अभिव्यक्ति आए।
आफ्ना बारेमा सबैबाट सकारात्मक र राम्रा कुराको मात्र चर्चा सुन्दा हरिबहादुर गमक्क प-यो। आफु त सांच्चै कार्यालयको चाहिने र महत्वपूर्ण व्यक्ति भएको अनुभुति उसले पहिलो पटक आजै मात्र ग-यो।
कार्यक्रमको अन्त्यमा हरिबहादुरलाई समेत मन्तव्य राख्न बोलाइयो। हरिबहादुरले उभिएर भन्यो -×यी यावत गुणहरु मसँग छन् भन्ने कुरा आजै मात्र मैले थाहा पाएं। म यति राम्रो योग्य कर्मचारी रहेछु मलाई हिजो सम्म कसैले भनेन। मलाई स्वयं पनि थाहा थिएन। तसर्थ मैले दिएको राजीनामा आजैका मिति देखि फिर्ता लिन्छु।" यो उद्घघोष सुनेर सबै कर्मचारीहरुले मुखा मुख मात्र गरे।

Friday, December 26, 2008

गजल

-के.आर. शर्मा
एक्लै छु अचेल तिम्रो साथ छुटेपछी प्रिया
के गर्नु खै ??आफ्नै कर्म फुटेपछी प्रिया

सुख दु:ख सँग-सँगै जिबन बिताउला भन्थ्यौ

रहेन नाता खाएका कसम टुटेपछी प्रिया

पागल झै भौतारिन्छु जिउदो लास सरि

दुख्छ नि मन शब्दको बाणले चुटेपछी प्रिया

यो जिबनमा मेरो तिमीनै सबथोक थियौ

रहेन केही तिमीलाई अर्कैले लुटेपछी प्रिया

एक्लै छु अचेल तिम्रो साथ छुटेपछी प्रिया

के गर्नु खै ??आफ्नै कर्म फुटेपछी प्रिया

-सद्दाम हुसेनको देशबाट
ईमेल: bibash_sharma139@yahoo.com

Thursday, December 25, 2008

कबिता











मेरो भाग्य

-अनिता वाग्ले
माया गर्छु स्नेह बाड्छु
पीडा सहेर सिस्नो फाड्छु
समय संगै बस्ती बढ्छ
झुप्रो भत्किन्छ, महल बढ्छ
त्यही महल बाट सर्प निस्कन्छ
फडा उठाएर आफैलाई डस्छ

बिष लाग्छ रन्थनिन्छु
आफै संग पीड़ित हुन्छु
आशु संग बिष झर्छ
फेरि त्यही दिन चर्या शुरू हुन्छ
आफै देखेर चुपचाप हुन्छु
बरु एक्लै आफै संग रुन्छु

अपजस मात्र सेरोफेरो
भाग्य नै कालो हो की मेरो
गर्दिन भन्छु गर्ने पर्छ
गरिसकेपछि दोष अघि सर्छ
काम परुन्जेल आफ्नो भन्छन
काम सकिए पछि उल्टै लात मार्छन


-सिंगापुर

गजल

-बसन्त अबिरल
कयौ जङ्घार तर्नु थियो पुलमै अड्केको छु,
पारि जाउ कि वारि बसौ भुलमै अड्केको छु।

टप्प टिपि शिरमा लाउदा बात लाग्ने हो कि,
नटिपे झन दाग लाग्ने फुलमै अड्केको छु।

नदेखेकै जाति हुन्थ्यो देखे पछि प्यास बढ्ने,
पिउ कि नपिउ तिम्रो जोबान मुलमै अड्केको छु।

जात पात धर्म सस्कार बाधा बन्ने हो कि,
लाउ कि नलाउ चोखो माया कुलमै अड्केको छु।

न मागेर लान मिल्ने न भागेर जान मिल्ने,
यस्तै यस्तै प्रबासको हुलमै अड्केको छु


-तिलहार,पर्बत
हाल: मलेसिया

Wednesday, December 24, 2008

गीत










कति नै पो बाच्दो रैछ

-देवेन्द्र सुर्केली खापुंग
कति नै पो बाँच्दो रैछ चोखो माया छातीभित्र
बाँच्नेहरु बाँचेका छन् मात्र झुटको ताँतीभित्र ।

मन छ भनेर नै माया उतै छाडेको थिए
माया ठूलो भनेर नै जीवनसित गाभेको थिए
लाखौ विन्ती गरेकै हो पुगिनछु भाँतीभित्र
बाँच्नेहरु बाँचेका छन् मात्र झुटको ताँतीभित्र ।

हृदयमा खाटा बोकी भन्दैछु म कहिले नरुनु
तिमीजस्तो म भईन तिमी कहिले म नहुनु
यस्तो पनि हुँदो रहेछ हाम्रो एउटै जातिभित्र
बाँच्नेहरु बाँचेका छन् मात्र झुटको ताँतीभित्र ।


-मलेसिया

कबिता













आग्रह !

-बि. जे. बान्तवा राई
कति धेरै याद बनी आउँछौ तिमी "सानु",
शुन्याताको मेरो एक्लो क्षणहरु नियाल्दै
बाँचीरहेछु खाली रातको सारा निन्द्राहरु,
आँखा भरिका नुनिलो आँशुले पखाल्दै
तिमीलाई त हुन्न होला मलाई जस्तो त्यहाँ,
म त यहाँ बाँची रहेछु तिम्रो तस्वीर संगाल्दै
परदेशिनु मेरो ठुलो कर्तब्य र बाध्यता थियो,
लागें परदेश बाध्यतालाई पोकापारी तिम्रो माया अंगाल्दै
नजाऊ छोडी म बिबश भै टाढा रहदा,
नत्र म हुनेछु सदा-सदालाई टाढा मृत्युलाई सम्हाल्दै ।


-ठुलोदुम्मा-९, भोजपुर



संस्मरण








हेलिकोप्टर चढेर रिपोर्टिङ

-ईन्द्र नारथुङगे
म्याग्दी जिल्लाका नयाँ अनुहारसँग म जती बेला साईनो गासिरहेको हुन्छु ,त्यसबेला अधर अचानक फुस्कने गर्छ ' म पनि बरम्जामा त पुगेको छु नि। ' एक्कै चोटी बाराम्जाको नाम उच्चारण गर्दा नबपरिचित म्याग्देलीहरु झस्कने गर्नुहुन्छ । स्वभाबिक हो सत्य ओझेलमा राखेर गरिएको कुराले अल्मलाउने गर्छ सबैलाई ।
बारीका कान्ला छेल पार्ने गरी हर्लक्कै हुर्किएका मकैका बुटाले सर्लक्कै ढाकिएको भिरालो गाउ , बाछिटाले कमेरो बगाएर लेघ्रै लेघ्रा पोतिएका माटोका होचा घरहरु , लिउन नहानेको गारोमा टिनको छानो ओताईेको स्कुल भवन,हरियो सर्ट र निलो पैन्ट तथा फ्रकमा लाज ढाकेर भबिस्य खोज्न आएका स्कुले भुराभुरीको छुनुमुनु ,आशैआशमा स्कुल प्राङणमा भरी बिस्कुन लाग्न अैपुगेका गाउलेहरुको थामी नसक्नुको भिड ,काधमा भिरेको बन्दुकले अन्तरमनले छिया-छिया बनाई बाहिरी घाउलाई मल्हम लाइटोपल्न तम्सिरहेका सेनाहरुको सानो टुकडी र शहरबाट भर्खरै उत्रिएका सुकिला मुकिला मान्छेहरुको चुरिफुरी ,यही हो मैले देखेको त्यस दिनको बाराम्जा गाउको सचित्र ।
माओवादी र सरकार बीच दोश्रो पटक युद्द बिराम भै तेश्रो चरणको बार्ता सकिसकेको थियो। युद्द बिरामको फाईदा उठाउदै स्वास्थ शिबिर लिएर माओबादी प्रभाबित गाउहरु पुग्न सेनाहरुलाई असारको पन्ध्र थियो। सेनाको तत्कालिन मध्यप्रितना (हाल पश्चिमप्रितना) पोखराको पहलमा पश्चिमाञ्चल र मध्यमाञ्चलको धादिङ जिल्लाका केही गाउहरुमा शिबिर सम्पन्न भैसकेको थियो। दाङको हापुरेमा सम्पन्न चौथो चरणको बार्ताको दिन जती नजिकिन्दै थियो उती स्वास्थ शिबिर जोडतोडले चलिरहेको थियो। सरकारलाई सुचना प्रतिको मोहको कारण हो वा तत्कालिन मध्यप्रितनापती चित्र बहादुर गुरुङको सन्चारकर्मीसङ्गको हेलमेलको कारणले हो ,हरेक स्वास्थ शिबिरमा पोखराका सन्चारकर्मीहरुलाई हेलीकोप्टरमा राखेर शिबिर सन्चालन भएको ठाउमा लगिने गरिदै थियो। म त्यसबेला "सन्चार दर्पण" साप्ताहिकमा आबद्द थिए। प्रधान सम्पादक ,कार्यकारी सम्पादक र अन्य केही सम्बाददाता साथीहरुले हेलीकोप्टरको यात्रा तय गरी सेनाको नौटङ्कीलाई नियाल्ने अवसर पाईसक्नु भएको थियो तर म बाकी नै थिए। मध्यप्रितनाको पहलमा सम्पन्न भैरहेको स्वास्थ शिबिरको समापन म्याग्दीको बाराम्जाबाट हुँदै रहेछ। स्वास्थ शिबिरमा जन बाकी रहेका सबै पत्रकारहरुलाई बाराम्जा जानको लागि उर्दी आयो। म कार्यालय बसेर भोलिपल्ट निस्कने पत्रीकाको लागि समाचार समाचारहरु कोरिरहेको थिए। फोनको घन्टी बज्यो ,फोन मैले नै उठाए। हेल्लो भन्न नपाउदै उताबाट आवाज आयो "मा डिअैइजी कार्यालयबाट ईन्सपेक्टर प्रताप गुरुङ , ईन्द्र जीलाई तुरुन्त एयरपोर्ट जान भनिदिनु होला।" "मै नै हुँ ईन्द्र ,किन होला? " "ए स्वास्थ शिबिर जानको लागि ,तपाई छुट्नु भएको रहेछ त्यसैले । मलाई चिन्नु भन्नु भएन ? म प्रताप ,गणेश सरको छोरा ।" म अक्सर तात्कालिन राजसभा स्थायी समितिमा सदस्य गणेश बहादुर गुरुङको घरमा पत्रीकाको कामा लिएर गैरहन्थे ,प्रताप जीले त्यतिबेलै मलाई चिन्नु भएको रहेछ । उहाले फोन राखी सके पछि प्रधान सम्पादक नारायण सरसङ्ग सल्लाह गरेर म एयरपोर्ट पुगे। केही पत्रकार साथीहरु अगाडि नै पुगी सक्नु भएको रहेछ। तर अन्य साथीहरु अैइपुग्न बाकी रहेकोले उडान केही ढिला भयो।
एयरपोर्टबाट करीब बाह्र जना पत्रकार ,बीस बाईस जनाको हाराहारीमा सुरक्षाकर्मीहरु र केही शिबिर सन्चालनको लागि सहयोगी स्वास्थकर्मीहरुलाई लिएर सेनाको एउटा हेलिकोप्टर बिस्तारै उत्तर पश्चिम दिशा समातेर उड्न थाल्यो। म लगायत धेरै साथीहरुको पहिलो आकाशे यात्रा भएकोले एकाआपसमा बोल्नु भन्दा पनि नयाँ अनुभूतिलाई मनमा कुम्लो कस्न मै ब्यस्त भैरहेका थियौ। फेवातालको निलो पानीमा छाया पार्दै हेलिकोप्टर लुम्लेको डाडो नाघे पछि सिधै पश्चिम तिर मोडियो। पर्वत जिल्लाको पहाडे कुईनेटोहरुमा नागबेली पर्दै हेलिकोप्तरले कालीगन्डकीको तिर पहिलाउन थाले पछि कुश्मा र बाग्लुङ बजारमा असरल्ल छरिएका घरहरुले नयनलाई केही बेर तानिरह्यो। कालीगण्डकीको किनारमा नाईलनको सेतो धागो टागेको जस्तै देखिने कच्ची बाटो पहिल्याउदै जादा खोला र नदीको बीचमा चेप्पिएर गुज्मुटिएको बेनी बजार देखा पर्छ। लोक गीतको शब्दहरुमा प्रख्याती पाएको बेनी बजारलाई मैले ओझेल नपरुन्जेल चिहाई रहे। हेलिकोप्टरले बिस्तारै उच्चाई लिदै एउटा डाडो फुत्त नाघेर पहाडको छाती चिरी बग्ने एउटा खोलालाई पछ्याउन थाल्छ । केही बेरको आकाशे यात्रालाई बिट मार्दै हेलिकोप्टर मकै बारीमा चार पाउ टेक्न पुग्छ। नयाँ अनुभूतिले मन चन्चल बनिरहेको थियो। सुरक्षाकर्मी र स्वास्थ कर्मीहरुको पाईला खप्ट्याउदै हामी हेलिकोप्टरको पेट चिरेर बनाईेको सानो प्वालबाट हुतुतु निस्कन थाल्छौ। शिबिर सन्चालन भैरहेको ठाउँ अलिक माथि डाडामा रहेछ। एक हुल बिद्यार्थीहरु हामीलाई गाईड गर्न अैपुग्छन। अरु भन्दा औसत मोटो पत्रकार बिनोद धौलागिरी र एमबी आस्था उकालोमा चार पाउ गर्न थाल्छन। अन्नपूर्ण एफ एम का स्टेसन इन्चार्ज दीपेन्द्र श्रेष्ठ भुराभुरीहरुलाई एफ एम सेट निकालेर आफ्नो पोग्राम सुनाउन हतारीरहेका हुन्छन। मान्छे साथमा भए पनि आवाज एफ एम बाट अैरहेको सुनेर नै होला ती भुराभुरीहरुको अनुहारमा आश्चार्य पोतिएको म ठम्याउछु।हिंड्न सिपालु सुरक्षाकर्मीहरु कोही फटाफट निस्किरहेका छन त कोही हामी सङ्गै ताते गरिरहेका छन। म पहाडमा जन्मी हुर्केको मान्छे भए पनि शहर पसे पछि गाउको गोरेटोहरु बिरानै भए जस्तो लाग्यो। अलिकती उकालो चढ्न पनि निक्कै हम्मे परेको देख्दा मैले बिगतलाई नियाले, जतिबेला ढाकर भरी सुन्तला भारी हालेर चार दिनको बाटो काटी काटी म र मेरा दामलीहरु उदयपुरको बेल्टार बजार झर्थ्यौ। ति दिनहरुमा उकाली ओराली हिंड्न सामान्य नै लाग्थ्यो।
हामी पुग्दा शिबिर शुरु भैसकेको थियो। शिबिरमा पोखराका बरिष्ठ सुरक्षाकर्मीहरु तात्कालिन प्रितनापती अतिरथी चित्र बहादुर गुरुङ , जनपथ तर्फका ज्ञानेन्द्र बिक्रम महत,शशस्त्र तर्फका डिअैइजी अमर बिक्रम नेम्बाङ लगायतको उपस्थिती रहेछ। केही बेर पत्रकार हरुलाई कार्यक्रमको बारेमा जानकरी दिने काम पछि सुरक्षा अधिकारीहरु फर्किए। हामी भने चारकुना घुमी घुमी समाचार बटुल्न थाल्यौ। स्कुलका कोठाहरुलाई शिबिर सन्चालनको लागि उपयोग गरिएको थियो। सामान्य बिरामी देखी नागरिकता बनाउने र राहत थाप्नेहरुको भिड अचाक्ली थियो। अपाङ्ग ,ब्रिद्द ब्रिद्दा ,बालबालिकाहरुको अनुपातमा युबाहरुको सङ्ख्या साह्रै न्युन लाग्थ्यो। सुरक्षाकर्मीहरु सबै सङ्ग नम्रता साध्ने प्रयत्न गरिरहेका थिए। स्वास्थकर्मीहरुको समुह बिरामीहरुको जाचमा तल्लिन थिए। प्रशासनिक निकायका मान्छेहरु पनि उस्तै ब्यस्त। तर साथी आस्था र म भिडबाट केही बेर ओझेलिन्दै कान्ला माथि उक्लियौ। गतिलो समाचार त कान्ला माथि थियो। खिसा च्यापिसकेको मकैको हलहलाउदो बुटालाई सोतर बनाएर काटिएको देख्दा मन कुडिएर आयो। हेलिकोप्टर ल्यान्ड गर्न मकै त्यसरी ढालिएको रहेछ। कुरो बुझ्दा क्षतिपुर्ति दिने सर्त भएको रहेछ। त्यतिबेलै एक जनाले हेलिकोप्टरले घरको धुरी उडाएको जानकरी टिपाए। धुरी उडाएको क्षतिपुर्ति दिन्छु भने पछि नपाएको गुनासो थियो घरधनीको । कान्लामा चढेर समाचार मात्र खोजिएन प्रकृतिसङ्ग मितेरी लाउने असीम चाहनालाई पनि धित नमरुन्जेल पुरा गर्न पाईयो। खोलापारीको घना जङ्गल,पहाडको टुप्पोमा बिश्रान्ती लिन ओर्लिएका बादलअको लपेटो, बारीको भित्तोमा झ्याम्म लत्रिएको बन्सोको घास र घरको करेसोमा राताम्य हुँदै गरेका आलुबगडाका दानाहरुमा मन अल्झाउदै मैले मेरो गाउलाई सम्झिरहे। र शिबिरका आशाहरु बिटो कसेर लामा लागेका गाउले मनहरुमा मेरो आफन्तहरु पनि छन कि जस्तै लाग्यो।
करीब चार घण्टाको भिडभाड पछि शिबिर पातलिदै जान थाल्यो। शहर बाट हेलिकोप्टरले बोकेर ल्याएको चामल राहत स्वरुप पाउनेहरुको मुहारमा छाएको चमक हेर्दा उनीहरुले संसार नै जितेको पो हुन कि जस्तै लाग्थ्यो। एकै छिन स्वास्थकर्मीले सुम्सुम्याइदिदा बिमारै निको भएको धेरैले महशुस गरेका थिए। घरको करेसोमा नागरिकता बनाउन पाउदा खुसीले फुल्नेहारु निक्कै भए। भुराभुरीहरु हेलिकोप्टर हेर्न पाउदा कम्ती रमाइरहेका थिएनन । खुसीको लहर सुरक्षाकर्मीहरुमा पनि थियो। तर पत्रकारहरु भ्रम बेचेर सस्तो लोकप्रियता बटुल्ने सरकारी चालबाजीबाट सन्तुष्ट थिएनन। समस्या मुटुमा छ तर हातमा सुम्सुम्याएर उपचार गर्न खोज्नुको कुनै तुक नभएको निष्कर्श थियो पत्रकारहरुको। यो भीषण युद्दको तयारी हो ,सबैको मनले यही बोल्दै थियो। हेलिकोप्टर अैपुगेको जानकारी पाईयो। अघी चार पाउ टेकेर निस्किएको उकालोमा समाचारको बोझ बोक्दै हामी हाम फाल्न थाल्यौ। डाडामा लाईन बद्द भएर भुराभुरीहरु हात हल्लाईरहेका थिए। हेलिकोप्टरको ढोका उघ्रियो। पालैपालो पसेर आसन जमायौ। हावामा पङखाले गति बढाउन थाल्यो। केही बेरमा जुरुक्क उचालियो हेलिकोप्टर र बिहानको बाटो पहिल्याउन थाल्यो। करीब पैइतिस मिनेट पछि पोखरा एयरपोर्टमा थुप्रिन हामी अैपुग्यौ। अर्को दिन बिहान पोखराका सबै दैनिक र साप्ताहिक पत्रिकामा अघिल्लो दिनको समाचार महत्वका साथ छापिएको थियो। पत्रकारको भित्री अनुभूती त समाचारमा थिएनन नै बाहिरी द्रिष्टी पनि सुरक्षाकर्मीले हेलिकोप्टर चढाएको गुणको पैइचो तिर्न मात्रै लेखियो जस्तो लाग्यो। मैले बनाएको मुल समाचारको भाब पनि उस्तै थियो तर सङ्गैको 'ब्रेकर' ले निक्कै हल्ला पिट्यो। "हेलिकोप्टरले घरको धुरी उडायो "शिर्षकको त्यो ब्रेकर सुरक्षाकर्मीको बीचमा पनि चर्चाको बिषय बनेको कुरा पछि थाहा पाए। हेलिकोप्टरमा त चढियो तर सुरक्षाकर्मीहरुको अप्रत्यक्ष मानसिक दबाबमा परिएको भने हेक्का नै भएन उस दिन । हाम्रो साथमा पोखराबाट प्रकाशित हुने माओबादी निकट 'हाम्रो स्वाभिमान' साप्ताहिक का सम्पादक कोमल बराल (हाल जनदिशा साप्ताहिकका सम्पादक तथा संबिधान सभाका सभासद )पनि हुनुहुन्थ्यो। सुरक्षा निकायको माथिल्लो तहबाट पत्रकारहरुको पिछा गर्न निर्देशन नै दिइएको रहेछ। कोमल बराल लाई माओबादीको ठुलै नेता हो भन्ने भ्रम सुरक्षा निकायमा परेको कारणले नै त्यस्तो उर्दी गरिएको हुन सक्छ। जे होस् सरकारी खर्चमा हेलिकोप्टर चढेर पत्रकार हुनुको फाईदा लुटियो त्यस दिन तर बरम्जाबासीहरुको न्यानो स्नेहले अझै पनि कहिलेकाही मन पग्लन्छ। साथी आस्था फोटो खिच्न कर गर्ने पुनमगर थरकी एक बहिनीको नाम पछि सम्म कण्ठै पारेर सम्झना गरिरहन्थे तर मैले भने सेनाको पोशाकमा सजिएकी एक षोडसीको प्रतिबिम्ब मनमा सजाइरहेछु अझसम्म ।


-ईन्द्रणीपोखरी,खोटाङ

गजल

-गीता ढुङ्गेल
संयोगका भाकाहरु बोल्न पाए हुन्थ्यो
तिम्रा सामु मनका बह खोल्न पाए हुन्थ्यो।

एक्लो जीवन बाँच्न यहाँ, धेरै गाह्रो भयो
हामी मिली हार जति, पोल्न पाए हुन्थ्यो।

भाग्य सबै बिलाएर गए क्यार छोडी
बटुलेर मिलनमा घोल्न पाए हुन्थ्यो।

के हो जीवन कस्तो हुन्छ मूल्यै बुझिएन
दुई मुटु सजाएर मोल्न पाए हुन्थ्यो।

लघुकथा

नियत

धनुषराज राई
युवती । औधी राम्री । आफ्नै गाउँकी । म उसलाई मन पराउँछु भन्नुभन्दा पनि उनी मलाई असाध्यै मन पराउँथिन् ।
म दोधारमा परेँ । सल्लाहको लागि मेरो घनिष्ठ साथीसँग सोधेँ, "उनलाई बिहे गरुँ कि के गरुँ ?" साथीले ठाडै इन्कारे र असहमति देखाए, "त्यस्तो जाबो केटी बिहे गर्ने ? न धेरै पढेलेखेकी, न उच्च खानदानकी ...... ।"
उनको सुझाव ठिकै लाग्यो । उच्च अध्ययनको लागि काठमाण्डौतिर गएँ। महिना दिन नबित्दै रत्नपार्कमा एक दिन तिनै साथीसँग ती केटीलाई देखेँ । भर्खरै भगाएर ल्याएको रहेछ ।

Sunday, December 21, 2008

गजल

-राम 'नशा' सापकोटा
आँखा भित्र दुई थोपा आशु छोडी जानेलाई
गजलको खेती बाझो बारी गोडी जानेलाई !

इर्ष्या हैन रीस छैन, केबल शुभकामना,
दोबाटोमा छुट्टीएर अन्तै मोडी जानेलाई !

साछी राखी जुनतारा सगै खाएको कसम ,
राजिनामै भो जीबन ती सबै तोडी जानेलाई !

घाऊ माथि चोट दिदा पिडाको खात मलाई ,
कोमल हृदय मिलोस मुटु यो फोडी जानेलाई !

भेटिदा नचिन्नु ,मर्दा नआउनु/नरुनु,
अन्तिम शब्द यही नयाँ नाता जोडी जानेलाई !


-पर्बत

कबिता

उफ्! मेरो वैश

-मौलश्री लिम्बु
टम्म हुस्सु र कुहिरोले
वातावरण ढाकेर केही ठम्याउन
मुश्किल पारे जस्तै
समयले मेरो वैशलाई
नाजानिन्दो तवरले कतै धकेलेर
तुर्याउन खोजिरहेछ
वैश पाउनुको सार्थकता
मैले जसरी नि
बिताउन पाउनु पर्छ
रै पनि म मा
त्यती बेला सीमाहरू कोरिन पुगे
म अधकल्चो
कही कतै परिपुरक ठहरिन
असफल बन्न पुगे
कदमहरु डगमगाएर
समाहित हुन वन्चित भएँ
नत्र म
यतिबेला यस्तो रहने थिईन
मेरो नियात्राको गन्तव्य
त्यही बन्ने थियो
जो मैले बनाउन चाहेको थिएँ
खैर्!

मेरो पद्चाप यतिबेला
वैशको बिन्दु मेट्न वाध्य भईरहेकोछ
सार मिलाई मेरो जवानी नै
लाग्छ कतै
डुबुल्की मार्न चाँहीरहेकोछ
मलाई थाहा छ
मेरो वैश मेरो वशमा छैन
समयले मलाई यूँ सम्झिएर
एक दिन थन्काईदिनेछ
त्यसैले अब म
यो वैशको नि:सारलाई
कही समाहित गरिदिनेछु
कम्तिमा
कसैको ईच्छा सामु
आफ्नो वैशलाई झुकाउनेछु
मैले भुलेको छैन
त्यो साँझ ठुल्दाईले
वैश समाहित गर्न अघि भन्नु भएको थियो-
'मैले वैशलाई वशमा लिई
तिम्लाई सहज बनाईदिए'
अझै पनि
म आफ्नो वैशलाई लिएर
सदैव किंकर्तव्यविमुढ बन्छु
लाग्छ खै!कही कतै
आफुलाई समाहित गराउन नपाउदैं
नि:सार मै तुरिने पो हो कि!
उफ्! मेरो वैश ।

-झापा
ईमेल: maulshri_limbu@yahoo.com

३ मुक्तक

- कमल गदाइली
१)
पहिलो भेटमा तिमीलाई पाउदा
यौबनताको बास् पाए
मृग नैन रोसानीको भाबसागरमा
भाब स्पर्सको प्रेमजन्य प्यास पाए
२)
किन होला तिम्रो सामु
जान्छु भन्छ योमन
सगै सधैं सपनीमा
उडाइ लान्छ यो ज्यान
३)
तिमी संग भेट हुँदा बोल्न धेरै खास लाग्यो
तिम्रो रुप देख्दाखेरी मनमा मलाई आश लाग्यो
विरही यो जीवनमा खुशी बनी झुल्की दियौ
वेदनामा छट्पटिंदा औषधी झै जीउने श्वास लाग्यो ।

-जरायोटार्-९,सिन्धुली हाल-मलेसिया
ईमेल: kamalbk46@yahoo.com

कबिता

कृस्मस अनि म

-राज रोबर्ट अजनबी सुब्बा
म त यलम्बरको सन्तान
मेरो आगनीमा मङेना नै नाच्ने
तर कृस्मस.......!
तिमी किन यति प्यारो लाग्दै छौ?
तिम्रो ती अन्तराहरुमा
मेरो पाउ किन नाच्न खोज्दै छन्?
कि त तिम्रो प्रेमहरुले
"म" तिमी प्रति समर्पित हुदै छु
कि त तिम्रो माटोहरुमा
सकेला चसोक फुल्दै नफुल्ने
यथार्थको पिडादायी पल भोगिरहेछु।

तिमी यसरी नबिझ मेरो मुटुमा
उसै पनि म तिमीलाई प्रेम गर्छु
तर म त तगेरा निङ्वाफु माङको सेबक
तिमीलाई कसरी अगाल्न सक्छु र?
कृस्मस,तिमीले मेरो मर्म बुझिदेऊ
मैले माङ्सेवा गर्नु पर्छ फक्ताङ्लुङमा
मैले आ_सेवा गर्नु पर्छ चोमोलुङमा
मलाई माफ गर है.........
म तिमीलाई आफ्नो बनाउन सक्दिन।

तर पृय कृस्मस् ........
साच्चै म तिमीलाई प्रेम गर्छु
तेसैले तिमी आऊ
म आदिबासीको आगनीमा
स्वागत छ तिमीलाई

कृस्मस......! तिमीलाई,
आफ्नो बनाएर
अगाल्न नसके नि
सङाल्न नसके नि
हृदय खोलेर यो खुशीमा
मुक्त कन्ठले अबस्य भन्ने छु
ह्यपी कृस्मस !
वीस् मेरी कृस्मस!!

-मामाखे, ताप्लेजुंग
ईमेल: atm_sms6pal@yahoo.com

Saturday, December 20, 2008

कबिता

बाँसुरीबाट बग्ने आँसु

-नन्दु उप्रेती
बाँसुरीले मन रुवाउँछ ।

मायालु औँलाले प्वालहरू चुम्दै
ऊ आफूलाई बाँसुरीमा बजाउछ
बिस्तारै रुवाउँदै मानिसहरूको मन
आफू अलिकति बाच्छ
मानिसहरुको मन रुँदै निदाउँछ र सपना बन्छ
उसको बाँसुरीको धुनसँगै

छाती उधारेर मेरो मुटु लग्यो
उसले बाँसुरी बजाउँदा
मेरो हृदय राख्यो प्वालहरू उघार्दै
मेरा पीडाहरूले उसको बाँसुरी भरियो
फुक्यो तिनलाई
हृदय छिया-छिया पारेर
म रोइनँ आफूमा
उसको बाँसुरीमा रोएँ
म खूब रोएँ उसको बाँसुरीमा ।

म रित्तिँदै अझै
उसको बाँसुरीमा भरिएँ
रोएँ आफन्तहरूको सम्झनामा
मानिसहरूको जीवन खोज्दै जाँदा
फुलेका फूलहरूका यादमा
मेरो आकाश, धर्ती, नदी
मेरा चाहना र रहरहरूको स्मृतिमा
म रोइरहेँ उसको बाँसुरीमा
हृदय पगालेर ।

बिस्तारै मेरो हृदय ओरालो
उसको आफ्नो बाँसुरीबाट
र तररर...
आँसु खसाल्यो
सधैँ-सधैँ बाँसुरीबाट जीवनको खोजीमा

बग्ने उसको आँसु
आज आँखाबाटै बग्यो ।

-काठमाडौं

पाँच ताङ्का

-तीर्थराज वन्त
१।
आकाश छुन
शब्द-घोडामा मन
अनन्त यात्रा
उकाली-ओरालीको
दर्शन द्यौरालीको !

२.
आगो सल्किन्छ
मनै त हो पग्लिन्छ
संसर्गभित्र
मनका सपनामा
फराकिलो आकाश !

३.
लहराहरू
थाँक्राका आधारमा
उकालो चढ्दै
उन्नयन प्रकृति
अस्वीकार ओरालो !

४.
कोरा कागज
दिशाहीन हरफ
आफै हारेका
अक्षरले टोकेका
मानिस विचल्लीमा !

५.
फूलैफूलमा
आस्थाहरूको जन्म
युग चेतना
बाँसुरीको धुनमा
शुभ्र शान्त जूनमा !

-काठमाडौं

Friday, December 19, 2008

गजल

-गरिमा सुब्बा
गर्व लाग्छ मलाई कान्छा तिम्रो सिन्दुर लाएकी छु
भाग्यमानी रहेछु कान्छा मैले तिमीलाई पाएकी छु

मारे पाप पाले पुण्य मर्जी अब तिम्रो नै हो
बाबु माइती छोड़ी कान्छा तिम्रो समीप आएकी छु

जत्रै आधी तूफान चलोस छुटने छैन हाम्रो साथ
यसै भनी मैले कान्छा कसम पनि खाएकी छु

यति मिठो तिम्रो माया सधै भरी मेरै रहोस
भाकल गर्दै मैले कान्छा धेरै मन्दिर धाएकी छु

यो जन्म मात्र होइन तिम्रो सिन्दुर लाउने रहर
जन्मौ जन्म मैले कान्छा तिमीलाई नै चाहेकी छु

-नर्थ बोस्टोन

लघुकथा

स्यालको हुइयाँ

-दीनवन्धु शर्मा
उनले एउटा सुन्दर कविता लेखेर तत्कालीन अर्का मुर्धन्य कविलाई देखाए । मुर्धन्य कविले नाक खुम्च्याएर भने, "यसमा परिष्कारको अभाव छ ।"
उनले एउटा अर्को कविता लेखे र यसपटक अर्का क्रान्तिकारी वरिष्ठ कविलाई देखाए । वरिष्ठले भने, "यसमा प्रगतिशीलताको शून्यता छ ।"
उनले एउटा नाटक लेखे र आफ्ना समकालीन नाटक सम्राटलाई देखाए । सम्राटले भने, "यसमा अभिनय कलात्मकताको प्रस्तुति छैन ।"

उनले एउटा कथा लेखे र प्रख्यात् कथाकारलाई देखाए । कथाकारले भने, "यो कथा एक शताब्दी पछाडि परेको छ ।"
उनले यी सबै कृति बटुलेर प्रकाण्ड समालोचकलाई देखाए । समालोचकले भने, "यी कृतिहरूमा उल्लेखनीय केही छैन "। उनले जताततै स्याल हुइयाँ सुने । उनी आफ्ना कृतिहरूको महत्त्व केही नभएको थाहा पाएर मरे । तर आज उनको जन्मजयन्तीमा कवि लेखक, नाटककार, समालोचक आदि सबै मुर्धन्य साहित्यकारहरूले एकै स्वरमा भने, "उनी साहित्यका प्रत्येक विधामा विलक्षण प्रतिभा देखाउने महान् स्रष्टा थिए ।"
मलाई आर्श्चर्य लाग्यो । जन्मजयन्ती कार्यक्रममा उपस्थित मेरो छेउका दाह्रीवाल साहित्यकारलाई कोट्याएर मैले सोधे, "उनको महत्त्व एक्कासी कसरी आकासियो ?"

उनले गम्भीर भएर जवाफ दिए, "युरोपबाट निक्लने प्रतिष्ठित पत्रिकामा एक जना अमेरिकी समालोचकले उनको प्रतिभाको प्रसंशामा बाह्र पेज लामो लेख लेखेको छ भन्ने सुनिएको छ ।" फेरि स्यालको हुइयाँ सुनिन थाल्यो उनको साहित्यिक प्रतिभाको ।

गजल

-जे.बी.थुलुङ
खोल्दिन्छु आज सारा पोल जिन्दगीको
एकै कौडी छैन यहाँ मोल जिन्दगीको


कति रूनु अतीतको तीतो सम्झी-सम्झी
कति पिट्नु चोकभरि ढोल जिन्दगीको

खेल्दा-खेल्दै कति हिउँद कति वर्ष बिते
एकै चोटी छिर्‍या छैन गोल जिन्दगीको

बहिराहरू सङ्गीतमा झुम्मिरहेका छन्
कोही छैन बु्झ्ने यहाँ बोल जिन्दगीको

मनबाटै भावनाले बसाईँ सरेपछि
सबैभन्दा कम भयो तौल जिन्दगीको


-बेलबारी ,मोरंग

कबिता

ढुङ्गो

-दीपा अविरल
न दुख्‍नु, न रुनुको चोट
न हाँस्नु, न खुसीको बोध
सायद यथार्थ अनि ढुङ्गो हुनुको परिवेश
बगिरहने कोमल पानीको समीप रहे पनि
कहिल्यै पग्लन जान्दैन
कहिल्यै बग्न सक्दैन ढुङ्गो।

बीच नदीमा,
पानीले अँगालीरहेको भानसँगै बाँचिरहन्छ
तर, पानी
निरन्तर तरङ्गित भएर
ऊ समीप आउँछ र
स्मृतिस्वरूप सेता फिँजहरू छोडेर गइसकेको हुन्छ
पानीसँगै अनन्तमा बगिरहन सक्तैन ढुङ्गो।

बरू, ऊ पहाड भएर आँधी-हुरी खप्न सक्छ
बगरमा टन्टलापुर घाम सहन सक्छ
तर, पगालेर आफूभित्रको मन
अरूलाई दिन सक्दैन
अरूको मन सुटुक्क चोरेर लिन सक्तैन।
किनकि, ऊ ढुङ्गो हो
कठोरताबाहेक
कुनै भाव समेट्न सक्तैन/उमार्न सक्तैन।

बटुवाका निरन्तर पदचापहरूले
आँधी-हुरीका झम्ट्याइहरूले
टन्टलापुर घामका सन्नाटाहरूले
खिइरहन्छ, टुक्रिरहन्छ, फुटिरहन्छ.....
तर,
ऊ ढुङ्गोबाहेक अरू केही हुन सक्दैन।


-दिक्तेल,खोटांग
हाल: बिराटनगर
ईमेल: abiral_id@yahoo.com

कबिता

सुन्दरता

-विधान आचार्य
१.
फूलका पातमा अडिएको
एक बूँद पानीजस्तै
फूलभन्दा कोमल
बिहानीको घामको पहिलो किरण
त्यही बूँदबाट उठेर
मनभित्र पसेजस्तै।

२.
मलाई आजसम्म थाहा थिएन
तिमी यति सुन्दर छ्यौ
सधैँ तिमी हुँदा
तिम्रो सुन्दरताको आभास भएन
आज छैनौ साथमा
र तिम्रो सुन्दरताको उपमा छैन।

३.
यो कस्तो सुन्दरता हो ?
साथै हुँदा
आँखाले हेर्नखोज्दा पनि नदेखिने
साथमा नभएपछि
आँखा चिम्लनासाथ देखिने ?

४.
एकपटक
आफै बताऊ आफ्नो सुन्दरता
तिमी कति सुन्दर छ्यौ ?
किनकि मलाई
तिम्रो व्याख्यान पनि सुन्दर लाग्छ।

गजल

-अशोक राई
के लेखुँ म ती विगतका कुरा
यथार्थमा ती फगतमा कुरा

म जलिदिन्छु तिमी खुशी बन
अद्भूत छ यो चाहतका कुरा

प्रेममा डुब्नु त केवल पीडा मात्र
म कहिले गर्दिनँ राहतका कुरा


म सुनिदिन्छु तिमी भन मात्र
म गर्ने छुइनँ आहतका कुरा

Wednesday, December 17, 2008

कथा

सागरको भुमरी

-हिरण्य कुमारी पाठक
आज धेरै समयपछि फेरि अतीतको पाना पल्टाउन मन लागिरहेछ । संफ्रास्किकोको गोल्डेनबि्रजमा उभिँदा मलाई मेरा विगतका भयलाग्दा दृश्यहरूले पछ्यारहेछन् । ती कहालीलाग्दा घटनाहरू र अप्रत्याशित दुर्घटनाले मेरो जीवन छिन्नभिन्न कसरी बनाइदियो ।अकाल्पनिक भुमरीमा म कसरी फँसे, आफैँलाई विश्वास लाग्दैन । कहिले म ती दिनहरूको सम्झनालाई हुरी भएर पन्छाइदिन खोज्छु भने कहिले म ती तीता सपनाझैँ मेटी दिन चाहन्छु तर पनि बारम्बार उदासी-उदासी पलहरूमा मलाई तिनै सम्झनाले पछ्याइरहन्छन् । चिमोटिरहन्छन् । सायद म त्यसबाट मुक्ति पाउन्न सकिन होला । मेरो जीवनको एउटा पाटोझैँ ती भयावह दृश्यहरूले मलाई कहिले पनि छाड्दैन होला । म जति उसबाट पन्छन् खोज्छु, त्यतिनै नगिच हुँदै जान्छन् ती मेरा सहकर्मी जस्तै सायद मैले जीवनको अन्त्यसम्म नै यसलाई अगाल्नैपर्छ होला । जीवनको सुनौलो दिनमा पाइला चाल्दै हिँडेकी बेलाको प्रत्येक पाइलामा एउटा कथाले जन्म लिन पुगेको छ मेरो जीवनमा ।
हो त्यस दिन म आफैँ छक्क परिरहेकी थिएँ । घरमा आमा-बुबा सबै प्रसन्न हुनुहुन्थ्यो । मलाई देख्ने वित्तिकै आमाले, "मेरी छोरी बडो भाग्यमानी छे । ठूलो निधार छ यसको ।" भनी म्वाइँ खानुभयो । अनि बुबा पनि दङ्ग पर्दै, "निलू Û तिम्रो लागि एउटा राम्रो केटाको प्रस्ताव आएको छ । अब ग्रेजुएट भएपछि विवाह गर्ने बेला पनि त भयो नि । भन्नुभयो ।" आमाले थप्नुभयो, "हो निलू, हेर कस्तो राम्रो परिवार र केटा पनि राम्रो पढेको अमेरिकामा जागिर भइसकेको रहेछ । तिमीलाई पनि बिहे गरी अमेरिका नै लाने रे । छोरी तिमी त अमेरिका जाने भयौँ ।" आमा र बुबाले पालै पालोसँग केटाको बारेमा र उसको परिवारको बारेमा अनेकौं बयान सुनाउनुभयो । मेरो विचारको कुनै स्थान नै थिएन त्यतिबेला । फेरि हाम्रो समाजमा सम्पन्न परिवार, केटा राम्रो भनेपछि केटीको विचारको कुनै स्थान नै हुँदैन । त्यस्तै भयो मसँग पनि झण्डै कुरो सुनेको एक हप्तामा नै सबै विवाहको कार्य सकियो र हामी अर्थात् म र मेरो पति मोहनको अमेरिकामा जाने तरखर पनि सुरु भयो । अदालती कागजातहरू तैयार भई निश्चित दिनमा हामी दुई अमेरिका उड्यौँ । कस्तो अचम्म अलि दिनकै कुराकानीले एउटा अपरिचित व्यक्तिसँग मेरो लगनगाँठो जोडियो र आˆनो मातृभूमिबाट अपरिचित सात समुद्रपारि जानुपर्‍यो । मोहन, राम्रो, उच्च कदको वलिष्ठ भुजा, हेर्दा आकर्षक केटो थिए । मोहनसँग मलाई कुरा गर्न हिँड्न, खान सहज नै भयो । उनी जहिले पनि मेरो अति नै माया गरेझैँ अर्थात् मेरो चाहनाको ख्याल गरेझैँ लाग्दथ्यो ।


नीलो आकाशमा सेतासेता बादलका थुम्काले चम्किलो बनाइरहेको दृश्य हेर्दै म मोहित भइरहेकी थिएँ । आकासिँदै-आकासिँदै माथि पुग्दा र फेरि तलतल झर्दा भने जिउ नै सिरिङ्ग हुन्थ्यो । त्यतिबेला मलाई के थाहा थियो र मेरो जीवनमा पनि यस्तै उकासिने र तल झर्ने मार्ग देखाइसकेको छ भने । रातिमा हवाइजहाजबाट तल सहरका बत्तीहरू टिमटिम टल्की तारालाई बिर्साइरहेका थिए । जताततै झिलमिलझिलमिल ताराहरूको संसारमा आफूलाई भित्र्याइरहेकी थिई । नौलो जोश, नौलो दृश्य र नौलो जीवन साथीसँगको सफरले म आत्मविभोर भई कहिले दृश्य देखाउँथे मोहनलाई भने कहिले उसको आलिङ्गनमा आफूलाई लुकाउन खोज्दथे । समय त पर्खदैन । हामी न्युयोर्कमा ओर्लियौँ । मोहनले ट्याक्सी लिए हामी डेरामा गयौँ । नयाँ सहर र नयाँ माहोलले मलाई अलि अप्ठ्यारो लाग्नु स्वाभाविक नै हो तर मोहनको सहज व्यवहारले मलाई हौसला दिइरहेको थियो । विस्तारै दिन बिते, महिना बिते । मोहन आˆनो काममा जाने र राति अबेर फर्किने क्रम जारी नै थियो । मलाई एक्लै बस्दा सारै नै न्यास्रो लाग्दथ्यो तर पनि मैले मोहनलाई भन्ने आँट गरिँन । छिट्टै नै उसको मप्रतिको व्यवहार अलि रुखो भएझैँ लाग्यो ।

एकदिन छुट्टीको दिन हामी घुम्न गएका थियौँ । मोहनले मलाई "यहाँ त दुवै जनाले काम गर्नुपर्छ । अब भोलिदेखि तिमी पनि काममा जानुपर्छ है, म लैजान्छु" भने । मलाई पनि मेरो शून्यता हराउने भयो भनेर खुसी नै भएँ । भोलिपल्ट मलाई मोहनले एउटा ठूलो २० तले बिल्डिङमा लिˆट चढाएर लगे । म खुसी भएँ नयाँ सहरको नयाँ रौनक हेर्न पाएर । उनले मलाई एउटा अफिसमा लगे । उनीहरूको के कुरा भयो मैले सुनिन । त्यहाँ थुप्रै केटीहरू पनि काम गरिरहेका थिए । ती सबैले मलाई नौली देखेर होला निक्कै गरिहिएर हेरे । त्यसपछि हामी फेरि लिˆटकै सहाराले तल ओर्लियौँ । मोहनले मलाई त्यसदिन तीन-चारओटा अफिसमा लगे तर के कस्तो कामको खोजी भएको हो, मैले थाहा पाउन सकिँन । अङ्ग्रेजी त मेरो पनि राम्रो थियो, किनकि म बोर्डिङ स्कुलमा पढेकी तर कुरा गरेको मैले सुन्नै पाइँन । त्यस रात घर फर्केपछि मोहन केही झोक्रिएझैँ थिए । मैले सोद्धा खासै केही होइन भने र हामी आˆनो रुटिन अनुसारको प्रेमालिङ्गनमा बाँधियौँ ।
चौथो दिन दिउँसो टेलिफोन आयो मोहन नभएको बेलामा त्यो फोनमा एउटा होटलबाट मलाई कलगर्लको काम गर्न बोलायो । म छक्क परेँ र 'रङ नम्बर' भनेर फोन राखिदिएँ । त्यसदिन मलाई अर्को पनि फोन आयो, यस्तै कामको लागि । सबैलाई मैले 'रङ नम्बर' भनेर पन्छयाइदिएँ तर मेरो मगजमा मोहनले अफिस लानु कुराकानी मलाई नसुनाउन र यस्तो फोन आउनु के हो यस्तो ? भनेर मलाई छटपट भयो । मेरो हृदयमा कुनै अनिष्ट हुने कुराको शङ्का उब्जियो । निकै अबेर मोहन आए । त्यसदिन उनी धेरै नै पिएर आएका थिए । मलाई के भन्नु, के गर्नु जस्तो भएको थियो । मोहनले ï'कुनै फोन आएको थियो कि' भनेर सोधे । मलाई उसको भित्री कुरा के थाहा र ? सबै कुरो भनिदिएँ र सबैलाई 'रङ नम्बर' भने । यो सुन्ने वित्तिकै मोहन एकदमै उत्तेजित भयो र मलाई हातै छोडेर भन्यो "तँलाई पाल्न यसै म सक्छु र । तँलाई यहाँको कलगर्ल बनाएर म ठूलो धनी मानिस बन्छु, बुझिस् । मैले यसै तँलाई यहाँ घुमाउन ल्याएको हो र ? भोलिदेखि त कलगर्लमा काम गर्न जानुपर्छ । नेपाली केटीलाई यहाँ अति नै मन पराउँछन् त्यसैले त मैले तँलाई सात समुद्र पार ल्याएको हो बुझिस् ।" यति भन्दाभन्दै मोहन ढलिहाले र ओछ्यानमा विचेत भई पछारिए । म अर्थात् मोहनकी पत्नीलाई आˆनै लोग्नेले कलगर्लको काममा लगाउन लागेका छन् । यो कस्तो बिडम्बना । मलाई अत्यन्तै दुःख लाग्यो । आˆनो परिवार आˆनो देश छाडी यति पर पतिसँग आएकी म आफूलाई एकैछिनमा असहाय, अनाथझैँ ठान्न बाध्य भएँ तर एक मनले मोहनले धेरै पिएकोले आज अलि बहकिएको हो कि भनी आˆनो मनलाई बुझाउने प्रयास गरेँ । त्यस रातको छटपटीको वर्णन गर्न असमर्थ छु म । सात समुद्रको गहराईभन्दा पनि अथाह गहिरो विश्वासघात भएको छ कि मेरो जिन्दगीसँग, भनी म विश्वास र अविश्वासको दोसाँधमा रातभरि झुलिरहेँ ।
बिहानीको सिरसिर हावाले मलाई केही भरोसा र विश्वासको आसमा अलि दरो बनाइरहेको थियो । त्यतिबेला नै मोहनले आएर गर्लम्म अँगालोमा बाँध्यो । "सरी Û है मेले हिजो तिमीलाई के के भने के के" भनी मलाई फकायो तर उसले घुमाइफिराई डान्स गर्न, डान्स सिक्ने ठाउँमा जानुपर्छ भन्नथाल्यो तर मैले अरू नै काम गर्छु भनेर अड्डी लिँदाको दृश्य आज पनि मेरो सामु छ । कस्तो भयङ्कर रूप देखाएको थियो मोहनले त्यस दिन मलाई । उसले भनेको काम नगरेमा, कलगर्ल नबनेमा उसले मेरो जीवन नर्क बनाइदिने धम्की दियो । मलाई नजानीनजानी नर्कमा होमिदियो मेरो लोग्नेले । त्यसपछि त कति त्यस्ता काम गर्नुपर्ने हो, कति गरेँ त्यसको लेखाजोखा नै छैन । मोहन जसलाई मेरा आमाबाबुले अमेरिकावासी एउटा सुशील केटा भनी विवाह गरेर पठाए तर उसको काम के हो, उसको हैसियत के हो भन्ने कुरा सात समुद्रपारिको रहनसहनबारे केही जानकारी नै नलिई छोरीलाई अमेरिकाको केटा भनी विवाह गरेर पठाउँदाको भोग्नुपर्ने कष्टमय जिन्दगीको तस्बिर आज पनि मेरा आँखा वरिपरि बीभत्स दृश्य सलबलाउन थाले । म यस जिन्दगीबाट उम्कने बाटोको खोजीमा लागेँ । मेरो नर्कमय जिन्दगीको सम्पूर्ण कमाई मोहन रक्सीमा नै खर्च गर्दथ्यो । अब उसले कुनै काम गर्न नै छोडिसकेको थियो ।
अमेरिका आएको एक वर्षमा नै मलाई जिन्दगी बोझ भइसकेको थियो । आˆनो दुर्दशा सात समुद्र पार बसेका जन्मदातालाई सुनाउन पनि मन लागेन । अब यो लडाइँ मैले आफै नै लड्नुपर्छ भन्ने मलाई आत्मविश्वास जागिरहेको थियो । मोहनको रक्सीको अत्याचार मेरो आर्जनको मूलस्रोत भइसकेको थियो । दिनका दिन फोनमा कुरो मिलाई मलाई छि त्यस नर्कमा जान विवश तुलाई पठाउथ्यो । यो मेरो दैनिकी भइसकेकोले यसबाट अलग्गिने बाटोको खोजीमा थिएँ ।
दैवले जसरी मलाई यस भुमरीमा पस्न बाध्य पार्‍यो त्यस्तै नै एकदिन मलाई एउटा सुनौलो बिहानीले स्वागत गर्‍यो । हो मलाई राम्रो सम्झना छ, त्यसदिन मोहन बडो खुसी थियो । आज उसले धेरै डलरमा मलाई बिकाएको थियो । अलि राम्री भएर जाने आदेश पनि दियो । म छक्कै थिएँ । गन्तव्यतिर लम्कँदै, लिˆटबाट म धेरै ऊचाइमा पुगिसकेकी थिएँ । तीसौँ तलामा पुगेपछि त्यहाँको एउटा रेष्टुराँभित्र मलाई लगियो । एउटा सानो तर सुसज्ज्ित कोठामा मलाई एकछिन पर्खन भने । म कोठामा सधैँझैँ शोषित हुन न्याउरो मुख लगाएर बसिरहेकी थिएँ । त्यसैबेला एउटा सज्जन देखिने युवक, जसको लुगाबाट महँगो अत्तरको गन्ध आइरहेको थियो, जुन मलाई पटक्कै मन पर्दैन । ऊ एकदमै हँसिलो र ठट्यौली मुडमा थियो तर म त विवशता भित्रभित्र अल्झेकीले उसँग हाँस्न, रमाउन कसरी सक्दथें र ? एकैछिनका जोकहरूबाट पनि मेरो हाँसो उठ्न नसकेकोमा ऊ छक्क पर्‍यो । बडो भलाद्मी तरिकाले ऊ मसँग बस्न आयो र मेरो हातमा हात राख्दै मलाई नरम पाराले सोध्यो । "किन तिमी प्रसन्न छैनौँ ? म कसरी प्रसन्न गर्न सक्छु तिमीलाई ?" उसले फेरि मलाई भन्यो - "म यौन पिपासु हैन । भन तिमी नेपालबाट कसरी यहाँ आयौ र तिमीले किन यो पेसा अपनायौ । म त जताततै यस्तै कार्यको विरोध गर्दछु । आज म तिमीसँग तिम्रो असमर्थता, तिम्रो विवशतालाई खोजी गर्न आएको छु । भन तिम्रो नाम के हो ? मेरो जोन हो मलाई जोन भन र आˆनो भाइ भन्ने ठान्न ।" अकस्मात् एउटा नौलो र अप्रत्याशित कुरा सुन्दा त मैले विश्वास नै गर्न सकिँन तर जोनले मलाई बैनी भन्दै अँगालो मार्दा म भावावेशमा एकदमै अँगालोभित्र रुन पुगेँ । जोनले मलाई ढाढस दियो- "तिमीलाई केही हुँदैन बैनी म तिम्रो पूरा सहायता गर्छु ।


त्यसदिन जोन मेरो लागि भगवान्को रूपमा मानवलाई देखे जस्तै भयो तर मनको एक कुनाले विश्वास गरिहाल्न पनि नसक्ने थिएँ म जोनमा किन हो किन, मैले विश्वास गरेँ र आˆनो अतीतको सबै अध्यायहरूलाई क्रमैरूपले सुनाएँ । जोन पनि दुःखी भयो र "अब के गछ्र्यौ त बैनी ? पुनः नेपाल जाने व्यवस्था मिलाइ दिउँ" भनी सोध्यो । यस नर्कबाट उम्कने बाटो पाएकोमा म विश्वास र अविश्वासको झुलनामा झुलिरहेको बेला जोनका कुराले मलाई केही सोच्न बाध्य बनायो । अब यस हालतमा म तुरुन्तै आˆनाहरूको माझमा पस्न चाहन्नथें । आˆनो दुःख-दर्दको कथा व्यथा लिएर । अनि मैले जोनसँग "यो सहरभन्दा पर अर्कै सहरमा मलाई केही काम गर्न मिलाई दिएमा म अलि वर्ष आˆनो देश र्फकन चाहन्न" भनेँ । जोनले, "ल हुन्छ बैनी यसको लागि सबै कुरा मिलाउन समय लाग्छ । तिम्रो पतिलाई म रोज नै रकम दिन्छु तिमी मलाई यसै कोठामा भेट्ने गर, अनि फेरि प्रोग्राम मिलाउँला । ल, आज म गएँ विश्वास गर र यो कुरा कसैलाई नभन ।" भन्दै जोन गइहाले मलाई त्यसदिन शरीरमा फूर्ति आएझैँ ऊर्जा उत्पन्न भयो । अब मेरो जीवन यस्तो नर्कबाट छुट्कारा पाउने भयो भन्ने खुसीमा म कतिबेला आˆनो कोठामा पुगेँ पत्तै भएन । राति मोहन उही रक्सीले गन्हाउने भएरै आएको थियो । "म आज धेरै थाकिसके" भन्दै सुतिहालेँ ।
एक सप्ताहपछि जोनले "भोलि एक बजे एयरपोर्टमा आउ हामी सान्पmान्सिस्को जाने र त्यहाँ सबै ठीक हुन्छ" भनेर हिँडिहाल्यो । अक्क-बक्क भई जोन गएको बाटोलाई मेरा आँखाले पछ्यारहेका थिए । जीवनमा पुनः नौलो कदम चाल्न लाग्दैछु । कस्तो हुने हो ? जोनको पनि के विश्वास ? को हो र त्यो मेरो ? मेरो आˆनै बिहे गरेको लोग्नेको त यो हालत छ, अब के गरे ठीक, के गरे बेठीक । म दोधारमा थिएँ । एकपल्ट आँट नै गर्छु भन्दै मनलाई दरो बनाएर एउटा निर्णय लिएर ठीक एक बजे म एयरपोर्ट पुगंे । आˆनो नर्कतुल्य जीवन बनाउने पति मोहनलाई सदासदाको लागि छोडेर ।
सान्पmान्सिस्को सहर अति नै रमाइलो लाग्यो मलाई । स-साना घर सफा शान्त सहरले मलाई स्वागत गरेझैँ लाग्यो । जोनले मलाई उसको एउटा केटी साथीको घरमा राख्यो । दुईचार दिनमा जोनकै एउटा ठूलो बिस्कुट फैक्ट्री रहेछ, त्यहीँ मलाई राम्रो रकममा काममा लगाइदियो र "अब बैनी तिमी आˆनो जिन्दगी आफैँ सजाउ, जसरी तिमी चाहन्छ्यौँ । यो फैक्ट्री सदैव तिमीलाई स्वागत गर्छ म गएँ" भन्दै गएको जोनसँग आज दश वर्षमा जम्मा दुईचोटि भेट भएको छ । धन्य मानिस, मानिसको स्वभाव आस्था र आत्मियताको भावना । अग्निसाक्षी राखेको पतिले मलाई बेच्यो । चिन्दै नचिनेको सात समुद्रपारिको मानिस मेरो दाजु बनी संरक्षण गर्दैछ । कस्तो विडम्बना ? मलाई आमाबाबुप्रति पनि वितृष्णा भएकोले आˆनो देशको माया भए पनि कहिलै सम्पर्क गरिँन र गर्न मन पनि छैन । यसैबीच मित्रहरू धेरै भए । धेरैले विवाहको प्रस्ताव पनि राखे तर विवाह शब्दप्रति मलाई घृणा भइसकेको छ । मैले आफूले कमाएकोमा आˆनो खर्चबाहेक अरू सबै दीनदुःखी बालबालिकाको स्कुलमा दिँदैआएकी छु र भविष्यमा यसैगरी जीवनयापन गर्छु भन्ने विचार छ । आज म खुसी छु, सुखी छु । जोनको बाटो र मेरो अटल निर्णयले म एउटा ठूलो सागरको भुमरीबाट उम्केकी छु ।

साभार : मधुपर्क

Tuesday, December 16, 2008

कथा

आगोको ज्वाला

-माया ठकुरी
'हेर्नोस् त मिस ! हामीले यो फूलबारी कति राम्रोसँग गोड्यौँ।' विनयले आफ्नो समूहका अरू तीनजना बालकसहित रमिलाको अगाडि गएर भन्यो।
'ए, हो ? खोइ हेरूँ त !' रमिला मिस बालगृहको प्राङ्गणमा रहेको फूलबारीनेर पुगिन् र भनिन् - 'ओहो ! कस्तो राम्रो गोडेर सफा बनाएछौ ! कति राम्रो देखिएको छ।'

त्यति नै खेर नोर्बुले पनि रमिलाको छेऊमा आएर भन्यो- 'मिस ! हामीहरूले पनि कुखुराको खोर सफा गरेर अन्डाहरू जम्मै डालामा राखेका छौँ।'
'ल ल, जाओ तिमीहरू, ज-जसले आफ्नो काम सक्यौ, हातमुख धोओ।' रमिलाले भनिन् - 'त्यसपछि खाना खानुपर्छ। अनि केहीबेर आराम गर्नुपर्छ।'

स्कुलमा मीनपचासको लामो बिदा सुरु भएयता बालगृहमा बस्ने बत्तीस जनाजति बालक यस्तै विभिन्न कार्यक्रममा व्यस्त भएका थिए। कहिले काठमाडौँका अनेकौँ ऐतिहासिक र रमणीय स्थल घुम्ने, कहिले खेल्ने, कहिले चित्र बनाउने, कहिले कथा र कविता लेख्‍नेजस्ता गतिविधिमा ती बालकहरू सहभागी हुने गरेका थिए। यी चारदेखि आठनौ वर्षका बालकहरू कोही सडकबालक थिए, कोही पाटीतिर फेला परेका थिए भने कोही आफ्नै जन्मदातृ माताद्वारा त्यागिएका पनि थिए। तीमध्येका धेरैजसो बालक प्रतिभाशाली भएको कुरा उनीहरूले गरेको कामबाट प्रमाणित भएको थियो।
मुग्लिनबजारको 'होटल आँखीझ्याल' अगाडि एउटा यात्रुबस आएर अडियो। यात्रुहरू बसबाट ओर्लेर धमाधम होटलभित्र पसे।

'ल, छिटोछिटो खानाको अडर ली है कान्छी !' साहुनीले उज्यालो अनुहार लगाएर भनी।
लगभग बाह्रतेह्र वर्षकी, खिरिलो शरीर भएकी केटी एउटा अधबैँसे मानिस बसेको टेबुलछेउ गई र 'तपाईँलाई के ल्याइदिऊँ ?' भनेर सोधी।
'मलाई त तिमीलाई खानु छ कान्छी ! खाऊँ ?' त्यो मानिसले आफ्नो टाउको कान्छीतिर लाँदै भन्यो।
'आब्बुइ ! के गर्नुभएको ?' कान्छी तर्सेर पछाडि सरी।
'किन डराएकी ? म बाघभालु होइन। आऊ न आऊ, मेरो नजिक आऊ !' त्यस मानिसले कान्छीको पाखुरा समातेर उसलाई आफूतिर तान्यो।

त्यसप्रकारको अप्रत्याशित बर्तावले गर्दा कान्छी आतङ्कित भई र बलपूर्वक उसको हातबाट आफूलाई छुटाएर दगुर्दै भान्साकोठातिर गई।
'ए साहुनी, कान्छी त भागी नि ! उसैको हातमा खाना पठाऊ है। उसको हातले ल्याएको खानाको स्वादै भिन्नै।' भन्दै त्यो मानिस ठूलो स्वरमा हाँस्यो।
भान्साकोठामा दुवै हातले आफ्नो अनुहार छोपेर कान्छी चित्त दुखाईदुखाई रुँदै थिई। त्यत्तिकैमा झुत्रे लुगा लगाएको एउटा सातआठ वर्षको केटो कान्छीको नजिकै आयो र उसको कुममा हात राखेर भन्यो - 'के भो दिदी ? कल्ले पिट्यो ? किन रोकी ?'
आफ्नो एकमात्र सानो भाइबाट स्नेहपूर्ण शब्द सुन्नासाथ कान्छीले भाइलाई गम्लङ्ग अँगालो हाली र हिक्कहिक्क गर्दै रुन थाली।
'ए ! तिमीहरू दिदीभाइ त यहाँ अँगालो मारेर बसेका छौ ? उता ग्राहक भने कराइरहेका छन् !' साहुनी रिसाउँदै भान्सामा आएर कराउन लागी। 'जा छिटो गएर खाना दे। अनि, तँ फुच्चे ! तँ पनि अब त जग र पानी बोकेर जानुपर्दैन दिदीलाई सघाउन ! त्यो बिचरो रामेले कताकता भ्याओस् !'
कान्छीले हत्केलाले आँसु पुछी र आफूलाई सामान्य अवस्थामा ल्याउने प्रयास गर्दै उठेर ग्राहकहरू भएतिर लागी। त्यो फुच्चे केटो पनि सकी नसकी पानीको जग उठाएर दिदीको पछिपछि हिँड्यो।
दिनभरिको व्यस्ततापछि पनि राति अबेरसम्म त्यो केटी कहिले भाँडा माझ्ने, कहिले तरकारी काट्ने र कहिले ग्रहकहरूको मागअनुसार खाना टेुबुलमा पुर्‍याने काममा लागिरहन्थी। आफ्नो शरीर र उमेरले धान्न नसक्ने परिश्रम गर्दा पनि ऊ आफूलाई सुरक्षित अनुभव गर्दिनथी। ऊ राति राम्ररी निदाउन पनि सक्तिनथी। उसको भाइ सानो हुनाले ओछ्यानमा पर्नासाथ निदाइहाल्थ्यो तर प्रायजसो मध्यरातमा ऊ झस्कँदै, चिच्च्याउँदै वा कहालिँदै ब्यूँझन्थ्यो। कान्छीले भाइलाई थुमथुम्याउने र सुताउने प्रयास गर्दागर्दै रात बित्थ्यो।
एक बिहान त्यो सानो केटो उठ्ता उसकी दिदी होटलमा थिइन। निकैबेर दिदीलाई होटलमा नदेखेपछि उसले अधीर भई साहुनीलाई सोध्यो – 'दिदी खोइ ?'

'मैले तेरी दिदीको ठेक्का लिएकी छु र मलाई थाहा हुने तेरी दिदी कहाँ गई भनेर ? हिरोइन हुन गई कि पोइल गई, मलाई के थाहा ?' साहुनी च्याँट्ठिई।
आफूलाई एकाएक दिदी छोडेर गई भन्ने सुनेर त्यो सानो केटो हतास हुँदै 'दिदी, दिदी !' भन्दै लेघ्रो तानेर रुन थाल्यो।
'ए केटा ! बिहानबिहानै यसरी लेघ्रो तानेर अलच्छिन नला है। तेरी दिदी अब कहिल्यै फर्केर आउँदिन। हामी भने दुःख पाएर, गाउँघर छोडेर आएका केटाकेटीलाई बस्नेखाने मेसो मिलाईदिन्छौँ। उनीहरू भने दुईचार दिन बसेपछि मात्तिएर भाग्छन्। जे भयो भयो, अब के गर्छस् ? यहीँ बस्, सकेको काम गर्, खा। तँ रोएर तेरी दिदी फर्कने होइन।' साहुनीले भनी।
त्यसपछि त्यो केटो त्यहीँ आफूले सकेको सानोतिनो काम सघाएर बस्यो।
तीनचार महिनापछिको कुरा हो। एक दिन एकजना ग्राहक भात खान ठिक्क परेका बेला उसलाई पानी दिने क्रममा त्यो केटाको हातबाट जग खस्यो र भातको थालमा बजारियो। केटाले के भयो भनेर सोच्न नभ्याउँदै ग्राहकले उसको कलिलो गालामा जोडसँग झापड लगायो र भन्यो – 'कुकुर ! पानी दिन पनि सोमत छैन तँलाईँ?'
झापडले झनझनाएको टाउको समाएर त्यो केटो थचक्क भुइँमा बस्यो। साहुनी त्यो ग्राहकको अघि गएर अनुनय गर्न थाली - 'के गर्ने हजुर ! केटो सानो छ, काम गर्न त्यति जान्दैन। म अर्को खाना लगाउँछु।'
'होइन, तपाईँ यस्तो कामै नजान्ने केटालाई किन राख्‍नुहुन्छ बेकारमा ?' ग्राहक आँखा तर्दै थियो। उसको रिस मरेको थिएन।
'के भन्ने र ! केही कुरो भन्यो भने बरू मूढो बोल्ला, यो बल्दैबोल्दैन। सास फेरेको छ, त्यसैले मान्छेजस्तो छ, नत्र मान्छे पनि होइनजस्तो भइसक्यो।' साहुनी भन्दै थिई। रामेले तात्तातो भात र मासु ल्याएर ग्राहकको अगाडि टेबुलमा राखिदियो। ग्राहक सपासप भात खान थाल्यो।
साहुनीले भनी - 'ए फुच्चे ! ल पानी पनि दे, नपोखीकन।'
त्यो सानो फुच्चेले पानी भरिएको जग ल्याएर ग्राहकले भात खाँदै गरेको स्टिलको खन्डेथालमा एकाएक जोडसँग बजारिदियो। थाल उछिट्टियो र खानेकुरा त्यो ग्राहकको अनुहार र कपडामा छरपस्ट भयो। आफूले कल्पनै नगरेको घटना भएकामा त्यो मान्छे पनि क्षणभरका लागि स्तब्ध भयो। उसले देख्यो, त्यो सानो फुच्चे आँखामा घृणाको भाव बोकी उसको अगाडि निर्भयपूर्वक ठिङ्ग उभिएको थियो। सानो केटाको दुस्साहसबाट क्रुद्ध त्यस मानिसले उसलाई समात्न हात बढाएको मात्र के थियो, त्यो केटो बिजुलीको गतिमा होटलबाहिर दगुर्‍यो। त्यसपछि निकैबेरसम्म उसलाई खोजियो तर ऊ फेला परेन।
होटलबाट दौडेर त्यो फुच्चे नकै वर आई एउटा अड्याइराखेको बसभित्र गई लुकेको थियो। एकछिनमा बस काठमाडौँतिर हान्नियो।

साँझ लगभग चार बजेको थियो। चियानास्ता गरिसकेपछि सबै बालक बालगृहको आँगन र मैदानमा विभिन्न खेलमा रमाइरहेका थिए। केही बालक गोठछेउ ठुङ्गा, माटो पराल लिएर सानासाना नमुना घर बनाउँदै थिए। कृष्ण, शम्भु, युगल, रोसनहरूचाहिँ अलि पर बसेर आआफ्ना कापीमा चित्र कोर्दै थिए भने अन्य बालकहरू अलि पर चौरमा फुटबल खेल्दै थिए। बालगृहका सञ्चालिका अम्बिका जोशी र सदस्यहरू रमिला मिस, दामोदर सर र गोविन्द सर आँगनको एउटा कुनामा बसी कुनै विषयको छलफलमा व्यस्त देखिन्थे।
अचानक नजिकै ठूलो कोलाहल सुनियो। केही बालक कसैलाई लखेट्दै यता र उता दगुर्दै थिए। उनीहरूका पछिपछि पाले दाइ पनि 'के भयो ? के भयो ?' भन्दै दौडँदै थिए। त्यस हल्लाले सबैको ध्यान उतै तानियो। दामोदर सरले एकजना बालकको पाखुरा समाती सोधे - 'के भयो ? तिमीहरू किन यसरी दगुरादगुर गरेका ?'
'हेर्नुस् न सर ! हामीले कति दुःख गरी बनाएको घर त्यसले भताभुङ्ग पारिदियो।' त्यस बालकले परतिर देखाउँदै रुन्चे स्वरमा भन्यो।
'कसले, के भत्काइदियो ?' रमिला मिसले उत्सुकतापूर्वक सोधिन्।
'अरू कसले हुन्थ्यो, त्यही कुमारले हो नि हाम्रो घर भत्काइदिएको। त्यसले जहिले पनि हामीले बनाएको घर भत्काइदिन्छ, चित्र च्यातिदिन्छ। अनि सबसँग निहुँ खोज्छ, झगडा गर्छ। केही बोल्दैन एक्लै बस्छ, मिलेर खेल्दैन। त्यलाई यहाँ राख्‍नुहुँदैन, खेदिदिनुपर्छ।' नौबर्से वर्णले गम्भीर स्वरमा भन्यो।
'त्यसो भन्नुहुँदैन। ऊ पनि तिमीहरूको साथी हो। उसले नराम्रो गर्‍यो भन्दैमा हामीले पनि उसलाई नराम्रो गर्नुपर्छ भन्ने होइन। उसलाई माया गरी सम्झाइबुझाइ गर्नुपर्छ। अनि त ऊ पनि तिमीहरूजस्तै ज्ञानी भइहाल्छ नि ! कति भयो र ऊ यहाँ आएको ! भर्खर बीसबाइस दिन न भयो। सुरुसुरुमा यहाँ आउँदा यहाँको नौलो वातावरण बस्नुपरेपछि सबैले यस्तै केके गर्छन् नि ! पछि सब ठीक हुँदै जान्छ।' रमिला मिस बालकहरूलाई सम्झाउन खोज्दै थिइन्।
दामोदर सरले थपे - 'हो, रमिला मिसले ठीक भन्नुभयो। तिमीहरू सबै असल र ज्ञानी बालकहरू हौ। तिमीहरूको सङ्गतले ऊ पनि तिमीहरूजस्तै असल हुनेछ। भैगो, अहिले तिमीहरू खेल।'
त्यस दिन कुमारलाई सम्झाइबुझाइ गरे।

यो घटना भएको लगभग हप्ता दिनपछिको कुरा हो। बेलुकाको खानपिन सकी सबै बालक सुत्‍ने तरखरमा थिए। अचानक बाहिर पाले दाइ चिच्याएको सुनियो - 'आगो लाग्यो, आगो !'
सबैजना हस्याङफस्याङ गर्दै बाहिर निस्के। गोठमा दनदनी आगो बलेको थियो। पाले दाइले गोठका दुइटा भैँसीको दाम्लो खोलिसकेका रहेछन्। सबै मिस-सर बाल्टी बोकेर आगोमा पानी खन्याउन थाले। एकछिनपछिको प्रयासपछि उनीहरू आगो निभाउन सफल भए।
'आगो कसरी लाग्यो ?' गोविन्द सरले पाले दाइसँग जिज्ञासा राखे।
'खोइ, म त यताउता गर्दै थिएँ। अचानक गोठबाट उज्यालो देखियो। आगो लागेको रहेछ। म त भैँसी फुकाउन लागेँ।'
त्यही बेला सातबर्से अङ्कितले प्याच्च भन्यो - 'सर ! कुमारले आगो लगायो होला।'
'किन त्यसो भनेको अङ्कित ? तिमीले कसरी थाहा पायौ ?'
'ऊ जहिले पनि आगो लगाइदिन्छु भन्छ।'
'खोइ त कुमार ?'
सबैका आँखाले कुमारलाई खोजे। कुमार कतै पनि देखिएन। सबैजना उसलाई धुइँधुइँती खोज्न लागे।
'बाबु त भोगटेको रूखपछाडि पो लुकिराखेका रहेछन् त !' पाले दाइले एकछिनपछि बालगृहको ठूलो हलमा कुमारलाई डोर्‍याउँदै ल्याए र भने - 'आउनै मानेका थिएनन्, बल्लबल्ल ल्याएँ।'
'कुमार ! तिमी किन लुकेको ?' रमिला मिसले सोधिन्।
'तिमीले हो गोठमा आगो लगाएको ?' रमिला मिसको कुरा नसकिँदै दामोदर सरले सोधे।
कुमार घोसे मुन्टो लगाएर उभिइरह्यो।
'हेर, यति राम्रो मान्छे भएर पनि यस्तो नराम्रो काम गर्नु हुन्छ ? यहाँ हामी सबैले तिमीलाई कति माया गर्छौँ। तिमीले स्कुल पढ्न पाएका छौ, राम्रो खान पाएका छौ, साथी पाएका छौ। यति हुँदाहुँदा कसैको कापी, चित्र च्यातिदिने, कसैले बनाएको घर भत्काइदिने, झगडा गर्ने र हुँदाहुँदै त आज गोठमा आगो लगाउने आँट गर्‍यौ तिमीले ? तिम्रो कसले के बिगारिदिएको छ र ? किन त्यसो गरेको भन त ? अलि हप्काएझैँ गरी दामोदर सरले प्रश्न गरे।
कुमारले केहीबेरसम्म स्थिर दृष्टिले सरको अनुहारमा हेरिरह्यो।
'हामीले पनि उनीहरूको के बिगारेका थियौँ र ? हाम्रा बालाई गोली हानेर मारे अनि आमालाई चुल्ठो तान्दै लछार्दै लगे, घरमा आगो लगाइदिए। हामीले के बिगारेका थियौँ र ?' शताब्दीऔँदेखि सुषुप्त ज्वालामुखी अचानक विस्फोट भएझैँ फुच्चे बालकको मुखबाट शब्द आगोका ज्वालाझैँ बनेर निस्के। वातावरणमा एकाएक मसानस्तब्धता छायो।
एकछिन त्यहाँ भएका सबैजना अवाक् भई त्यस बालकको अनुहार हेरिरहे। त्यसपछि बिस्तारै पाइला चाल्दै रमिला मिस अघि बढिन् र कुमारको अगाडि घुँडा टेकेर बसिन्। त्यस क्षण उनका आँखामा आँसु टलपलाउँदै थियो। उनले बिस्तारै आफ्नो हात फैलाएर त्यस बालकलाई आफ्नो छातीमा टाँसिन्। उनी शब्दको माध्यमद्वारा उसलाई सान्त्वना दिन चाहन्थिन् तर हृदयभित्र उर्लेको पीडाको ज्वारभाटाले उनको गला अवरुद्ध गरायो। उनी सुँक्कसुँक्क गर्न थालिन्।
अचानक कुमार 'दिदी.....! दिदी .....! ' गर्दै कङ्कलास्वरमा रुन थाल्यो। त्यहाँ भेला भएका बालकहरू र सरहरू सबै कुमारको नजिक पुगी रानी माहुरीलाई अरू माहुरीले घेरेझैँ घेर्न लागे।


(साभार: गरिमा)

Monday, December 15, 2008

कबिता

'एक झोंका हावा'

-मौलश्री लिम्बु
मलाई पत्तो नदिई
लुसुक्क-लुसुक्क आजकाल
एक झोंका हावा
मतर्फ बढीरहेकोछ
मलाई थाहा थ्यो यो समय
मेरो निम्ती अवश्य आउनेछ
यतिबेला
मेरो समिप देखा परिसकेकोछ
त्यसैले म डगमगाईरहेकोछु
यो डगमगाईसँग मैले
शायद
जसरी नि सामना गर्नैपर्छ

म मा समाहित गर्नै पर्छ
होईन भने म
अस्तित्त्व विनाको
एकदम
एकलकांटे सदैव रहन्छु होला
अनि,
त्योबखत

समयको उत्तर-चढावले
पक्कै मलाई बदलिदिएर
मेरो प्रतिविम्बले मलाई नै गिज्याउदो हो
आत्माग्लानिको जंजिरले सताउदो हो
चौरिएको चेहेराले
आफैलाई प्रतिप्रश्न गर्दो हो
कदाचित
एक झोंका हावालाई वेवास्ता गर्दा
त्यसैले, अब
यसलाई मैले स्विकार्नै पर्छ कि !
मेरो समिप आउने
एक झोंका हावा ।

-झापा
ईमेल: -maulshri_limbu@yahoo.com

लघुकथा

सङ्गत

-प्रतिभा राई
जेठो भने पनि कान्छो भने पनि बुढेसकालको एक्लो सन्तान कृष्णे बिग्रिएला कि भन्ने डरले ड्राईभरको छोरासँग खेल्न गयो भने कृष्णेको बुबा सँधै भन्ने गर्नुहुन्थ्यो, "ठूलाबडाको सङ्गत गर्नू । ज्ञानगुण पाइन्छ, इज्जत कमाइन्छ । यो गाउँको जान्ने-बुझ्ने भनेका र गाउँलेले ठूलाबडा मानेका मध्ये एक सुवेदार साहेब पनि हुन् बुबाकै अर्ति-उपदेश अनुरूप हिजोआज कृष्णे तिनै सुवेदारका छोरासँग बढी हेलमेल गर्न थालेको छ । छोराले सुबेदारको छोरासँग सङ्गत गरेकोमा कृष्णेको बुबा पनि निकै खुशी छन् । सुवेदारको छोराले जे गर्‍यो त्यही गर्न, जे लगायो त्यही लाउन कृष्णेलाई अनिवार्य जस्तै भैसकेको छ । सीमित आयबाट छोराका यस्ता माग पूरा गर्न कृष्णेको बुबालाई निकै गाह्रो परेझैँ देखिन्छ । हुँदा हुँदै हिजो त कृष्णे "घरको सामान नै बेचेर लागू औषधी सेवन गर्दै थियो रे" यो कुरा थाहा पाएर कृष्णेको बुबा छोरालाई भन्दै हुनुहुन्थ्यो, "तैले यस्तो सङ्गत अब चाँडै छाडिनस् भने तँ एक दिन बर्बाद हुन्छस्, तेरो जिन्दगी बेकार हुन्छ ।"

कथा

पर्खाइ

-श्रृजना दाहाल
त्यो गाउँ गरिबी र अशिक्षाले ग्रस्त छ । नारी शिक्षाको त कुरै छोडौँ पुरुष शिक्षा पनि कमै छ । अधिकांश पुरुषहरू घरको कामकाजको लागि आफू भन्दा जेठी र परिपक्व केटी विवाह गर्छन् । जसले गर्दा घर व्यवहार गर्न सजिलो पर्छ । अनि उनीहरु पढ्ने गर्छन् । त्यही गाउँको केटा हो - घनश्याम । आफ्नो ८ कक्षा सम्मको पढाइ जसोतसो सकाएर थप पढ्नको लागि सदरमुकाम जान चाहन्छ ऊ । तर घर बा-आमा हेर्ने कोही नहुँदा ऊ त्यसै बेकार रहन्छ ।
केही समय पछि गाउँकै केटी राधासँग भेट हुन्छ । राधाले उसलाई पढेर गाउँको लागि केही गर्न हौसला दिन्छे । उसको घर, बा, आमा हेर्न राजी हुन्छे । उनीहरूको विवाह हुन्छ । विवाह पश्चात घनश्याम पढ्नको लागि सदरमुकाम जान्छ । राधा घनश्याम भन्दा उमेरमा मात्र होइन कामकाजमा पनि निकै परिपक्व छे । उसले घरको सम्पूर्ण कामकाज गर्दै बा-आमाको हेरचाहको साथसाथै मेलापात पनि धाउँछे । विवाह पश्चात लोग्ने तथा सासु-ससुरा नै देवता मान्छे ।
घर व्यवहारबाट मुक्त भएपछि घनश्यामले पनि पढाइमा निकै प्रगति गर्दछ । हरेक क्षण ऊ मिहिनेत गरिरहेकै हुन्छ । फलस्वरुप उसले एसžएलसी प्रथम श्रेणीमा पास गर्छ । यो सफलतामा घनश्याम र उसका परिवार निकै खुसी हुन्छन् । त्यस पछि अझ पढ्ने विचारले ऊ काठमाडौँ आउँछ । काठमाडौँमा बसेर सानोतिनो काम खोज्छ र पढाइ खर्च पुर्याउँछ । खाना खर्च जसोतसो गाउँबाट आइपुगिहाल्थ्यो । जसले गर्दा घनश्यामले आइएस्सी पनि सक्छ र एमबिबिएसमा प्रयास गर्छ । मिहिनेति घनश्यामले इन्ट्रान्स परिक्षा सहजै पास गर्यो । तर, पढाइ खर्च धेरै लाग्ने भयो । घर सल्लाह अनुसार खेतबारी धरौटी राखेर अनि आफूले पनि काम गरेर उसले पढाइ खर्च जुटाउने भयो ।
घनश्यामले धेरै मिहिनेत र परिश्रमका साथ पढ्यो । ऊ अब डाक्टर बन्यो । यो अवधिमा उसका बा-आमा दुवैको निधन भइसकेको थियो । राधाले जसोतसो मेलापात गरेर घर चलाइरहेकी थिई ।

आज घनश्याम सक्षम भएको छ । उसले आफ्नो लक्ष प्राप्त गरेको छ । आज ऊ समाजको प्रतिष्ठित व्यक्ति भएको छ । उसले आफ्नो छुट्टै पहिचान बनाएको छ । अब उसले राधा आफूलायक नभइको ठान्छ र सहरमा अर्कै केटीसँग विवाह गर्छ । अब राधा उसको लागि कोही भइन । हिजो जब उसलाई सहायता र आधारको खाँचो थियो त्यति बेला राधा नै सबथोक भई । आफैँले प्रस्ताव राखेर राधासँग उसले विवाह गर्यो । आज जब ऊ सक्षम भयो राधा जेठी भई, असुहाउँदी भई । जुन हौसला र प्रेरणा दिएर राधाले उसलाई पढ्न पठाई, उसको घर र बा-आमालाई आफ्नै सम्झेर स्यहार-सुसार गरी आज त्यही राधा घनश्यामको लायक भइन, गाउँले भई, अनपढ भई । त्यो राधा घनश्यामको मुटुको कुनै कुनामा छैन । राधाको त्यागको कुनै मुल्य रहेन उसको लागि । अब उसले एउटा चिठी लेख्नयो राधालाई - सहरमा मैले अर्को विवाह गरेँ अब फर्केर आउँदिन, तिमी आफ्नो बाटो लागे हुन्छ मलाई पर्खनु पर्दैन ... यस्तै यस्तै भनेर ।
चिठी राधाको हातमा पर्यो । बिचरी अनपढ राधालाई के थाहा चिठीमा के लेखेको छ भनेर । उसले त सम्झन्छे सायद घनश्यामको पढाइ सकियो होला । अब छिट्टै गाउँ आएर गाउँकै लागि केही गर्छु भनेर लेखेको होला । राधा घनश्यामको बाटो हेरिरहन्छे । खेतबारी त घनश्यामको पढाइको लागि धरौटीमा थियो । त्यो सानो घरमा नै बडो मुस्किलसँग उसले आफ्नो एकमुठी ज्यान जोगाइरहेकी छे अनि त्यो चिठी छातिमा टाँस्दै आज पनि घनश्यामको बाटो हेरिरहेकी छे ।

-बंगलामुखी, पाटन ,ललितपुर

गजल

-सहिशा घिमिरे
कोही-कोही आफुलाई, सारै सुन्दर ठान्छन् यहाँ
तपाई भन्ने नहुदा नि, आफै मपाई मान्छन् यहाँ

प्रत्येक पाइला प्रेमिकाका, फरक मुहार चिहाउँदै
गल्ती छोप्न दिनदिनै, मन्दिर तिर जान्छन् यहाँ

माया भन्ने शब्दलाई नै, पलपल जिस्काउँदै
लाजै छैन मर्ने-बाँच्ने कसम, सँङ्गै खान्छन् यहाँ

उमेरको हेक्का छैन, बुढेशकालमा बैँशालु मन
कुरा सँङ्गै लहराउन, सोझासाझा छान्छन् यहाँ

कोही छैन तिमी बाहेक, त्यो नजरको प्यासी भएँ
यस्तै भनी कोमल मनको, कोमलता लान्छन् यहाँ

-चाबहिल ,काठमांडू

गीत

मेरो देश

-कृसु क्षेत्री
मेरो हरसासमा हिमाली बतास छ
मेरो पसिनामा तर्राईको सुवास छ
जहासुकै जन्मे पनि जहांसुकै हुर्केर पनि
मेरो प्रत्येक अंगमा नेपालकै बास छ ।

न काला गोरा रंगभेद, न कुनै जातिभेद छ
न धनी गरिव बर्गभेद, न कुनै वर्णभेद छ
मन्दिर, मस्जिद, चर्च वा गुम्बा जहां पनि
आफ्नै नेपाली सद्भावको आभाष छ ।

बुद्धको जन्मभूमि, सीताको माइतीदेश मेरो
वीर सहिदको रगतले संरक्षित देश मेरो
एक नारीपुरुष, अनेक संस्कृति भाषा भेष छ
समुन्नत नेपालको मात्र एउटै प्यास छ ।।

गजल

-लिला राई 'अशिक्षित'
माया गर भनेर जबर्जस्ती कर लगाउदिन म
स्वार्थी दिल माझ अ्उल्य आशु बगाउदिन म

झुटो र जुठो दिलले के चोखो प्रेम गर्लाउ र?
पानी बिना बालुवामा हलगोरु सदाउदिन म

मर्जी तिम्रै हो तिरस्कार गरे नि काफि हुनेछ
तिमीले जस्तै दोधारे माया कहिल्यै लगाउदिन म

माया प्रेमको युद्दमा धेरै असफल भैसकेको छु
तिमीले साथ छोडे नि कसैको लागि धाउदिन म

लैजाऊ बाकी आयु खुशीको भोज मनाउनलाई
बेसहारा त भएकै छु कसैको हात समाउदिन म

-खोटाङ
हाल्:सिङ्गापुर
ईमेल : rai_lila98@yahoo.com

Sunday, December 14, 2008

गजल

-डिआर निश्छल
सगरमाथा हेर शिर नेपालको
बलभद्र अमरसिंग बीर नेपालको

शहीदको रगतले सिंचित यो माटो
ईतिहास हो चिर नेपालको

जबसम्म सूर्य चन्द्र आकासमा
नाप नक्शा हुन्छ थिर नेपालको

ऐ ! बिस्ताराबादी र साम्राज्यबादीहरू
सक्छौ थाप्न तीर नेपालको ?

खबरदार ! गिद्दे आखा नलाऊ यहाँ
कुरा तिम्रै हितको नआऊ निर नेपालको

-महेश्वरी -२,खोटांग
हाल: भिक्टोरिया

कबिता

घामसंग

-कृष्ण प्रसाई
कसरी गर्नु युद्ध घामसँग
प्रकाण्ड ताप,
सहश्र शक्तिका,
अजश्र ओज,

अविरल आगो संगै
अनंत योजन अग्लाइको,
अग्नि पिण्ड जो छ
सधै तातो भएर बलिरहेछ
माफ पाऊँ
मैले अंश खोजिरहेकै थिइन घामसँग,
करोडौ अंशियारको
बराबर अंश भएर,
छरिएर,
बाडिएर,
मेरो टाउकोमा
अझै आगो लादिरहेछ ,

घाम स्वयं,
मसंग युर्द्धगर्न खाज्दैछ ।
म भागिरहेछु
रापको आतंक झेलेर
ओत खाज्न हिडिरहेछु
कुइनेटाहरु
गुफाहरु
अलिकति जोगाउनु छ,
छाँद हालेर ।
मात्र बस्ने बासको,
मात्र छेलिने छानाको
खोजिमा छु ।

सेप खोज्दै
ताप भन्दा पर कुदिरहेछु ।
यद्यपि पछयाइरहेछ ऊ,
पोलिरहेछ ऊ,
युद्ध गर्ने सहास नै कहा छ र
घाम सँग ?
ए, कुनै उपाए भए बताइदेउ,
म कसरी जोगिन सक्छु ?
मैले आफै माया गरेको ,
मेरो पृय घामसँग ।